रोमी 12:1-13
रोमी 12:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक। किनभने मलाई दिइएको अनुग्रहद्वारा तिमीहरूमध्ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्तो सम्झनुपर्छ त्यसभन्दा बढ़ी नसम्झोस्, तर परमेश्वरले हरेकलाई दिनुभएको विश्वासको नापबमोजिम सन्तुलित विचारले सोचोस्। किनकि जसरी हाम्रो एउटै शरीरमा धेरै अङ्ग हुन्छन्, तर सबै अङ्गहरूको एउटै काम हुँदैन, त्यसरी नै हामी जो धेरै छौं, हामी पनि ख्रीष्टमा एउटै शरीर हौं, र प्रत्येक एक-अर्काका अङ्ग हौं। हामीलाई दिइएको अनुग्रहअनुसार अलग-अलग वरदानहरू हामी प्रयोग गरौं। अगमवाणीको हो भने, विश्वासको परिमाणअनुसार, सेवाको हो भने, सेवाको काममा, शिक्षा दिनेले शिक्षा दिने काममा, अर्ती दिनेले अर्ती दिने काममा, दान दिनेले उदारचित्तले, शासन गर्नेले दत्तचित्तसाथ, कृपाको काम गर्नेले खुशीसित। प्रेम निष्कपट होस्। जुन कुरा खराब छ, त्यसलाई घृणा गर। जुन कुरा असल छ, त्यसमा लागिरहो। भातृ-प्रेमसँग एकअर्कालाई प्रेम गर। आफूलाई भन्दा बढ़ी अरूलाई आदर गर। जोशमा पछि नहट। पवित्र आत्मामा प्रज्वलित होओ, प्रभुको सेवा गर्दैरहो। आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरहो। सन्तहरूको खाँचोमा सहायता देओ, अतिथिसत्कार कायम राख।
रोमी 12:1-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्वरको कृपाद्वारा म बिन्ती गर्दछु, तिमीहरूले आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई मनपर्दो जिउँदो बलिदानको रूपमा अर्पण गर; यही तिम्रो साँचो र व्यवस्थित आराधना हो। यस संसारको रीतिमा नचल, तर आफ्नो मनमा नयाँ भई परिवर्तित हुँदैजाओ; तब मात्र तिमीहरूले परमेश्वरको असल, मनपर्दो र सिद्ध इच्छा के हो, सो जाँच गर्न र स्वीकार गर्न सक्नेछौ। किनकि परमेश्वरले मलाई दिनुभएको अनुग्रहद्वारा म प्रत्येकलाई भन्दछु, आफूलाई ठूलो नठान, तर परमेश्वरले तिमीहरू प्रत्येकलाई दिनुभएको विश्वासअनुसार नै आफूलाई शान्त भएर जाँच। किनकि जसरी हामी प्रत्येकको एउटा शरीर छ, तर अङ्गहरू धेरै छन्, र यी सबै अङ्गहरूका काम एउटै हुँदैन, त्यसरी नै हामी अनेक भएर पनि ख्रीष्टमा एउटै शरीर हौँ तथा सबै एक-अर्काका अङ्ग हौँ। हामीलाई दिइएको अनुग्रहअनुसार हामीसँग विभिन्न वरदानहरू छन्। यदि कसैको अगमवाणी गर्ने वरदान छ भने त्यसले आफ्नो विश्वासअनुसार अगमवाणी गरोस्। यदि सेवा गर्ने वरदान छ भने त्यसले सेवा गरिरहोस्; यदि शिक्षा दिने हो भने त्यसले शिक्षा दिइरहोस्; यदि उत्साह दिने हो भने त्यसले उत्साह दिइरहोस्; यदि दान दिने वरदान हो भने उदारतासाथ देओस्; यदि अगुवाइ गर्ने वरदान हो भने परिश्रमसाथ अगुवाइ गरोस्; यदि कृपा देखाउने हो भने प्रसन्नतासाथ कृपा देखाओस्। प्रेम निष्कपट हुनुपर्छ। दुष्टतालाई घृणा गर; जे असल छ, त्यसमा लागिरहो। एक-अर्कालाई विश्वासी दाजुभाइ-दिदीबहिनीहरूका रूपमा प्रेम गर; आफूलाई भन्दा अरूलाई बढी आदर गर। कहिल्यै अल्छे नहोओ; तर कडा मेहनत गर, र आत्मामा जोशिलो भएर प्रभुको सेवा गरिरहो। आशामा आनन्दित होओ; सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा विश्वासयोग्य होओ। खाँचोमा परेका परमेश्वरका जनहरूसँग बाँडचुँड गर, र पाहुनासत्कार कायम राख।
रोमी 12:1-13 पवित्र बाइबल (NERV)
यसैले दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, केही गर भनेर म बिन्ती गर्दछु। परमेश्वरले हामीलाई ठूलो दया देखाउनुभयो। यसकारण परमेश्वरलाई प्रसन्न गर्दै आफ्नो जीवनलाई जीवित बलिदानको रूपमा अर्पण गर। यही तिमीहरूको आत्मिक उपासना हो। सांसारिक स्तरमा आफूलाई परिवर्तन नगर। तर विचारको नयाँ बाटो अप्नाएर आफूलाई आन्तरिक रूपले परिवर्तन गर। अनि त्यसपछि तिमीहरू राम्रो के हो, उहाँलाई के मन पर्छ र सम्पूर्णता के हो, आफैं परमेश्वरको इच्छा पत्तो लाउन समर्थ हुने छौ। परमेश्वरले मलाई अनुग्रहको वरदान दिनुभएकोछ, म तिमीहरू सबैलाई भन्छु आफू जे छौ त्यो भन्दा बढता आफूलाई नसम्झौं। परमेश्वरले दिनुभएको विश्वासको आधारमा तिमी वास्तवमा बाँचिरहेकाछौ त्यो स्वयं हेर। हामी प्रत्येकको एउटै शरीर छ अनि यो धेरै भागमा बाँडिएको छ। यी भागहरूको एउटै काम हुँदैन। उसै गरी, हामी धेरै मानिसहरू छौं, तर ख्रीष्टमा हामी एक शरीर हौं। अनि प्रत्येक अंग अरू भागहरूका हुन्। हामी सबैसँग विभिन्न वरदानहरू छन्। हरेक वरदान परमेश्वरको अनुग्रहबाट आएको छ। यदि कसैसँग अगमवाणी गर्ने वरदान छ भने उसले आफ्नो विश्वासको अनुसार त्यसको उपयोग गर्नुपर्छ। यदि कसैसँग सेवाको वरदान छ भने उसले सेवा गर्नुपर्छ। यदि कसैसँग उपदेशको वरदान छ भने उसले उपदेश दिनुपर्छ। यदि कसैसँग उत्साहको वरदान छ भने उसले अरू मानिसलाई उत्साह दिनुपर्छ। यदि कसैसँग अरूलाई सहयोग गर्ने वरदान छ भने उसले उदारतापूर्वक सहयोग गर्नुपर्छ। यदि कसैसँग नेतृत्व गर्ने वरदान छ भने उसले प्रवीणतापूर्वक नेतृत्व दिनुपर्छ। यदि कसैसँग दया देखाउने वरदान छ भने उसले खुशीको साथमा अरूलाई दया देखाउनु पर्छ। तिमीहरूको प्रेम शूद्ध हुनुपर्छ। ती कुराहरूलाई घृणा गर जुन कुरामा दुष्ट्याइँ छ। असल कुराहरू मात्र गर। एका-अर्कामा दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई जस्तो प्रेम