मर्कूस 1:16-34
मर्कूस 1:16-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
गालील-समुद्रको किनार-किनारै जाँदैहुनुहुँदा उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई समुद्रमा जाल हानिरहेका देख्नुभयो। किनकि तिनीहरू जालहारी थिए। येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।” तिनीहरूले तुरुन्तै आफ्ना जालहरू छोड़े, र उहाँको पछि लागे। अनि अलि पर गएपछि उहाँले जब्दियाका दुई छोरा याकूब र यूहन्नालाई डुङ्गामा बसी जाल तुनिरहेका देख्नुभयो। उहाँले तुरुन्त तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरू आफ्ना पिता जब्दियालाई ज्यामीहरूका साथ डुङ्गामा छोड़ेर उहाँको पछि लागे। तब उहाँहरू कफर्नहुममा जानुभयो, र तुरुन्तै शबाथ-दिनमा सभाघरमा पसी उहाँले शिक्षा दिन लाग्नुभयो। अनि तिनीहरू उहाँका शिक्षामा चकित भए। किनकि उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तो होइन, तर अधिकारसँग सिकाउनुभयो। त्यही बेला त्यस सभाघरमा अशुद्ध आत्मा भएको एक जना मान्छे थियो। त्यसले यसो भन्दै चिच्च्यायो, “हे नासरतका येशू, हामीलाई तपाईंसँग के सरोकार? के तपाईं हामीलाई सर्वनाश पार्नलाई आउनुभएको हो? म तपाईंलाई चिन्छु, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।” तर येशूले त्यसलाई यसो भन्दै हकार्नुभयो, “चूप लाग्, र त्यसबाट निस्किजा।” त्यस मान्छेलाई लछारपछार पार्दै त्यो अशुद्ध आत्मा ठूलो स्वरले चिच्च्याएर त्यस मान्छेबाट निस्किगयो। तब सबै जनाले अचम्म माने, र तिनीहरू यसो भन्दै आपसमा सोधासोध गर्न लागे, “यो के हो? यो त नयाँ शिक्षा रहेछ। यिनले त अधिकारसँग अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्छन्, र तिनीहरूले यिनका आज्ञा मान्दारहेछन्।” अनि चाँड़ै नै येशूको कीर्ति गालीलको इलाका वरिपरि चारैतिर फैलियो। अब उहाँ तुरुन्तै सभाघरबाट निस्केर याकूब र यूहन्नाका साथमा सिमोन र अन्द्रियासको घरमा पस्नुभयो। सिमोनकी सासू जरोले थला परेकी थिइन्, र तिनीहरूले झट्टै उहाँलाई तिनको विषयमा भने। उहाँले नजिक आएर तिनको हात समाती तिनलाई उठाउनुभयो, र जरोले तिनलाई छोडिहाल्यो। अनि तिनले उहाँहरूको सेवा गरिन्। त्यो साँझ घाम डुबेपछि मानिसहरूले उहाँकहाँ बिरामीहरू र भूत लागेकाहरू जम्मैलाई ल्याए। सारा सहर नै घरको ढोकामा जम्मा भएको थियो। अनेक किसिमका रोगले ग्रस्त भएका धेरै बिरामीहरूलाई उहाँले निको पार्नुभयो, र धेरै भूतहरूलाई निकाल्नुभयो, तर भूतहरूले उहाँलाई चिनेका हुनाले उहाँले तिनीहरूलाई बोल्न दिनुभएन।
