हितोपदेश 17:1-16

हितोपदेश 17:1-16 NCV

शान्ति र मौनसित निस्तो गाँस खानु कलहले भरिएको घरमा भोज गर्नुभन्दा बेस हो। विवेकी सेवकले अयोग्य छोरामाथि शासन गर्छ, र त्यसले एउटा पुत्रको रूपमा परिवारमा पैतृक सम्पत्ति पाउनेछ। चाँदी पगाल्ने भाँडो र सुन खार्ने भट्टी हुन्छ, तर हृदयलाई जाँच्नुहुने याहवेह हुनुहुन्छ। दुष्‍ट मानिसले दुष्‍ट कुरा सुन्छ; झूटो बोल्नेले विनाशकारी जिब्रोमाथि ध्यान दिन्छ। गरिबलाई गिल्‍ला गर्नेले उसका सृष्‍टिकर्तालाई अपमान गर्छ; अरूका विपत्तिमा रमाउने जो कोही पनि दण्डबाट उक्‍कनेछैन। नातिनातिनाहरू वृद्धहरूका मुकुट हुन्, र छोराछोरीहरू तिनीहरूका आमाबुबाका गर्व हुन्। भक्तिहीन मूर्खको बोली असुहाउँदो हुन्छ भने, शासनको निम्ति झूटो बोल्ने ओठ त झन् कति असुहाउँदो हुन्छ! घूस दिनेको लागि त्यो टुनामुनाजस्तै हो; उसले जे गरे तापनि ऊ सफल हुन्छ भन्‍ने उसलाई लाग्छ। अपराधलाई ढाकिदिनेले प्रेम जगाउँछ; तर कुरा दोहोर्‍याउने जोसुकैले पनि घनिष्‍ठ मित्रहरूमा फाटो ल्याउँछ। मूर्खलाई सय कोर्रा लगाउनुभन्दा त बरु समझशक्ति भएको मानिसलाई एकै हप्कीले असर पार्छ। खराब मानिसको झुकाव विद्रोहतिर मात्रै हुन्छ; त्यसको विरुद्धमा एउटा निर्दयी अधिकृत पठाइनेछ। मूर्खलाई त्यसको मूर्खतामा भेट्नुभन्दा त बरु बच्‍चा खोसिएको भालु भेट्नु असल हो। यदि मानिसले भलाइको साटो खराबी गर्छ भने, त्यसको घर खराबीले कहिल्यै छोड्नेछैन। झगडा सुरु हुनु पानीको बाँध फुट्नुजस्तै हो; यसकारण झगडा बढ्नुभन्दा अगि नै त्यसलाई अन्त्य गरिदेऊ। दोषीलाई छोडिदिने र निर्दोषलाई दण्ड दिने— यी दुवैलाई याहवेहले घृणा गर्नुहुन्छ। मूर्खको हातमा रकम के काम लाग्ला र? किनकि त्यसमा बुद्धि प्राप्‍त गर्ने इच्छा नै हुँदैन।

हितोपदेश 17 पढ्नुहोस्