मर्कूस 6:7-29

मर्कूस 6:7-29 NCV

तब उहाँले बाह्र जनालाई आफूकहाँ बोलाउनुभयो, र तिनीहरूलाई दुई-दुई जना गरेर पठाउनुभयो; अनि तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने अधिकार दिनुभयो। उहाँका आदेशहरू यस्ता थिए: “यात्राका लागि एउटा लहुरोबाहेक केही पनि नलिनू; न रोटी, न थैली, न पटुकामा पैसा। जुत्ता लगाउनू, तर दुईसरो लुगा नबोक्नू। जब तिमीहरू कुनै घरमा पस्छौ, तिमीहरूले त्यो सहरलाई नछोडेसम्म त्यहीँ अतिथीको रूपमा बस। अनि यदि कुनै ठाउँमा तिमीहरूलाई स्वागत हुँदैन वा तिमीहरूका कुरा सुनिँदैन भने तिमीहरू त्यो ठाउँ छोडेर जाँदा तिनीहरूका विरुद्धमा गवाहीको निम्ति आफ्ना पैतालाको धुलोसमेत टक्टक्याइदेओ।” तिनीहरू गए, र मानिसहरूले पश्‍चात्ताप गर्नुपर्छ भनी प्रचार गरे। तिनीहरूले धेरै भूतहरू धपाए, र धेरै रोगीहरूलाई तेलले अभिषेक गरेर निको पारे। राजा हेरोदले येशूको विषयमा सुने; किनकि उहाँको नाम चारैतिर प्रचलित भएको थियो। कतिले भन्दैथिए, “बप्‍तिस्मा दिने यूहन्‍ना मरेकाहरूबाट जीवित भएछन्, त्यसकारण तिनीद्वारा शक्तिशाली कामहरू भइरहेका छन्।” अनि अरूले भने, “तिनी एलिया हुन्।” अनि अझै अरूले यसो भनी दाबी गरे, “तिनी उहिलेका अगमवक्ताहरूमध्ये एक जना अगमवक्ता हुन्।” जब हेरोदले यो सुने, तिनले भने, “मैले शिर कटाएको मानिस यूहन्‍ना मरेकोबाट जीवित भएको छ।” किनकि हेरोद आफैँले यूहन्‍नालाई पक्रन र बाँधेर झ्यालखानामा हाल्ने आदेश दिएका थिए; किनभने तिनले आफ्नै भाइ फिलिपकी पत्नी हेरोदियासको कारणले यसो गरेका थिए; जसलाई तिनले विवाह गरेका थिए। किनकि यूहन्‍नाले हेरोदलाई यसो भनेका थिए, “आफ्नै भाइकी पत्नी राख्नु तपाईंलाई उचित छैन।” यसकारण हेरोदियासले यूहन्‍नामाथि इबी पालिराखेकी थिइन्; अनि तिनलाई मार्न चाहन्थिन्, तर तिनले सकेकी थिइनन्। हेरोद यूहन्‍नादेखि डराउँथे, र तिनलाई सुरक्षित राखेका थिए; किनकि तिनी एक धर्मी र पवित्र मानिस हुन् भनेर तिनले जान्दथे। जब हेरोदले यूहन्‍नाका कुरा सुन्थे, तब तिनी साह्रै विचलित हुन्थे, तर पनि तिनको कुरा सुन्‍न मन पराउँथे। आखिरमा अनुकूल समय आयो। आफ्नो जन्मदिनमा हेरोदले आफ्ना उच्‍च पदाधिकारीहरू, सेनाका सेनापतिहरू र गालील प्रदेशका प्रमुख व्यक्तिहरूका निम्ति एउटा ठूलो भोजको आयोजना गरे। तब हेरोदियासकी छोरी भित्र आएर नाची; अनि उसले हेरोद र तिनका भोजमा आएका पाहुनाहरूलाई खुशी पारी। राजाले त्यस केटीलाई भने, “तिमी जे चाहन्छ्यौ, सो मसित माग, म तिमीलाई दिनेछु।” अनि तिनले शपथ खाएर उसलाई वचन दिए, “तिमीले जे माग्छ्यौ, सो म तिमीलाई दिनेछु, मेरो आधा राज्यसम्म पनि दिनेछु।” त्यसले गएर आफ्नी आमालाई सोधी, “म के मागूँ?” तिनले जवाफ दिइन्, “बप्‍तिस्मा दिने यूहन्‍नाको शिर।” त्यो केटी तुरुन्तै हतारिँदै भित्र राजाकहाँ गएर यो बिन्ती चढाई: “तपाईंले अहिल्यै बप्‍तिस्मा दिने यूहन्‍नाको शिर मलाई यस थालमा दिनुहोस् भन्‍ने म चाहन्छु।” राजा अत्यन्तै दुःखित भए; तर आफ्नो शपथ र भोजमा बसेका पाहुनाहरूका निम्ति उसलाई इन्कार गर्ने इच्छा गरेनन्। यसकारण तिनले तुरुन्तै जल्‍लादलाई यूहन्‍नाको शिर ल्याउनू भनेर आज्ञा दिई पठाए। त्यो मानिस गयो, र झ्यालखानामा यूहन्‍नाको शिर काट्यो, अनि तिनको शिर एउटा थालमा ल्यायो। तिनले त्यो त्यस केटीलाई दिए; अनि उसले त्यो आफ्नी आमालाई दिई। यो सुनेर यूहन्‍नाका चेलाहरू आए; र तिनको लास लगेर चिहानमा राखे।

मर्कूस 6 पढ्नुहोस्