गन्ती 10:1-10

गन्ती 10:1-10 NCV

याहवेहले मोशालाई भन्‍नुभयो: “पिटिएको चाँदीका दुई वटा तुरही बना। अनि समुदायलाई एकसाथ भेला गराउन र पालबाट प्रस्थान गराउनका लागि तिनलाई प्रयोग गर्। जब दुवै तुरही फुकिन्छन्, तब सारा इस्राएली समुदाय भेट हुने पालको प्रवेशद्वारमा तँकहाँ भेला होऊन्। यदि एउटै मात्र तुरही फुकियो भने अगुवाहरू, अर्थात् इस्राएली कुलका अगुवाहरू तँकहाँ भेला होऊन्। जब तुरहीको पहिलो आवाज फुकिन्छ, तब पूर्वपट्टिका छाउनीका कुलहरू प्रस्थान गरून्। जब तुरही दोस्रो पल्ट फुकिन्छ, दक्षिणपट्टिका छाउनीहरूमा भएकाहरू प्रस्थान गरून्। त्यो आवाजचाहिँ प्रस्थान गर्ने सङ्केत हुनेछ। समुदायलाई भेला गराउँदा फुक्ने तुरहीको आवाज, पालबाट प्रस्थान हुँदा फुक्ने तुरहीको साङ्केतिक आवाजझैँ नहोस्। “पुजारी हारूनका छोराहरूले तुरहीहरू फुकून्। यो तिमीहरू र तिमीहरूका भावी पुस्ताहरूका निम्ति अनन्तको विधि हुनेछ। जब तिमीहरू आफ्नै देशमा तिमीहरूमाथि अत्याचार गर्ने शत्रुसँग लडाइँ गर्न जान्छौ, तब तुरहीहरू फुक्नू। तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्झनुहुनेछ, र शत्रुहरूबाट छुटाउनुहुनेछ। त्यसरी नै तिमीहरूले आनन्द मनाउने समयहरूमा अर्थात् तिमीहरूका तोकिएका चाडहरूमा र औँसीका चाडहरूमा तिमीहरूका होमबलिहरू र मेलबलिहरूको समयमा पनि तिमीहरूले तुरहीहरू फुक्नू। अनि ती याहवेहको सामु तिमीहरूका सम्झनाको निम्ति हुनेछ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।”

गन्ती 10 पढ्नुहोस्