मर्कूस 1:16-34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब येशू गालील समुद्रको किनारमा हिँड्दैहुनुहुन्थ्यो, उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई तालमा जाल हान्दै गरेका देख्नुभयो; किनकि तिनीहरू मछुवा थिए। येशूले तिनीहरूलाई भन्नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।” त्यसपछि तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडे, र उहाँको पछि लागे। उहाँ अलि पर पुगेपछि, उहाँले जब्दीका छोरा याकोब र तिनका भाइ यूहन्नालाई डुङ्गामा आफ्ना जाल तयार गरिरहेका देख्नुभयो। तुरुन्तै उहाँले तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरूले आफ्ना बुबा जब्दीलाई ज्यालादारहरूको साथमा डुङ्गामा छोडेर उहाँको पछि लागे। उहाँहरू कफर्नहुममा जानुभयो, अनि शब्बाथ सुरु हुनेबित्तिकै येशू सभाघरमा गएर शिक्षा दिन थाल्नुभयो। मानिसहरू उहाँको शिक्षामा छक्क परे; किनकि उहाँले तिनीहरूका व्यवस्थाका शिक्षकहरूले झैँ होइन, तर अधिकार भएको व्यक्तिले झैँ सिकाउनुभयो। त्यति नै बेला अशुद्ध आत्मा लागेको एक जना मानिस सभाघरमा यसरी करायो, “हे नासरतका येशू, तपाईं हामीसित के चाहनुहुन्छ? के तपाईं हामीलाई नष्ट गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी म जान्दछु, तपाईं परमेश्वरको पवित्र जन हुनुहुन्छ!” येशूले त्यसलाई हकारेर भन्नुभयो, “चुप लाग्! त्यसबाट निस्किजा!” अशुद्ध आत्माले त्यस मानिसलाई जोडसित हल्लायो, र चिच्याएर त्यसबाट निस्क्यो। तब ती मानिसहरू अति छक्क परे, तिनीहरूले एक-अर्कालाई भने, “यो के हो? अधिकार सहितको नयाँ शिक्षा हो? यिनले त अशुद्ध आत्माहरूलाई पनि आज्ञा दिन्छन्, र तिनीहरूले यिनको आज्ञा मान्दछन्।” उहाँको विषयमा यो खबर सारा गालील प्रदेशभरि फैलियो। उहाँहरूले सभाघर छोड्नसाथ उहाँहरू याकोब र यूहन्नासित सिमोन र अन्द्रियासको घरमा जानुभयो। त्यस ठाउँमा सिमोनकी सासू ज्वरोले थलिएकी थिइन्, र तुरुन्तै तिनीहरूले येशूलाई तिनको विषयमा भने। येशू तिनीकहाँ जानुभयो, र तिनको हात पक्रेर उठ्नलाई सहायता गर्नुभयो। ज्वरोले तिनलाई छोडिहाल्यो; अनि तिनले उहाँहरूको सेवा गरिन्। त्यो साँझ घाम अस्ताएपछि मानिसहरूले सबै रोगीहरू र दुष्ट आत्मा लागेका धेरैजनालाई येशूकहाँ ल्याए। सहरका सारा मानिसहरू ढोकामा नै भेला भए; अनि येशूले विभिन्न किसिमका रोग लागेका धेरैलाई निको पार्नुभयो। उहाँले धेरै भूतहरूलाई धपाउनुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन; किनभने तिनीहरूले उहाँ को हुनुहुन्छ भनी जान्दथे।
मर्कूस 1:16-34 पवित्र बाइबल (NERV)
