मत्ती 10:1-23

मत्ती 10:1-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

उहाँले आफ्‍ना बाह्र चेलाहरूलाई बोलाएर अशुद्ध आत्‍माहरू निकाल्‍ने र हरप्रकारका रोग र दुर्बलता निको पार्ने अधिकार तिनीहरूलाई दिनुभयो। बाह्र प्रेरितहरूका नाउँ यी हुन्, पहिलो पत्रुस भनिने सिमोन र तिनका भाइ अन्‍द्रियास, जब्‍दियाका छोरा याकूब र तिनका भाइ यूहन्‍ना, फिलिप र बारथोलोमाइ, थोमा र कर उठाउने मत्ती, अल्‍फयसका छोरा याकूब र थेदियस, सिमोन कनानी र यहूदा इस्‍करियोत, जसले येशूलाई पक्राइदियो। येशूले यी बाह्र चेलालाई यसो भनी आज्ञा दिएर पठाउनुभयो, “अन्‍यजातिहरूका माझमा नजाओ, र सामरीहरूका सहरमा नपस। तर इस्राएल जातिका हराएका भेड़ाहरूकहाँ जाओ। ‘स्‍वर्गको राज्‍य नजिकै आइपुगेको छ,’ भन्‍दै प्रचार गर। बिरामीहरूलाई निको पार, मरेकाहरूलाई जीवित पार, कुष्‍ठ-रोगीहरूलाई शुद्ध पार, भूतहरूलाई निकाल। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ। तिमीहरू आफ्‍ना पटुकामा सुन, चाँदी र तामाको सिक्‍का नबोक, यात्राको निम्‍ति झोली, दुई जोर दौरा, जुत्ता, लौरो नलेओ। किनभने खेतालाले उसको भोजन पाउनुपर्छ। “जुन सहर कि गाउँमा तिमीहरू पस्‍छौ, त्‍यहाँ को योग्‍य छ भनी खोज, र त्‍यहाँबाट बिदा नभएसम्‍म त्‍यहीँ बस। त्‍यस घरभित्र पस्‍दा अभिवादन गर। त्‍यो घर योग्‍य छ भने, तिमीहरूको शान्‍ति त्‍यस घरमा आओस्‌। तर त्‍यो योग्‍य रहेनछ भने, तिमीहरूको शान्‍ति तिमीहरूमै फर्की आओस्‌। यदि कसैले तिमीहरूलाई ग्रहण गरेन वा तिमीहरूको वचन सुनेन भने, त्‍यस घर अथवा सहरबाट निस्‍कँदा आफ्‍ना खुट्टाको धुलो टकटक्‍याइदेओ। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, न्‍यायको दिनमा त्‍यस सहरको दशाभन्‍दा बरु सदोम र गमोराको हालत बढ़ी सहनीय हुनेछ। “हेर, म तिमीहरूलाई ब्‍वाँसाहरूका बीचमा भेड़ाझैँ पठाइरहेछु, यसकारण तिमीहरू सर्पझैँ चनाखो र ढुकुरझैँ निर्दोष होओ। तर मानिसहरूदेखि होशियार होओ, किनभने तिनीहरूले तिमीहरूलाई अदालतहरूमा सुम्‍पिदिनेछन्, र तिनीहरूका सभाघरहरूमा तिमीहरूलाई कोर्रा लाउनेछन्‌। तिमीहरू मेरो खातिर हाकिम र शासकहरूका सामुन्‍ने खड़ा गराइनेछौ र तिनीहरू र अन्‍यजातिहरूका निम्‍ति साक्षी हुनेछौ। तर जब तिनीहरूले तिमीहरूलाई पक्राइदिन्‍छन्, तब कसरी र के बोलौंला भनी फिक्री नगर। किनभने तिमीहरूले के बोल्‍नुपर्ने हो, त्‍यही घड़ी तिमीहरूलाई बताइनेछ। किनभने बोल्‍ने तिमीहरू आफै हुनेछैनौ, तर तिमीहरूका पिताका आत्‍मा तिमीहरूद्वारा बोल्‍नुहुनेछ। “भाइले भाइलाई मृत्‍युको लागि पक्राइदिनेछ, र बाबुले छोरा-छोरीलाई, र छोरा-छोरीहरू आमा-बुबाहरूका विरुद्धमा उठ्‌नेछन्‌ र तिनीहरूलाई मार्न लाउनेछन्‌। मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ। तर जो अन्‍त्‍यसम्‍म स्‍थिर रहन्‍छ, त्‍यसैको उद्धार हुनेछ। जब तिनीहरूले तिमीहरूलाई एउटा सहरमा सताउँछन्‌ तब अर्कोमा भाग। किनकि साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, मानिसको पुत्र आउन अघि तिमीहरू कुनै रीतिले इस्राएलका सबै सहरहरू डुलिसकेका हुनेछैनौ।

