मर्कूस 6:7-29
मर्कूस 6:7-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले बाह्र जनालाई आफूकहाँ बोलाउनुभयो, र तिनीहरूलाई दुई-दुई गरी पठाउनुभयो। तिनीहरूलाई अशुद्ध आत्माहरूमाथि अधिकार पनि दिनुभयो। तिनीहरूलाई उहाँले यस्तो आज्ञा दिनुभयो: “यात्राको निम्ति साथमा केही नबोक्नू, न त रोटी, न झोला, न खल्तीमा पैसा, तर एउटा लट्ठी मात्र बोक्नू। जुत्ता लाउनू, तर अरू बढ़ी दौरा नबोक्नू।” उहाँले तिनीहरूलाई भन्नुभयो, “जब कुनै घरमा पसौला, जबसम्म त्यस गाउँबाट निस्कँदैनौ तबसम्म त्यहीँ नै बस। यदि कुनै ठाउँमा तिमीहरूको स्वागत भएन भने, र मानिसहरूले तिमीहरूको वचन सुन्न इन्कार गरे भने, त्यस ठाउँबाट तिमीहरू निस्कँदा तिनीहरूका विरुद्धमा गवाहीको लागि आफ्नो पैतालाको धुलो टकटक्याइदिनू।” तब तिनीहरू निस्केर गई मानिसहरूले पश्चात्ताप गरून् भनी प्रचार गरे। तिनीहरूले धेरै भूतहरूलाई निकाले, र धेरै रोगीहरूलाई तेलले अभिषेक गरेर निको पारे। हेरोद राजाले येशूको कीर्ति सुने, किनकि उहाँको नाउँ प्रचलित भएको थियो। कतिले भन्थे, “बप्तिस्मा-दिने यूहन्ना मरेकाबाट जीवित भएछन्, यसैले त तिनीद्वारा यस्ता शक्तिका काम भइरहेछन्।” तर अरूहरूले भने, “यिनी एलिया हुन्।” र अझै अरूहरूले भने, “यिनी त प्राचीन समयका अगमवक्ताहरूजस्तै एक अगमवक्ता हुन्।” तर जब हेरोदले यो सुने तब उनले भने, “यूहन्ना, जसको शिर मैले काट्न लगाएँ, त्यही बौरिउठेछ।” किनभने हेरोदले आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासको खातिर यूहन्नालाई पक्रन लाएर तिनलाई बाँधी झ्यालखानमा हालेका थिए, किनभने उनले हेरोदियासलाई विवाह गरेका थिए। किनकि यूहन्नाले हेरोदलाई यसो भनेका थिए, “आफ्नो भाइकी श्रीमती राख्नु तपाईंलाई न्यायसङ्गत छैन।” यसैले हेरोदियासले तिनीमाथि ईख राखेकी थिइन्, र तिनलाई मार्न चाहन्थिन्, तर सकेकी थिइनन्। किनकि यूहन्नालाई एक धर्मात्मा र पवित्र मानिस भनी ठानेर हेरोद तिनीसँग डराउँथे, र तिनलाई सुरक्षित राखेका थिए। यूहन्नाको शिक्षा सुन्दा उनी साह्रै विचलित हुन्थे, तापनि खुसीसित सुन्थे। तर अनुकूल मौका त्यस बेला आयो, जब हेरोदले आफ्नो जन्मोत्सवमा आफ्ना उच्च पदाधिकारीहरू, अधिकृतहरू र गालीलका मुख्य-मुख्य मानिसहरूलाई ठूलो भोज दिए। किनकि जब हेरोदियासकी आफ्नै छोरी भित्र आएर नाची, तब तिनले हेरोद र उनका अतिथिहरूलाई खुसी तुल्याई। अनि राजाले त्यस केटीलाई भने, “तिमीलाई जे इच्छा लाग्छ सो माग, र म तिमीलाई दिनेछु।” तिनले शपथ खाएर त्यसलाई भने, “तिमी मसँग जे माग्छ्यौ म मेरो आधा राज्यसम्म पनि तिमीलाई दिनेछु।” अनि त्यसले बाहिर निस्केर आफ्नी आमालाई सोधी, “म के मागूँ?” तिनले भनिन्, “बप्तिस्मा-दिने यूहन्नाको शिर।” त्यो झट्टै आतुरीसाथ भित्र राजाकहाँ गई, र यसो भनेर मागी, “हजूरले अहिले मलाई बप्तिस्मा-दिने यूहन्नाको शिर थालमा दिनुहोस् भन्ने म