मर्कूस 1:16-34

मर्कूस 1:16-34 NCV

जब येशू गालील समुद्रको किनारमा हिँड्दैहुनुहुन्थ्यो, उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई तालमा जाल हान्दै गरेका देख्नुभयो; किनकि तिनीहरू मछुवा थिए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।” त्यसपछि तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडे, र उहाँको पछि लागे। उहाँ अलि पर पुगेपछि, उहाँले जब्दीका छोरा याकोब र तिनका भाइ यूहन्‍नालाई डुङ्गामा आफ्ना जाल तयार गरिरहेका देख्नुभयो। तुरुन्तै उहाँले तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरूले आफ्ना बुबा जब्दीलाई ज्यालादारहरूको साथमा डुङ्गामा छोडेर उहाँको पछि लागे। उहाँहरू कफर्नहुममा जानुभयो, अनि शब्बाथ सुरु हुनेबित्तिकै येशू सभाघरमा गएर शिक्षा दिन थाल्नुभयो। मानिसहरू उहाँको शिक्षामा छक्‍क परे; किनकि उहाँले तिनीहरूका व्यवस्थाका शिक्षकहरूले झैँ होइन, तर अधिकार भएको व्यक्तिले झैँ सिकाउनुभयो। त्यति नै बेला अशुद्ध आत्मा लागेको एक जना मानिस सभाघरमा यसरी करायो, “हे नासरतका येशू, तपाईं हामीसित के चाहनुहुन्छ? के तपाईं हामीलाई नष्‍ट गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी म जान्दछु, तपाईं परमेश्‍वरको पवित्र जन हुनुहुन्छ!” येशूले त्यसलाई हकारेर भन्‍नुभयो, “चुप लाग्! त्यसबाट निस्किजा!” अशुद्ध आत्माले त्यस मानिसलाई जोडसित हल्‍लायो, र चिच्याएर त्यसबाट निस्क्यो। तब ती मानिसहरू अति छक्‍क परे, तिनीहरूले एक-अर्कालाई भने, “यो के हो? अधिकार सहितको नयाँ शिक्षा हो? यिनले त अशुद्ध आत्माहरूलाई पनि आज्ञा दिन्छन्, र तिनीहरूले यिनको आज्ञा मान्दछन्।” उहाँको विषयमा यो खबर सारा गालील प्रदेशभरि फैलियो। उहाँहरूले सभाघर छोड्नसाथ उहाँहरू याकोब र यूहन्‍नासित सिमोन र अन्द्रियासको घरमा जानुभयो। त्यस ठाउँमा सिमोनकी सासू ज्वरोले थलिएकी थिइन्, र तुरुन्तै तिनीहरूले येशूलाई तिनको विषयमा भने। येशू तिनीकहाँ जानुभयो, र तिनको हात पक्रेर उठ्नलाई सहायता गर्नुभयो। ज्वरोले तिनलाई छोडिहाल्यो; अनि तिनले उहाँहरूको सेवा गरिन्। त्यो साँझ घाम अस्ताएपछि मानिसहरूले सबै रोगीहरू र दुष्‍ट आत्मा लागेका धेरैजनालाई येशूकहाँ ल्याए। सहरका सारा मानिसहरू ढोकामा नै भेला भए; अनि येशूले विभिन्‍न किसिमका रोग लागेका धेरैलाई निको पार्नुभयो। उहाँले धेरै भूतहरूलाई धपाउनुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन; किनभने तिनीहरूले उहाँ को हुनुहुन्छ भनी जान्दथे।

मर्कूस 1 पढ्नुहोस्