भजनसंग्रह 107:1-16

भजनसंग्रह 107:1-16 NERV

परमप्रभुलाई धन्यवाद चढाओ, किनभने उहाँ उपकारी हुनुहुन्छ। उहाँको प्रेम सधैँ रहन्छ। यसैले ज-जसलाई परमप्रभुले बचाउनु भएको थियो, प्रत्येक मानिसले भन्नु पर्दछ कि परमप्रभुले बचाउनु भयो। परमप्रभुले तिनीहरूका शत्रुहरूदेखि तिनीहरूलाई बचाउनु भयो। परमप्रभुले आफ्ना मानिसहरूलाई विभिन्न देशहरूबाटसँगै भेला गर्नुभयो। उहाँले तिनीहरूलाई पूर्व र पश्चिम, उत्तर र दक्षिणबाटसँगै भेला पार्नु भयो। तिनीहरूमा कतिपय सुख्खा मरुभूमिमा छोडिए। तिनीहरूले बस्ने ठाउँ खोजिरहेका थिए। तर तिनीहरूले कुनै शहर भेट्टाएनन्। तिनीहरू भोका र प्यासा थिए अनि कमजोर हुँदै गइरहेका थिए। त्यसपछि तिनीहरूले परमप्रभुलाई सहायताको निम्ति पुकारे। अनि उहाँले तिनीहरूलाई सङ्कटहरूबाट जोगाउनु भयो। परमप्रभुले तिमीहरूलाई सोझै शहर तिर डोराएर लैजानु भयो, जहाँ तिमीहरू बस्न पाउँथे। उहाँको अनन्त प्रेमको निम्ति उहाँले सृजना गर्नु भएका आश्चर्यकामहरूको निम्ति उहाँलाई धन्यवाद देओ। परमेश्वरले तिर्खाएको आत्मालाई तृप्त पार्नु भयो। परमेश्वरले भोको आत्मालाई गुणपूर्ण कुराहरूले परिपूर्ण पारिदिनु भयो। परमेश्वरका कतिपय मानिसहरू कैदीहरू थिए, झ्यालखानाको अँध्यारो कोठाहरूमा बन्दी थिए। किनभने तिनीहरू परमेश्वरले भनेका कुराहरूका विरूद्ध लडेका थिए। तिनीहरूले सर्वोच्च परमेश्वरबाट आएका सल्लाहहरू प्रति कानै थापेनन्। परमेश्वरले तिनीहरूकै कु-कर्मको कारणले गर्दा उनीहरूका जीवन जीउन कठिन परिदिनु भयो। तिनीहरू ठेस लागेर लडे अनि त्यहाँ तिनीहरूलाई साथ दिने कोही पनि थिएन। ती मानिसहरूलाई सङ्कटहरूमा फँसाइयो। यसैकारण तिनीहरूले परमेश्वरलाई गुहार मागे अनि उहाँले तिनीहरूलाई सङ्कटबाट बचाउनु भयो। कालो कोठरीको कैदबाट परमेश्वरले तिनीहरूलाई बाहिर निकाल्नु भयो। तिनीहरूलाई बाँधिएका डोरीहरू उहाँले चुडाई दिनुभयो। उहाँको अनन्त प्रेम र मानिसहरूको निम्ति उहाँले सृजना गर्नु भएको आश्चर्यकामहरूको निम्ति उहाँलाई धन्यवाद देऊ। हाम्रा शत्रुहरूलाई नाश गर्न परमप्रभुले हामीलाई सहायता दिनुभयो, परमेश्वरले तिनीहरूको काँसाको मूल ढोका भत्काउन सक्नुहुन्छ। परमेश्वरले तिनीहरूका फलामका बारहरू टुक्रा-टुक्रा पारिदिन सक्नुहुन्छ।

भजनसंग्रह 107 पढ्नुहोस्