भजनसंग्रह 107:1-16

भजनसंग्रह 107:1-16 NCV

याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सधैँभरि रहिरहन्छ। याहवेहले छुटकारा दिनुभएकाहरूले वैरीहरूका हातबाट छुटाइएकाहरूले, विभिन्‍न देशहरूबाट, पूर्व र पश्‍चिमबाट, उत्तर र दक्षिणबाट एकत्रित भएकाहरूले यसो भनून्: कसै-कसैले बसोबास गर्नलाई कुनै सहर भेट्टाएनन्, र मरुभूमिका उजाडस्थानतिर भौँतारिँदै हिँडे। तिनीहरू भोक र प्यासले दुर्बल भई प्राण जालाजस्तै भइसकेका थिए। तब आफ्ना कष्‍टहरूमा तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्‍टहरूबाट छुटाउनुभयो। उहाँले तिनीहरूलाई सीधा मार्गबाट डोर्‍याउनु भएर, तिनीहरूलाई बास बस्‍न सक्ने सहरमा पुर्‍याउनुभयो। उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्‌भुत कार्यहरूका निम्ति, तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्! किनकि उहाँले तिर्सना गर्नेहरूको प्यास मेट्नुहुन्छ, र भोकाहरूलाई असल आहाराले सन्तुष्‍ट पार्नुहुन्छ। कोही-कोही अन्धकार, र घोर अन्धकारमा जिइरहेका थिए, कैदीहरू फलामका साङ्लाले बाँधिएर कष्‍ट भोगिरहेका थिए, किनकि तिनीहरूले परमेश्‍वरका वचनको विरुद्धमा विद्रोह गरेका थिए र सर्वोच्‍च परमेश्‍वरको योजनालाई तिरस्कार गरेका थिए। यसकारण उहाँले तिनीहरूलाई कठोर परिश्रम गर्न लगाउनुभयो; तिनीहरूले ठक्‍कर खाए, तर मदत गर्नलाई कोही थिएन। तब आफ्ना कष्‍टहरूमा तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्‍टहरूबाट बचाउनुभयो। उहाँले तिनीहरूलाई अन्धकार, र घोर अन्धकारहरूबाट निकाल्नुभयो; र तिनीहरू बाँधिएका साङ्लाहरू चुँडाइदिनुभयो। उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्‌भुत कार्यहरूका निम्ति तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्; किनकि उहाँले काँसोका मूलढोकाहरू भत्काइदिनुहुन्छ, र फलामका आग्लोहरू काटेर टुक्रा-टुक्रा पारिदिनुहुन्छ।

भजनसंग्रह 107 पढ्नुहोस्