भजनसंग्रह 106:1-16

भजनसंग्रह 106:1-16 NCV

याहवेहको प्रशंसा गर! याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। याहवेहका शक्तिशाली कार्यहरू कसले घोषणा गर्न सक्छ र? अथवा उहाँको प्रशंसा कसले सम्पूर्ण रूपले घोषणा गर्न सक्छ र? तिनीहरू धन्यका हुन्, जो न्यायमा चल्दछन्, जसले सधैँ उचित काम गर्दछन्। हे याहवेह, तपाईंका प्रजामाथि कृपादृष्‍टि गर्नुहुँदा, मेरो स्मरण गर्नुहोस्; तिनीहरूको उद्धार गर्नुहुँदा मलाई पनि सहायता गर्नुहोस्; ताकि तपाईंका चुनिएकाहरूको समृद्धिमा म आनन्दित हुन सकूँ, तपाईंको राष्ट्रको हर्षमा म सहभागी बन्‍न सकूँ। र तपाईंको उत्तराधिकारीहरूसँग मिलेर तपाईंलाई प्रशंसा दिन सकूँ। हाम्रा पितापुर्खाले झैँ, हामीले पनि पाप गरेका छौँ; हामीले अधर्म गरेका छौँ, र दुष्‍टतापूर्ण काम गरेका छौँ। हाम्रा पितापुर्खा इजिप्टमा हुँदा, तिनीहरूले तपाईंका अचम्मका कामहरूको वास्तै गरेनन्; तिनीहरूले तपाईंको अपार दयाको सम्झना नै गरेनन्; र लाल समुद्रको किनारमा तिनीहरूले तपाईंको विद्रोह गरे। तापनि आफ्नो महान् पराक्रम प्रकट होस् भनी आफ्नो नामको खातिर, उहाँले तिनीहरूलाई बचाउनुभयो। उहाँले लाल समुद्रलाई हकार्नुभयो, र त्यो सुकिहाल्यो; उहाँले तिनीहरूलाई समुद्रको गहिराइहरूमा सुक्खा जमिनमाथि जस्तै गरी पार गराउनुभयो। उहाँले तिनीहरूलाई वैरीका हातबाट बचाउनुभयो; उहाँले तिनीहरूलाई शत्रुको हातबाट उद्धार गर्नुभयो। तिनीहरूका विरोधीहरूलाई पानीले डुबायो; तिनीहरूमध्ये एउटै पनि बाँचेनन्। तब तिनीहरूले उहाँका प्रतिज्ञाहरूमाथि विश्‍वास गरे; र उहाँको प्रशंसाको गीत गाए। तर तिनीहरूले तुरुन्तै उहाँका कामहरू बिर्सिहाले; र तिनीहरूले उहाँको निर्देशनको प्रतीक्षा गरेनन्। मरुभूमिमा तिनीहरू धेरै नै खाने लालसामा परे; तिनीहरूले उजाडस्थानमा परमेश्‍वरको जाँच गरे। त्यसैले उहाँले तिनीहरूलाई मागेअनुसार दिनुभयो, तर तिनीहरूका बीचमा महामारी पठाउनुभयो। तिनीहरूले छाउनीमा मोशासित र याहवेहमा अर्पण गरिएका हारूनसँग डाह गरे।

भजनसंग्रह 106 पढ्नुहोस्