मर्कूस 9:2-13

मर्कूस 9:2-13 NCV

छ दिनपछि येशूले आफूसित पत्रुस, याकोब र यूहन्‍नालाई लिनुभयो; अनि तिनीहरूलाई एउटा अग्लो पहाडमा लैजानुभयो, जहाँ उहाँहरू मात्र हुनुहुन्थ्यो। त्यहाँ तिनीहरूका सामु उहाँको रूप परिवर्तन भयो। उहाँको वस्त्र चहकिलो सेतो भयो; अर्थात् संसारमा कसैले धोएर सेतो बनाउनै नसक्ने गरी सेतो भयो। अनि त्यहाँ तिनीहरूका सामु एलिया र मोशा देखा परे; उनीहरू येशूसित कुरा गरिरहेका थिए। पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामीलाई यहीँ रहनु असल छ। हामी तीन वटा वासस्थान बनाऔँ; एउटा तपाईंका लागि, एउटा मोशाका लागि र एउटा एलियाका लागि।” तिनीहरू यति साह्रो डराएका थिए कि, के भन्‍ने हो, सो तिनले जानेनन्। तब बाक्लो बादल आएर तिनीहरूलाई ढाकिदियो; अनि बादलबाट यसो भन्‍ने एउटा आवाज आयो: “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनको कुरा सुन!” झट्टै जब तिनीहरूले चारैतिर हेरे, तब तिनीहरूले आफूसित येशूबाहेक अरू कसैलाई पनि देखेनन्। उहाँहरू जब पर्वतबाट ओर्लँदैहुनुहुन्थ्यो, तब येशूले तिनीहरूलाई तिनीहरूले देखेका कुराहरू, मानिसको पुत्र मृत्युबाट जीवित भई नउठेसम्म कसैलाई नभन्‍नू भनी आज्ञा दिनुभयो। तिनीहरूले “मरेकाबाट जीवित हुनु” भनेको के हो भन्‍ने विषयमा छलफल गर्दै, त्यो कुरा आफूभित्र राखे। अनि तिनीहरूले उहाँलाई सोधे, “किन व्यवस्थाका शिक्षकहरू एलिया पहिला आउनुपर्छ भनी भन्छन्?” येशूले जवाफ दिनुभयो, “अवश्य एलिया पहिला आउनेछन्; र सबै कुरा पुनर्स्थापना गर्नेछन्। त्यसो भए किन मानिसको पुत्रले धेरै कष्‍ट भोग्नुपर्छ र तिरस्कृत हुनुपर्छ भनी लेखिएको? तर म तिमीहरूलाई भन्दछु, एलिया आइसकेका छन्, र जसरी तिनको विषयमा धर्मशास्त्रमा लेखिएको छ, तिनीहरूले तिनीप्रति इच्छा लागेका सबै थोक गरेका छन्।”

मर्कूस 9 पढ्नुहोस्