शेयर गर्नुहोस्
मत्ती 10 पढ्नुहोस्

मत्ती 10:1-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

येशूले आफ्ना बाह्र चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो; अनि तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने, र हरेक किसिमका रोग र बिरामी निको पार्ने अधिकार दिनुभयो। ती बाह्र प्रेरितहरूका नाम यिनै हुन्: पहिलो पत्रुस भनिने सिमोन, र तिनका भाइ अन्द्रियास; जब्दीका छोरा याकोब र तिनका भाइ यूहन्‍ना; फिलिप अनि बारथोलोमाइ; थोमा अनि कर उठाउने मत्ती; अल्फयसका छोरा याकोब र थेदियस; सिमोन कनानी र यहूदा इस्करियोत, जसले उहाँलाई धोका दियो। यी बाह्र जनालाई येशूले यस्ता अधिकार दिएर पठाउनुभयो: “गैरयहूदीहरूको बीचमा नजाओ, र सामरीहरूका सहरहरूमा नपस। बरु इस्राएलका हराएका भेडाहरूकहाँ जाओ। तिमीहरू गएर यो समाचार प्रचार गर: ‘स्वर्गको राज्य नजिक आएको छ।’ रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवित बनाओ, कुष्‍ठरोगीहरूलाई निको बनाओ; भूतआत्माहरू धपाओ। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ। “आफूसित पटुकामा सुन, चाँदी अथवा तामाको सिक्‍का नलैजाओ। यात्राका लागि झोला अथवा दुईसरो लुगा, जुत्ता अथवा लहुरो नबोक; किनकि खेताला आफ्नो ज्यालाको योग्य हुन्छ। तिमीहरू जुन सहर अथवा गाउँमा जान्छौ, त्यस ठाउँमा को योग्यको छ, त्यस व्यक्तिलाई खोज; अनि तिमीहरूले त्यो ठाउँ नछोडेसम्म त्यसकै घरमा अतिथीको रूपमा बस। तिमीहरू त्यस घरमा पस्दा, त्यसलाई अभिवादन गर। यदि त्यो घर योग्यको छ भने तिमीहरूको शान्ति त्यस घरमा रहोस्; यदि छैन भने तिमीहरूको शान्ति तिमीहरूकहाँ फर्किआओस्। यदि कसैले तिमीहरूलाई स्वागत गरेन भने अथवा तिमीहरूको कुरा सुन्दैन भने तिमीहरूले त्यस घर अथवा सहरलाई छोडेर जाँदा तिमीहरूका पैतालाका धुलो टक्टक्याइदेओ। म तिमीहरूलाई साँच्‍चै भन्दछु, न्यायको दिनमा त्यस सहरको भन्दा त सदोम र गमोराको अवस्था सहन सक्ने हुनेछ। “म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेडाहरूझैँ पठाउँदैछु। यसकारण सर्पझैँ चतुर र ढुकुरझैँ सोझो होओ। मानिसहरूदेखि होसियार बस, तिनीहरूले तिमीहरूलाई स्थानीय सभाहरूमा सुम्पिदिनेछन्, र तिनीहरूका सभाघरहरूमा कोर्रा लगाउनेछन्। मेरो कारणले गर्दा तिमीहरू राज्यपालहरू र राजाहरूका अगाडि लगिनेछौ, र तिमीहरू गैरयहूदीहरूका अगि मेरा साक्षी हुनेछौ। तर जब तिनीहरूले तिमीहरूलाई पक्रनेछन्, तिमीहरूले के बोल्नुपर्ने वा कसरी बोल्नुपर्छ भनी फिक्री नगर। त्यसै बेला तिमीहरूले के भन्‍नुपर्ने हो, सो दिइनेछ। किनकि त्यो तिमीहरू बोलेका हुनेछैनौ, तर तिमीहरूका पिताको आत्मा नै तिमीहरूद्वारा बोल्नुहुनेछ। “भाइले भाइलाई, बुबाले आफ्नो छोराछोरीलाई मृत्युका निम्ति धोका दिनेछन्; छोराछोरीहरू आफ्ना आमाबुबाको विरुद्धमा उठ्नेछन्, र तिनीहरूलाई मार्न लाउनेछन्। मेरो कारण तिमीहरूलाई सबै मानिसहरूले घृणा गर्नेछन्, तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसको उद्धार हुनेछ। जब तिमीहरू एक ठाउँमा सताइनेछौ, तब अर्को ठाउँमा भाग। म साँचो भन्दछु, मानिसको पुत्र आउनुभन्दा अगि तिमीहरूले इस्राएलका सहरहरू पनि घुमिसकेका हुनेछैनौ।

शेयर गर्नुहोस्
मत्ती 10 पढ्नुहोस्

मत्ती 10:1-23 पवित्र बाइबल (NERV)