इच्छा गर्दछु।” राजा अत्यन्तै दुःखित भए, तर उनले आफ्नो शपथ र भोजमा बस्ने अतिथिहरूका खातिर त्यस केटीलाई दिएको वचन तोड्न चाहेनन्। राजाले तुरुन्तै गारदको एक जना सिपाहीलाई पठाएर यूहन्नाको शिर ल्याउने हुकुम दिए। अनि त्यसले झ्यालखानमा गएर यूहन्नाको शिर काट्यो, र तिनको शिर थालमा ल्याएर केटीलाई दियो, र केटीले त्यो त्यसकी आमालाई दिई। यूहन्नाका चेलाहरूले जब यो कुरा सुने तब तिनीहरू आएर तिनको लाश उठाएर चिहानमा लगेर राखे।
मर्कूस 6:7-29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब उहाँले बाह्र जनालाई आफूकहाँ बोलाउनुभयो, र तिनीहरूलाई दुई-दुई जना गरेर पठाउनुभयो; अनि तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने अधिकार दिनुभयो। उहाँका आदेशहरू यस्ता थिए: “यात्राका लागि एउटा लहुरोबाहेक केही पनि नलिनू; न रोटी, न थैली, न पटुकामा पैसा। जुत्ता लगाउनू, तर दुईसरो लुगा नबोक्नू। जब तिमीहरू कुनै घरमा पस्छौ, तिमीहरूले त्यो सहरलाई नछोडेसम्म त्यहीँ अतिथीको रूपमा बस। अनि यदि कुनै ठाउँमा तिमीहरूलाई स्वागत हुँदैन वा तिमीहरूका कुरा सुनिँदैन भने तिमीहरू त्यो ठाउँ छोडेर जाँदा तिनीहरूका विरुद्धमा गवाहीको निम्ति आफ्ना पैतालाको धुलोसमेत टक्टक्याइदेओ।” तिनीहरू गए, र मानिसहरूले पश्चात्ताप गर्नुपर्छ भनी प्रचार गरे। तिनीहरूले धेरै भूतहरू धपाए, र धेरै रोगीहरूलाई तेलले अभिषेक गरेर निको पारे। राजा हेरोदले येशूको विषयमा सुने; किनकि उहाँको नाम चारैतिर प्रचलित भएको थियो। कतिले भन्दैथिए, “बप्तिस्मा दिने यूहन्ना मरेकाहरूबाट जीवित भएछन्, त्यसकारण तिनीद्वारा शक्तिशाली कामहरू भइरहेका छन्।” अनि अरूले भने, “तिनी एलिया हुन्।” अनि अझै अरूले यसो भनी दाबी गरे, “तिनी उहिलेका अगमवक्ताहरूमध्ये एक जना अगमवक्ता हुन्।” जब हेरोदले यो सुने, तिनले भने, “मैले शिर कटाएको मानिस यूहन्ना मरेकोबाट जीवित भएको छ।” किनकि हेरोद आफैँले यूहन्नालाई पक्रन र बाँधेर झ्यालखानामा हाल्ने आदेश दिएका थिए; किनभने तिनले आफ्नै भाइ फिलिपकी पत्नी हेरोदियासको कारणले यसो गरेका थिए; जसलाई तिनले विवाह गरेका थिए। किनकि यूहन्नाले हेरोदलाई यसो भनेका थिए, “आफ्नै भाइकी पत्नी राख्नु तपाईंलाई उचित छैन।” यसकारण हेरोदियासले यूहन्नामाथि इबी पालिराखेकी थिइन्; अनि तिनलाई मार्न चाहन्थिन्, तर तिनले सकेकी थिइनन्। हेरोद यूहन्नादेखि डराउँथे, र तिनलाई सुरक्षित राखेका थिए; किनकि तिनी एक धर्मी र पवित्र मानिस हुन् भनेर तिनले जान्दथे। जब हेरोदले यूहन्नाका कुरा सुन्थे, तब तिनी साह्रै विचलित हुन्थे, तर पनि तिनको कुरा सुन्न मन पराउँथे। आखिरमा अनुकूल समय आयो। आफ्नो जन्मदिनमा हेरोदले आफ्ना उच्च पदाधिकारीहरू, सेनाका सेनापतिहरू र गालील प्रदेशका प्रमुख व्यक्तिहरूका निम्ति एउटा ठूलो भोजको आयोजना गरे। तब हेरोदियासकी छोरी भित्र आएर नाची; अनि उसले हेरोद र तिनका भोजमा आएका पाहुनाहरूलाई खुशी पारी। राजाले त्यस केटीलाई भने, “तिमी जे चाहन्छ्यौ, सो मसित माग, म तिमीलाई दिनेछु।” अनि तिनले शपथ खाएर उसलाई वचन दिए, “तिमीले जे माग्छ्यौ, सो म तिमीलाई दिनेछु, मेरो आधा राज्यसम्म पनि दिनेछु।” त्यसले गएर आफ्नी आमालाई सोधी, “म के मागूँ?” तिनले जवाफ दिइन्, “बप्तिस्मा दिने यूहन्नाको शिर।” त्यो केटी तुरुन्तै हतारिँदै भित्र राजाकहाँ गएर यो बिन्ती चढाई: “तपाईंले अहिल्यै बप्तिस्मा दिने यूहन्नाको शिर मलाई यस थालमा दिनुहोस् भन्ने म चाहन्छु।” राजा अत्यन्तै दुःखित भए; तर आफ्नो शपथ र भोजमा बसेका पाहुनाहरूका निम्ति उसलाई इन्कार गर्ने इच्छा गरेनन्। यसकारण तिनले तुरुन्तै जल्लादलाई यूहन्नाको शिर ल्याउनू भनेर आज्ञा दिई पठाए। त्यो मानिस गयो, र झ्यालखानामा यूहन्नाको शिर काट्यो, अनि तिनको शिर एउटा थालमा ल्यायो। तिनले त्यो त्यस केटीलाई दिए; अनि उसले त्यो आफ्नी आमालाई दिई। यो सुनेर यूहन्नाका चेलाहरू आए; र तिनको लास लगेर चिहानमा राखे।
मर्कूस 6:7-29 पवित्र बाइबल (NERV)
येशूले बाह्रजना चेलाहरूलाई आफूकहाँ बोलाउनभयो। येशूले तिनीहरूलाई दुइ-दुइ जनाको दलमा पठाऊनु भयो। येशूले दुष्ट-आत्माहरूमाथि अधिकार जमाउने शक्ति तिनीहरूलाई दिनुभयो। येशूले चेलाहरूलाई भन्नुभयोः “यात्रामा जाँदा तिमीहरूले साथमा एउटा लौरो बाहेक केही नबोक्नु। रोटी नबोक, थैली नबोक अनि पटुकामा पैसाहरू पनि नबोक। जूत्ता लगाऊ, आफूले लागएको लुगाफाटाहरू मात्र बोक। जब तिमीहरू कुनै घरमा पस्छौ, तब त्यो शहर नछोडेसम्म त्यो घरपनि नछोड। यदि कुनै शहरले तिमीहरूलाई स्वागत गरेन वा तिमीहरूको कुरा सुनेन् भने त्यो शहर छोड, शहर छोड्दा तिम्रा पैतालाका धूलोहरू पनि टक्टकाइदेऊ। यही नै तिनीहरूलाई चेतावनी हुनेछ।” चेलाहरूले त्यो ठाऊँ छोडी अर्को ठाहरूमा गए। तिनीहरूले मानिसहरूलाई जीवन शैली परिवर्तन गर्नु भने, “तिमीहरूले आफ्नो हृदय र रहन सहन परिवर्तन गर्नुपर्छ।” चेलाहरूले मानिसहरूमा भएका धेरै दुष्ट-आत्माहरूलाई भगाईदिए, अनि तिनीहरूले रोगीहरूलाई भद्राक्षेको तेल घसे र निको पारिदिए। राजा हेरोदले येशूको बारेमा सुने, किनभने अहिलेसम्म येशूलाई सबैले चिनिसकेका थिए। कसै कसैले भने, “ऊ नै बप्तिस्मा दिने यूहन्ना हुन्। मृत्युबाट उहाँलाई बौराइको हो। यसैले उहाँले चमत्कारहरू गर्न सक्नुहुन्छ।” अरू कति मानिसहरूले भने, “उनी नै एलिया हुन्।” अरू मानिसहरूले भने, “येशू नै अगमवक्ता हुनुहुन्छ। उहाँ अगमवक्ताहरू जस्तै हुनुहुन्छ जो धेरै वर्ष अघि थिए।” हेरोदले येशूको बारेमा यी सब कुरा सुनिसकेका थिए, तिनेले भने, “मैले टाऊको काटेर यूहन्नालाई मारेको थिएँ। अहिले यूहन्नानै मृत्युबाट बौरी उठेको छ।” हेरोद आफैंले आफ्ना सिपाही हरूलाई यूहन्नालाई पक्रनु भनेर हुकूम दिएका थिए। अनि यूहन्नालाई झ्यालखानमा राखियो। हेरोदले यी सब काम आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासलाई ऋणी तुल्याउन गरेको थिए। तर हेरोदले हेरोदियासलाई विवाह गरेको थिए। यूहन्नाले हेरोदलाई भनेका थिए, “तिमीलाई तिम्रा भाइकी पत्नीसँग विवाह गर्ने अधिकार छैन।” यसैकारणले गर्दा हेरोदियासले यूहन्नालाई घृणा गर्न थालेकी थिईन्। अनि हेरोदियास उसलाई मार्न चाहन्थिन्। तर हेरोदियासले यूहन्नालाई मार्न सकेकी थिईनन्। किन भने हेरोद यूहन्नालाई मार्न भयभीत थिए। हेरोदलाई थाहा थियो कि यूहन्नालाई मानिसहरूले एक धार्मिक र पवित्र मानिस हुन् भनेर मान्दथे। वा उपदेश सुन्न हेरोदलाई आनन्द लाग्थ्यो, तर यूहन्नाका उपदेशले हेरोदलाई खुबै बाधा पनि भयो। अब हेरोदियासले यूहन्नालाई मार्ने सही समय पाइन। यो घट्ना हेरोदको जन्मदिनमा भयो। हेरोदले आफ्ना प्रमुख सरकारी अधिकारीहरू सेनाका कप्तानहरू, अनि गालीलका सबै प्रमुख मानिसहरलाई आफ्नो जन्म उत्सवमा बेलुकीको भोज व्यवस्था गरे। हरोदियासकी छोरी आएर नाची, अनि उसले हेरोद र तिनका अतिथिहरूलाई जो उसँग खाँदै थिए खुशी पारी। अनि राजा हेरोदले आफ्नी छोरीलाई भने, “तिमीले चाहेको केही पनि माग म तिमीलाई त्यो दिनेछु।” हेरोदले शपथ खाएर त्यसलाई भने, “तिमीले जे पनि माग्दछौ म त्यो दिनेछु तिमीलाई मेरो राज्यकै आधा हिस्सा समेत दिनेछु।” छोरी त्यहाँबाटा गई, अनि आफ्नो आमालाई सोधी, “राजा हेरोदसँग म के चीज माँगु?” उसकी आमाले जवाफ दिई, “बप्तिस्मा दिने यूहन्नाको शिर माग।” तत्कालै छोरी राजा भएकहाँ गई, अनि उसले राजालई भनी, “दया गरी मलाई बप्तिस्मा दिने यूहन्नाको शिरको दिनुहोस्। अहिलै नै एउटा थालमा मलाई त्यो ल्याइदिनुहोस्।” राजा हेरोद खूबै दुःखीत भए। तर छोरीले मागेको जे चीजपनि पूरा गर्न उसले शपथ खाएको थियो। अनि खाना खान बसेका मानिसहरूले उसले भनेका यी सबै कुरा सुनेका थिए। यसैले उसले मागेको कुरा अस्वीकार गर्न हेरोदले चाहेनन्। त्यसपछि हेरोदले एकजना सैनिकलाई यूहन्नाको शिर ल्याउनु भन्ने हुकुम गर्यो। त्यो सिपाही गयो, अनि यूहन्नाको शिर झ्यालखानमा काट्यो। केही बेरपछि उसले यूहन्नाको शिर एउटा थालमा लिएर आयो। त्यसले शिर त्यो केटीलाई दियो। अनि उसले त्यो आफ्नो आमालाई दिईन्। यूहन्नाको चेलाहरूले यो घट्ना भएको सबै सुने। अनि तिहरू आए र यूहन्नाको लाश लगे अनि त्यसलाई चिहानमा लगेर राखे।
मर्कूस 6:7-29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यति बेला उहाँले आफूले छान्नुभएका बाह्र जनालाई बोलाएर तिनीहरूलाई भूत निकाल्ने शक्ति र अधिकार दिनुभयो, अनि दुई-दुई जना गरेर गाउँ-सहरमा यसो भन्दै पठाउनुभयो, “टेक्ने लौरोबाहेक बाटोको लागि रोटी, झोला, पैसा वा अरू केही नबोक। जुत्ता लगाओ अनि दौराचाहिँ एउटै मात्र लगाएर जाओ।” उहाँले तिनीहरूलाई अझै भन्दैजानुभयो, “कुनै गाउँमा पुग्दा जुन घरमा पस्छौ, त्यो गाउँ नछोडुञ्जेलसम्म त्यही घरमा बस्नू। अनि कुनै ठाउँमा पुग्दा मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् र तिमीहरूका कुरा सुन्न मानेनन् भने ती मानिसहरूलाई परमेश्वरले गर्नुहुने न्यायको चेतावनी दिंदै पैतालाको धुलो त्यहीं टक्टक्याएर त्यो गाउँ छोडिदेओ।” त्यसपछि चेलाहरू गए अनि मानिसहरूलाई “पश्चात्ताप गर, पाप छोड,” भनेर प्रचार गर्न थाले। तिनीहरूले भूत लागेका धेरै मानिसहरूबाट भूत निकाले अनि तेलले अभिषेक गरेर धेरै बिरामीहरूलाई निको पारे। येशूको नाउँ चारैतिर फैलिएको हुनाले हेरोद राजाले पनि उहाँको बारेमा सुने। कसै-कसैले त यसो भन्दै थिए, “बप्तिस्मा दिने यूहन्ना मरेकोबाट बिउँतेछन्, त्यसैले त यिनले यस्ता शक्तिशाली कामहरू गर्दछन्!” कतिले चाहिँ “यी एलिया अगमवक्ता नै हुन्,” भन्थे अनि कतिले चाहिँ “उहिलेका अगमवक्ताहरूजस्तै एक जना अगमवक्ता निस्किएछन्,” भन्थे। यी कुरा सुनेपछि हेरोदले भने, “यो त यूहन्ना नै हो। उसलाई मैले मारेको थिएँ, अब ऊ मरेकोबाट बिउँतेछ!” त्यसको केही समय पहिले हेरोदले यूहन्नालाई पक्रन लगाई बाँधेर थुनामा राखेका थिए किनभने हेरोदले आफ्नै भाइ फिलिपकी स्वास्नी हेरोदियासलाई ल्याएर राखेका थिए। अनि बप्तिस्मा दिने यूहन्नाले “भाइकी स्वास्नी यसरी ल्याएर राख्नु ठीक हुँदैन,” भनेर उनलाई सम्झाइरहन्थे। त्यसो हुँदा हेरोदियासलाई यूहन्नासँग रिस उठेको थियो। तिनी यूहन्नालाई मार्न चाहन्थिन्, तर राजा हेरोद नमानेकाले तिनले केही गर्न सकिनन् किनभने यूहन्ना धर्मात्मा र पवित्र मानिस हुन् भन्ने कुरा हेरोदलाई थाहा थियो। यसकारण उनले यूहन्नालाई बचाइराखे। हेरोदले यूहन्नाको कुरा सुन्दा हेरोदको मन खल्बलिए पनि उनले तिनका कुरा सुन्न मन पराउँथे। आखिरमा हेरोदियासलाई बदला लिने मौका मिल्यो। हेरोदले आफ्नो जन्मदिनमा ठूलो भोज लगाएका थिए। त्यस भोजमा उनले आफ्ना भारदार, फौजी कप्तान र गालीलका अरू ठूला-ठूला मानिसहरूलाई निम्त्याएका थिए। त्यस भोजमा हेरोदियासकी छोरी आएर नाचिन्। उसको नाच देखेर राजा र उनका पाहुनाहरू सबै खुसी भए। अनि राजाले उसलाई भने, “म तिमीलाई के दिऊँ? जे मागे पनि म त्यही दिनेछु।” फेरि राजाले शपथ खाँदै भने, “आधा राज्य नै मागे पनि म तिमीलाई दिन्छु।” तब हेरोदियासकी छोरीले आमाकहाँ गएर सोधी, “आमा, म के मागूँ?” “बप्तिस्मा दिने यूहन्नाको टाउको माग!” आमाले भनिन्। त्यो केटी झट्टै राजाकहाँ गएर भनी, “मलाई अहिले नै बप्तिस्मा दिने यूहन्नाको टाउको थालमा राखेर दिनुहोस्।” यो सुनेर राजा ज्यादै चिन्तामा परे। तर त्यतिका पाहुनाहरूको अगाडि शपथ खाएर दिन्छु भनेको हुनाले फेरि दिन्न भन्न सकेनन्। त्यसकारण उनले ‘यूहन्नाको टाउको काटेर ल्याउनू’ भनेर आफ्नो सिपाहीलाई हुकुम दिए। सिपाहीले झ्यालखानमा गएर यूहन्नाको टाउको काट्यो र थालमा राखेर केटीकहाँ पुर्यायो। केटीले त्यो लगेर आफ्नी आमालाई दिई। यो कुरा सुनेर यूहन्नाका चेलाहरू आए अनि उनको लाश लगेर गाडिदिए।