गालील तालको किनार भएर येशू हिँडिरहनु भएको थियो। येशूले शिमोन र उसको भाइ अन्द्रियासलाई देख्नुभयो। यी दुवैजना माछा पक्रनेहरू थिए अनि पोखरीमा माछा समात्न जाल हान्दै थिए। येशूले तिनीहरूलाई भन्नुभयो, “आओ अनि मसँग हिँड, म तिमीहरूलाई बेग्लै प्रकारको माछा पक्रनेहरू बनाउँछु। तिमीहरू मानिसहरू बटुल्ने काम गर्नेछौ माछाहरू होइन।” त्यसकारण शिमोन र अन्द्रियासले तिनीहरूको जाल फ्याँकिदिए अनि येशूलाई पछ्याए। येशू गालीलको ताल भएर केही पर गइरहनु भएको थियो। उहाँले अरू जब्दीका दुइजना छोराहरू दाज्यू-भाइ याकूब र यूहन्नालाई देख्नु भयो, तिनिहरू आफ्नो डुङ्गामा चढेर माछा मार्न जाल तयार गर्दैथिए। तिनीहरूका बाबु जब्दी र उनका काम गर्नेहरू पनि तिनीहरूसित डुङ्गामा नै थिए। जब येशूले यी दुइ दाज्यू-भाइलाई देख्नुभयो, उहाँले तिनीहरूलाई आफूकहाँ बोलाउनु भयो र तिनीहरू आफ्ना बाबुलाई छोडेर येशूकहाँ आए। येशू अनि उहाँका चेलाहरू कफर्नहुममा जानुभयो। त्यसैबेला उहाँले विश्रामको दिनमा सभाघरमा पसी मानिसहरूलाई शिक्षा दिनलाग्नु भयो। त्यहाँ मानिसहरू येशूको उपदेश सुनेर चकित भए। व्यवस्थाका शिक्षकहरूले झैं येशूले तिनीहरूलाई सिकाउनु भएन। येशूले तिनीहरूलाई कुनै अधिकार भएको मानिसले जस्तो सिकाउनुहुन्थ्यो। जतिबेला येशू सभाघरमा हुनुहुन्थ्यो, त्यसबेला एकजना दुष्टात्मा भएको मानिस त्यहाँ थियो। त्यो चिच्यायो, “हे नासरतका येशू, हामीदेखि तपाईं के चाहनुहुन्छ के तपाईं हामीलाई सर्वनाश गर्न आउनुभएको हो? म तपाईंलाई चिन्छु तपाईं परमेश्वरका परम पवित्र जन हुनुहुन्छ।” येशूले दुष्ट आत्मालाई हकार्नु भयो अनि भन्नुभयो, “चूपलाग्, त्यस मानिसबाट निस्केर बाहिर आइज!” त्यो दुष्टात्माले उसलाई जोडले झट्काएको थियो। त्यसैबेला त्यो दुष्टात्मा ठूलो स्वरले चिच्याएर त्यसबाट बाहिर निस्क्यो। सबै मानिसहरू छक्क परे, र तिनीहरूले एक-अर्कामा भन्नलागे, “यहाँ के भइरहेको छ? शायद यो मानिसले केही नयाँ कुरो सिकाईरहेका होलान् उनले, अधिकारपूर्वक सिकाइरहनु भएको छ। उनले दुष्टात्मालाई आज्ञा गर्नसक्नु हुन्छ, अनि त्यो दुष्ट आत्माले उहाँको आज्ञा पालन गर्छ।” अनि यसो हुने बित्तिकै चाँडै नै येशूको खबर गालीलको सबै मुलुकभरि जताततै फैलियो। येशू अनि उहाँका चेलाहरूले सभाघर छोड्नुभयो। तिनीहरू सबै याकूब र यूहन्नासँग सिमोन र आन्द्रियासको घरमा जानुभयो। सिमोनकी सासु ज्वरोले थलिएर ओछ्यान परेकी थिइन्। मानिसहरूले येशूलाई तिनको बारेमा सबै कुरा सुनाए। त्यसपछि येशू तिनको ओछ्यान छेउमा जानुभयो। येशूले ती स्त्रीको हात समात्नु भयो, अनि तिनलाई उठ्न सहायता गर्नुभयो। यसो गर्ने बित्तिकै ज्वरो हरायो। तिनी जाति भइन्। त्यसपछि तिनले उहाँको सेवा गरिन्। त्यस साँझमा जब सूर्य अस्तायो, मानिसहरूले अनेकौं रोगीहरूलाई येशूकहाँ ल्याए। तिनीहरूले भूत लागेकाहरूलाई पनि ल्याए। शहरका सारा मानिसहरू घरको ढोकामा भेला भएका थिए। येशूले बेग्ला-बेग्लै रोग लागेकाहरू सबैलाई निको पार्नुभयो। तर येशूले भूतहरूलाई बोल्न दिनु भएन, किनभने भूतहरूले उहाँ को हुनुहुन्छ भनेर जान्दथ्यो।
मर्कूस 1:16-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
गालील तालको किनारमा डुलिरहनुहुँदा येशूले सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेको देख्नुभयो। अनि येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो पछि लाग, म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।” यो सुन्नेबित्तिकै तिनीहरूले आफ्ना जालहरू छोडेर येशूको पछि लागे। अझै अघि जाँदै गर्नुहुँदा येशूले जब्दियाका दुई छोराहरू याकूब र यूहन्नालाई देख्नुभयो। तिनीहरू नाउमा बसेर जाल तुन्दै थिए। येशूले तिनीहरूलाई पनि तुरुन्तै बोलाउनुभयो। अनि तिनीहरूले आफ्ना बुबालाई काम गर्नेहरूसँग नाउमा छोडेर येशूको पछि लागे। येशू ती चेलाहरूसँग कफर्नहूम सहरमा जानुभयो अनि विश्रामको दिनमा सभाघरमा गएर शिक्षा दिन लाग्नुभयो। उहाँको शिक्षा सुनेर मानिसहरू छक्कै परे किनभने उहाँले अरू धर्म-गुरुहरूले जस्तो गरी होइन तर ठूलो अधिकारसँग शिक्षा दिनुभयो। त्यति नै बेला सभाघरभित्र एउटा भूत लागेको मानिसले चिच्च्याउँदै भन्यो, “हे नासरतका येशू, तपाईंले हामीलाई के गर्न लाग्नुभएको? के तपाईं हामीलाई नाश पार्न आउनुभएको हो? तपाईं परमेश्वरले पठाउनुभएको पवित्र जन हुनुहुन्छ भनेर म चिन्दछु।” येशूले त्यस भूतलाई हप्काएर भन्नुभयो, “होइन, चुप लाग् र यस मानिसबाट निस्केर गइहाल्!” त्यत्तिकैमा भूतले त्यस मानिसलाई मुर्च्छा पार्यो र ठूलो सोरले चिच्च्याउँदै निस्केर गयो। यो देख्ने जति सबै मानिसहरू छक्क परे र भन्न लागे, “होइन, यो के हो? यो त नयाँ प्रकारको शिक्षा पो रहेछ। यो मान्छेले अधिकारसँग भूतहरूलाई हुकुम दिन्छ अनि तिनीहरूले मान्दा रहेछन्।” अनि तुरुन्तै येशूको चर्चा गालीलको चारैतिर फैलियो। सभाघरबाट तुरुन्तै निस्केर येशू सरासर सिमोन र अन्द्रियासका घरतिर जानुभयो। उहाँहरूसँगै याकूब र यूहन्ना पनि गए। त्यो दिन सिमोनकी सासू ज्वरोले गर्दा ओछ्यानमा थला परिरहेकी थिइन् र येशू आइपुग्नेबित्तिकै घरका मानिसहरूले यो कुरा उहाँलाई सुनाए। येशूले नजिकै गएर बिरामीको हात समात्दै उठाउनुभयो र ज्वरोले तिनलाई छोडिहाल्यो। अनि तिनले उहाँहरूको सेवा-सत्कार गर्न लागिन्। त्यो साँझ घाम अस्ताएपछि मानिसहरूले सबै रोगी, बिरामी र भूत लागेकाहरूलाई येशूकहाँ ल्याए र सहरभरिका मानिसहरू घरको आँगनमा जम्मा भए। येशूले धेरै किसिमका रोगले सताएका धेरै मानिसहरूलाई निको पार्नुभयो अनि धेरै मानिसहरूबाट भूतहरूलाई निकाल्नुभयो। येशू को हुनुहुन्छ भनी ती भूतहरूलाई थाहा थियो। त्यसैले उहाँले तिनीहरूलाई बोल्नै दिनुभएन।