येशूले आफ्ना बाह्र चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो; अनि तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने, र हरेक किसिमका रोग र बिरामी निको पार्ने अधिकार दिनुभयो। ती बाह्र प्रेरितहरूका नाम यिनै हुन्: पहिलो पत्रुस भनिने सिमोन, र तिनका भाइ अन्द्रियास; जब्दीका छोरा याकोब र तिनका भाइ यूहन्ना; फिलिप अनि बारथोलोमाइ; थोमा अनि कर उठाउने मत्ती; अल्फयसका छोरा याकोब र थेदियस; सिमोन कनानी र यहूदा इस्करियोत, जसले उहाँलाई धोका दियो। यी बाह्र जनालाई येशूले यस्ता अधिकार दिएर पठाउनुभयो: “गैरयहूदीहरूको बीचमा नजाओ, र सामरीहरूका सहरहरूमा नपस। बरु इस्राएलका हराएका भेडाहरूकहाँ जाओ। तिमीहरू गएर यो समाचार प्रचार गर: ‘स्वर्गको राज्य नजिक आएको छ।’ रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवित बनाओ, कुष्ठरोगीहरूलाई निको बनाओ; भूतआत्माहरू धपाओ। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ। “आफूसित पटुकामा सुन, चाँदी अथवा तामाको सिक्का नलैजाओ। यात्राका लागि झोला अथवा दुईसरो लुगा, जुत्ता अथवा लहुरो नबोक; किनकि खेताला आफ्नो ज्यालाको योग्य हुन्छ। तिमीहरू जुन सहर अथवा गाउँमा जान्छौ, त्यस ठाउँमा को योग्यको छ, त्यस व्यक्तिलाई खोज; अनि तिमीहरूले त्यो ठाउँ नछोडेसम्म त्यसकै घरमा अतिथीको रूपमा बस। तिमीहरू त्यस घरमा पस्दा, त्यसलाई अभिवादन गर। यदि त्यो घर योग्यको छ भने तिमीहरूको शान्ति त्यस घरमा रहोस्; यदि छैन भने तिमीहरूको शान्ति तिमीहरूकहाँ फर्किआओस्। यदि कसैले तिमीहरूलाई स्वागत गरेन भने अथवा तिमीहरूको कुरा सुन्दैन भने तिमीहरूले त्यस घर अथवा सहरलाई छोडेर जाँदा तिमीहरूका पैतालाका धुलो टक्टक्याइदेओ। म तिमीहरूलाई साँच्चै भन्दछु, न्यायको दिनमा त्यस सहरको भन्दा त सदोम र गमोराको अवस्था सहन सक्ने हुनेछ। “म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेडाहरूझैँ पठाउँदैछु। यसकारण सर्पझैँ चतुर र ढुकुरझैँ सोझो होओ। मानिसहरूदेखि होसियार बस, तिनीहरूले तिमीहरूलाई स्थानीय सभाहरूमा सुम्पिदिनेछन्, र तिनीहरूका सभाघरहरूमा कोर्रा लगाउनेछन्। मेरो कारणले गर्दा तिमीहरू राज्यपालहरू र राजाहरूका अगाडि लगिनेछौ, र तिमीहरू गैरयहूदीहरूका अगि मेरा साक्षी हुनेछौ। तर जब तिनीहरूले तिमीहरूलाई पक्रनेछन्, तिमीहरूले के बोल्नुपर्ने वा कसरी बोल्नुपर्छ भनी फिक्री नगर। त्यसै बेला तिमीहरूले के भन्नुपर्ने हो, सो दिइनेछ। किनकि त्यो तिमीहरू बोलेका हुनेछैनौ, तर तिमीहरूका पिताको आत्मा नै तिमीहरूद्वारा बोल्नुहुनेछ। “भाइले भाइलाई, बुबाले आफ्नो छोराछोरीलाई मृत्युका निम्ति धोका दिनेछन्; छोराछोरीहरू आफ्ना आमाबुबाको विरुद्धमा उठ्नेछन्, र तिनीहरूलाई मार्न लाउनेछन्। मेरो कारण तिमीहरूलाई सबै मानिसहरूले घृणा गर्नेछन्, तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसको उद्धार हुनेछ। जब तिमीहरू एक ठाउँमा सताइनेछौ, तब अर्को ठाउँमा भाग। म साँचो भन्दछु, मानिसको पुत्र आउनुभन्दा अगि तिमीहरूले इस्राएलका सहरहरू पनि घुमिसकेका हुनेछैनौ।
मत्ती 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 10:1-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू