मर्कूस 15:22-39

मर्कूस 15:22-39 NCV

तिनीहरूले येशूलाई गलगथा अर्थात् खप्परे भनिने ठाउँमा ल्याए। तब तिनीहरूले उहाँलाई नशालु पदार्थ मूर्र मिसाइएको दाखमद्य दिए, तर उहाँले त्यो पिउन मान्‍नुभएन। अनि तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। तिनीहरूले कसले के पाउँदोरहेछ भनेर उहाँका वस्त्रहरूका लागि चिट्ठा हालेर ती भाग गरे। तिनीहरूले उहाँलाई क्रूसमा टाँग्दा बिहानको नौ बजेको थियो। उहाँको विरुद्धको दोषपत्रमा यसरी लेखिएको थियो: यहूदीहरूको राजा। तिनीहरूले उहाँसित दुई डाँकुहरूलाई पनि क्रूसमा टाँगे—एउटा उहाँको दाहिनेपट्टि र अर्कोचाहिँ उहाँको देब्रेपट्टि। अनि धर्मशास्त्रको वचन यसरी पूरा भयो, “उहाँ अपराधीहरूसँग गनिनुभयो।” त्यस ठाउँबाट हिँड्नेहरूले आफ्ना टाउको हल्‍लाउँदै उहाँलाई अपमान गरेर यसो भने, “वाह! ए मन्दिर भत्काउने र त्यसलाई तीन दिनमा बनाउने! क्रूसबाट तल ओर्लेर आइज, र आफूलाई बचा!” यस्तै किसिमले मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले आपसमा उहाँको अपमान गरे। तिनीहरूले भने, “यसले अरूलाई त बचायो, तर आफैँलाई बचाउन सक्दैन। यो ख्रीष्‍ट, इस्राएलका राजा, अब क्रूसबाट तल ओर्लिआओस्, र यो देखेर हामी विश्‍वास गरौँ।” उहाँसित क्रूसमा टाँगिएकाहरूले पनि उहाँलाई घोर अपमान गरे। बाह्र बजेदेखि दिउँसो तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो। अनि तीन बजेतिर येशू चर्को सोरले कराउनुभयो, “इली, इली, लामा सबखथनी?” जसको अर्थ हो, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?” छेउमा उभिरहनेहरूमध्ये कतिले जब यो सुने, तिनीहरूले भने, “सुन, यसले एलियालाई बोलाउँदैछ।” एक जना मानिस दौडेर गयो, र स्पन्जमा सिर्का चोपेर त्यसलाई एउटा निगालोमा लगाएर पिउन भनी येशूलाई दिँदै भन्यो, “अब यिनलाई एकलै छोडिदेओ। हेरौँ, कहीँ एलिया आएर यिनलाई ओराल्छन् कि।” तब येशूले चर्को सोरले कराएर आफ्नो प्राण त्याग्नुभयो। त्यसपछि मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्मै दुई भाग भएर च्यात्तियो। अनि जब येशूको अगिल्तिर उभिरहेका सेनापतिले उहाँको सोर सुनेर उहाँ कसरी मर्नुभयो, त्यो देखेर तिनले भने, “निश्‍चय नै यी मानिस परमेश्‍वरका पुत्र रहेछन्!”

मर्कूस 15 पढ्नुहोस्

मर्कूस 15:22-39 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति