हितोपदेश 17:1-16

हितोपदेश 17:1-16 सरल नेपाली

झगडाले भरिएको घरमा भोज खानुभन्दा त शान्‍तिसित सुख्‍खा रोटी खानु उत्तम हो। मालिकको बेकामे छोरामाथि चतुर चाकरले आफ्‍नो हक जमाउन सक्‍छ र त्‍यसका पैतृक-सम्‍पत्तिबाट केही हिस्‍सा पाउन सक्‍छ। सुन र चाँदीको जाँच आगोद्वारा गरिन्‍छ र मानिसको मन परमप्रभुले जाँच्‍नुहुन्‍छ। दुष्‍ट मानिसहरूले दुष्‍ट कुराहरू सुन्‍छन् र झूटो बोल्‍नेहरूले झूटो कुरा सुन्‍न कान ठाडो गर्छन्। गरीबमाथि हाँस्‍नेले तिनीहरूको सृष्‍टिकर्ता परमेश्‍वरको अपमान गर्छ। अरूको दुर्भाग्‍यमा रमाहट गर्नेले सजायँ पाउँछ। बुढापाकाहरूले आफ्‍ना नातिनातीनाहरूमा गर्व गर्छन्, जसरी छोरा-छोरीहरूले आफ्‍ना बुबा-आमाको गर्व गर्छन्। आदरणीय मानिसहरूलाई झूटो कुरा र मूर्खका ओठबाट राम्रो कुरा सुहाउँदैन। घुसले जादूझैँ काम गर्दछ र त्‍यसबाट सबै काम सफल हुन्‍छ भनी कति मानिसहरूले सोच्‍छन्। मानिसहरूले आफूसित प्रेम-भाव गरेका चाहन्‍छौ भने तिनीहरूको दोष क्षमा गर्नू, दोष याद गरिराख्‍नाले मित्रता तोडिंदछ। मूर्खबाट सय चोटी चुटाइ खाएर पाएको ज्ञानभन्दा समझदारबाट एकै हप्‍काइमा लिएको ज्ञान बढी हुन्‍छ। सधैँ विद्रोह गरिरहने दुष्‍टहरूको विरुद्ध निर्दयी हाकिम खटाइन्‍छ। मूर्ख काम गर्न लागेको मूर्खलाई भेट्‍नुभन्दा त बच्‍चा खोसिएकी माऊ भालुलाई भेट्‍नु असल हो। भलाइको सट्टामा खराब गर्ने मानिसको घरबाट खराबीले कहिल्‍यै ठाउँ छोड्दैन। झगडाको सुरु पानीको बाँध फुटेको जस्‍तै हो, त्‍यसलाई बढ्‍न नदिई बन्‍द गरिहाल। निर्दोषलाई दण्‍ड दिनु अथवा दोषीलाई छोडिदिनु, दुवै कुरालाई परमप्रभुले घृणा गर्नुहुन्‍छ। मूर्खले विद्यामा धन खर्च गर्नु व्‍यर्थ छ किनभने त्‍योसित सामान्‍य बुद्धि नै हुँदैन।

हितोपदेश 17 पढ्नुहोस्