गर। तिमी आफूलाई जस्तो चाहन्छौ आफ्ना दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई त्यो भन्दा अझ बढता सम्मान देऊ। परमप्रभुको काममा अल्छी नहोऊ। आत्मिक रूपले इर्ष्यालु भएर उहाँको सेवा गर। खुशी होऊ किनभने तिमीहरूसँग आशा छ। दुःखमा धैर्य धारण गर। सधैँ प्रार्थना गर। परमेश्वरका मानिसहरूले सहायता खोजेको देखे आफूमा भएको कुरो बाँड र सहायता देऊ। अनि मानिसहरूलाई आफ्नो घरमा स्वागत गर।
रोमी 12:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मेरा प्यारा दाजुभाइहरू, परमेश्वरको धेरै दया तिमीहरूमाथि भएको छ। त्यसैले आफ्नै शरीर पवित्र र परमेश्वरलाई मनपर्दो जिउँदो बलिदान बनाएर परमेश्वरको सेवा गर्न उहाँको सामु चढाओ भनेर म तिमीहरूलाई बिन्ती गर्दछु। तिमीहरूको आत्माले गर्नुपर्ने साँचो आराधना पनि यही नै हो। तिमीहरूले संसारका मानिसहरूका देखासिकी गरेर उनीहरूजस्तै हुने इच्छा नराख, अब आफ्नो मनमा नयाँ भई परिवर्तन होओ। त्यसो भए मात्र तिमीहरूले परमेश्वरको इच्छा के रहेछ, पत्ता लाउन सक्छौ अनि कुन कुरो असल छ, कुन कुरोले परमेश्वरलाई खुसी तुल्याउँछ अनि कुनचाहिँ कुरा पक्का हो, त्यो तिमीहरूलाई छर्लङ्ग थाहा हुन्छ। परमेश्वरले मलाई अनुग्रह देखाउनुभएकोले म तिमीहरू सबैलाई भन्दै छु, आफूलाई ठूलो नठान तर परमेश्वरले दिनुभएको विश्वासको मात्राअनुसार आफू जस्ता छौ, त्यस्तै ठान। हाम्रो शरीरमा धेरै अङ्गहरू भए पनि ती अङ्गहरूका बेग्लाबेग्लै काम छन्। त्यसै गरी हामी धेरै भए पनि ख्रीष्टमा एउटै शरीर हौं र हामी सबै एक-अर्काका अङ्ग हौं। यसकारण परमेश्वरले आफ्नो अनुग्रहले हामीलाई दिनुभएका बेग्लाबेग्लै दानअनुसार उहाँका कामहरू गरौं। परमेश्वरको तर्फबाट बोल्न सक्नेले आफ्नो विश्वासअनुसार उहाँकै तर्फबाट बोलौं। सेवा गर्नेजतिले ठीकसँग सेवा गरौं, परमेश्वरका शिक्षा दिन सक्नेले आफ्नो विश्वासको मात्राअनुसार शिक्षा देओस्। ठीक बाटोमा हिंड्न सल्लाह दिन सक्नेले सल्लाह देओस्। खाँचोमा परेकालाई दिनेले खुल्ला मनले देओस्। काम मिलाउनेले सक्दो चाँडै मिलाइहालोस् र दया देखाउनेले खुसीसाथ दया देखाओस्। तिमीहरूको प्रेम देखावटी होइन तर साँचो होस्। खराब कुरा त्यागेर असल कुरामा लागिरहो। भातृप्रेमले एकले अर्कोलाई पनि प्रेम गर। अरूलाई आदर गर्न नचुक। गरिहाल्नुपर्ने काममा अल्छी नगर। आत्मामा जोशिलो भएर दिलोज्यानले प्रभुको काम गर। तिमीहरूले पाएको आशामा खुसी रहो। कष्टहरूमा धैर्य बन र सधैँ प्रार्थनामा लागिरहो। प्रभु ख्रीष्टका पवित्र जनहरूलाई खाँचो पर्दा सहायता देओ, घरमा आएका पाहुनाहरूको सेवासत्कार गर