मर्कूस 9:2-13

मर्कूस 9:2-13 सरल नेपाली

छ दिनपछि येशू पत्रुस, याकूब र यूहन्‍नालाई मात्रै साथमा लिएर एउटा अग्‍लो पहाडमा जानुभयो। अनि चेलाहरूले हेर्दाहेर्दै येशूको रूप नै बदलियो। उहाँको लुगा यति चम्‍किलो सेतो भयो कि सफासँग धोए पनि संसारमा कसैले पनि त्‍यस्‍तो सेतो पार्न सक्‍नेथिएन। त्‍यसै बेला मोशा र एलिया देखा परे र येशूसँग कुरा गर्न लागे। यो देखेर पत्रुसले येशूलाई भने, “गुरु, हामी पनि यहाँ भएको कति राम्रो भएछ। हामीले यहाँ तीन वटा छाप्रो बनाऔं है, एउटा तपाईंलाई, एउटा मोशालाई र एउटा एलियालाई!” पत्रुस र अरू चेलाहरू डरले आतिएका हुनाले पत्रुसलाई के भनूँ के भनूँ भएको थियो। त्‍यतिखेर बादल आयो र त्‍यसको छायाँले उहाँहरूलाई ढाक्‍यो। अनि बादलभित्रबाट एउटा आवाज आयो, “यिनी मेरा प्‍यारो पुत्र हुन्, यिनले भनेको तिमीहरूले मान!” यस्‍तो भनेको सुनेर चेलाहरूले यताउति हेर्दा त कसैलाई पनि देखेनन्। तिनीहरूसँग त येशू मात्र हुनुहुन्‍थ्‍यो। ओरालो झर्दैगर्दा येशूले चेलाहरूलाई भन्‍नुभयो, “म मानव पुत्र मरेर नबिउँतिएसम्‍म आज देखेका कुरा तिमीहरूले कसैलाई पनि नभन्‍नू!” तिनीहरूले उहाँले भनेको माने तर आपसमा चाहिँ यस्‍ता कुरा गर्न लागे, “मरेर बिउँतनु भनेको यो के हो?” अनि येशूलाई सोधे, “धर्म-गुरुहरूले किन एलिया नै पहिले आउनुपर्छ भन्‍छन्?” येशूले भन्‍नुभयो, “साँच्‍चै हो, एलिया पहिले आएर सबै कुरा सच्‍याउनु नै पर्नेछ। त्‍यसो हुँदा मानव पुत्रले धेरै दु:ख सहनु र सबैबाट त्‍यागिनुपर्छ भन्‍ने कुराचाहिँ धर्मशास्‍त्रमा किन लेखिएको होला? हेर, म तिमीहरूलाई भन्‍छु, एलिया त आइसकेका छन्। उनको बारेमा धर्मशास्‍त्रमा लेखिएअनुसार मानिसहरूले उनलाई जे मन लाग्‍यो, त्‍यही गरे।”

मर्कूस 9 पढ्नुहोस्