हितोपदेश 27:1-12

हितोपदेश 27:1-12 NCV

भोलिको घमण्ड नगर; किनकि त्यो कस्तो दिन हुनेछ, सो तिमी जान्दैनौ। तिम्रो प्रशंसा आफ्नै मुखले होइन, तर अरू कसैबाट होस्; कुनै अपरिचितबाट, तर तिम्रो ओठबाट होइन। ढुङ्गा गह्रौँ र बालुवा ओजनदार हुन्छ, तर मूर्खको क्रोध यी दुवैभन्दा गह्रौँ हुन्छ। रिस निर्दयी र क्रोध बाढीझैँ हुन्छ; तर डाहको अगि को खडा हुन सक्छ र? गुप्‍तको प्रेमभन्दा खुल्‍लमखुल्‍ला हप्की असल हुन्छ। मित्रबाट पाएको चोट पत्यार गर्न सकिने हुन्छ; तर शत्रुले चुम्बनको वर्षा गर्छ। अघाएको पेटले मह रुचाउँदैन, तर भोकाएकाहरूलाई तितो पनि मिठो हुन्छ। घरदेखि टाढा बरालिएको मानिस, आफ्नो गुँडदेखि टाढा भड्किरहेको चरोजस्तै हो। अत्तर र धूपले हृदयमा आनन्द ल्याउँछ; र मित्रको आनन्द त्यसको आन्तरिक सल्‍लाहबाट आउँछ। आफ्नो मित्र वा आफ्नो परिवारका मित्रलाई नत्याग, तिमीलाई विपत्ति आइपर्दा आफ्नो दाजुभाइको घरमा नजाऊ; किनकि टाढा बस्‍ने आफन्तभन्दा नजिक बस्‍ने छिमेकी असल हुन्छ। हे मेरा छोराछोरी, बुद्धिमान् होऊ, र मेरो हृदयलाई आनन्दित बनाइदेऊ; तब मलाई हेला गर्नेहरूलाई म जवाफ दिन सक्नेछु। विवेकशील व्यक्तिले जोखिमलाई देखेर शरण लिन्छ; तर सोझाचाहिँ त्यतैतिर जान्छ र परिणाम भोग्छ।

हितोपदेश 27 पढ्नुहोस्