गन्‍ती 10:1-10

गन्‍ती 10:1-10 सरल नेपाली

परमप्रभुले मोशालाई भन्‍नुभयो, “मानिसहरूलाई भेला गराउनलाई अनि छाउनी उठाउन भनी जनाउनलाई एक जोर पिटेका चाँदीका तुरही बना। जब दुवै तुरही लामो आवाज गरेर फुकिन्‍छन्, सबै इस्राएलीहरू म बास गर्ने पवित्र पालको ढोकामा तेरो अगाडि भेला हुनेछन्। तर जब एउटै तुरही मात्र फुकिन्‍छ, तब गोत्रगोत्रका मुखियाहरू मात्र तेरो अगाडि भेला हुनेछन्। जब छोटो आवाज गरेर तुरही फुकिन्‍छ, पूर्वपट्टि छाउनी लाएर बसेका कुलहरू अघि बढ्‍नेछन्। दोस्रोचोटि छोटो आवाज गरेर तुरही फुकिँदा दक्षिणपट्टि रहेका कुलहरू हिँड्‍नेछन्। यसरी छाउनी उठाउनलाई छोटो आवाज गरी तुरही फुकिनेछ। तर जन-समूहलाई एक ठाउँमा भेला गर्नलाई लामो आवाज गरी तुरही फुक्‍नुपर्नेछ। हारूनका पूजाहारी छोराहरूले ती तुरही बजाउनेछन्। “आउने सदाकालको निम्‍ति यी नियमहरू मान्‍नुपर्छ। जब तिमीहरूमाथि दमन गर्ने शत्रुको सामना गर्दै आफ्‍नो देशमा लडाइँ गर्दछौ, लडाइँको सङ्‌केत दिँदै ती तुरहीहरू बजाओ। म परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई छुटकारा गर्नेछु र शत्रुदेखि तिमीहरूको रक्षा गर्नेछु। रमाहटका बेलामा पनि औंसीको चाड र अरू धार्मिक चाडका बेलामा, जब तिमीहरू होमबलि र मेलबलिहरू चढाउँछौ, त्‍यस बेला तुरही बजाउनू। तब म तिमीहरूलाई सहायता गर्न सम्‍झनेछु। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।”

गन्‍ती 10 पढ्नुहोस्