येशूले आफ्ना बाह्र जना चेलाहरूलाई बोलाउनु भयो। उहाँले दुष्टात्माहरूलाई धपाउने सामर्थ्य तिनीहरूलाई दिनुभयो। उहाँले हरेक प्रकारको रोग र बिमारहरू निको गर्न सक्ने सामर्थ्य तिनीहरूलाई दिनुभयो। ती बाह्र प्रेरितहरूको नाउँ यस प्रकार छ: शिमोन (जसलाई पत्रुस पनि भनिन्छ), अनि उसको दाज्यू अन्द्रियास, जब्दीको छोरो याकूब, अनि उसको भाइ यूहन्ना, फिलिप, बारथोलोमाइ, थोमा, महसूल उठाउने मत्ती, अल्फयसको छोरो याकूब, थेदियस, शिमोन कनानी, र यहूदा इस्कारयोत (यो त्यही मानिस थियो जसले येशूलाई विश्वासघात गर्यो)। येशूले यी बाह्रजना प्रेरितहरूलाई आज्ञा दिनुभयो। त्यसपछि उहाँले तिनीहरूलाई राज्यको विषयमा प्रचार गर्न भनी पठाउनुभयो। येशूले भन्नुभयो, “गैर यहूदीहरूकहाँ नजाऊ। सामरीहरूका शहरहरूमा पनि नजाऊ। बरू इस्राएली मानिसहरूकहाँ जाऊ। तिनीहरू हराएका भेंडा़हरू झैं छन्। जब तिमीहरू जान्दछौ, ‘स्वर्गको राज्य आउनै लागेका छ भनी प्रचार गर।’ रोगीहरूलाई निको पार, मरेकाहरूलाई जिवनमा ल्याऊ। कुष्ट रोगीहरूको उपचार गर। मानिसहरूबाट भूत धपाऊ। म तिमीहरूलाई सित्तैंमा यी शक्तिहरू दिन्छु। यसर्थ सित्तैंमा तिनीहरूलाई सघाऊ। तिमी आफ्ना साथमा पैसा सुन, चाँदी र तामा नलैजाऊ। झोला समेत नबोक यात्राका निम्ति लाउने लुगाफाटा वा जुत्ता नलैजाऊ। हिँड्नलाई लौरो समेत नबोक। एक कामदारलाई उसले चाहेका सबै चीजहरूको बन्दोबस्त हुनुपर्छ। “जव तिमीहरू कुनै गाउँ वा शहरतिर जान्छौ त्यहाँ कुनै न कुनै योग्य मानिसलाई भेट् अनि स्थान नछाडे सम्म उसको घरमा बस। तिमी घरभित्र पस्ने बित्तीकै त्यसलाई भन। ‘तपाईंलाई शान्ति होस्।’ घरभित्र भएका मानिसहरूले तिनीहरूलाई स्वागत जनाए भने तिनीहरू तिम्रो शान्तिको कामना ग्रहण गर्न योग्यका छन्। यदि तिनीहरूले स्वागत नजनाए तिमीहरूको शान्तिको कामना फिर्ता लेऊ किनभने तिनीहरू तिमीहरूको शान्तिको कामनाका योग्य छैनन्। यदि कुनै घर वा शहरले तिमीहरूलाई स्वागत नगरे अथवा तिमीहरूको कुरा नसुने त्यो ठाउँ छोड्दा गोडाको धुलोसम्म टक्टकाउनु। तिमीहरूलाई म साँच्चो भन्दछु। न्यायको दिनमा तिनीहरूको अवस्था सोदोम र गमोराको भन्दा नराम्रो हुनेछ। “सुन! म तिमीहरूलाई ब्वाँसोका बीचमा भेंडा़झैं गरी पठाउँछु। यसकारण सर्पझैं चनाखो बन। अनि ढुकुरझैं सोझो बन। सबै मानिसहरूदेखि सर्तक बन। तिनीहरूले तिमीहरूलाई पक्रिने छन् अनि अदालतमा पुर्याउनेछन्। तिनीहरूले आफ्नो सभाघरहरूमा लगेर तिमीहरूलाई कोर्रा लाउनेछन्। तिनीहरूले तिमीहरूलाई राज्यपाल अनि राजाहरूको अघि लानेछन्। मेरो कारणले गर्दा तिनीहरूले यसो गर्नैछन्। तिमीहरू ती हाकिम अनि राजाहरू र गैर-यहूदीहरूको समक्ष मेरो बारेमा भन्नेछौ। जब तिमीहरू पक्राउ पर्ने छौ के बोल्नु पर्ने र कसरी बोल्नु पर्ने भन्ने बारेमा चिन्तित नबन। त्यसबेलामा तिमीहरूले भन्नु पर्ने कुराहरू तिमीहरूलाई बताइनेछ। वास्तवमा तिमीहरू बोल्नेछैनौ परमपिताको आत्मा आफैं तिमीहरूबाट बोल्नुहुनेछ। “दाज्यू-भाइहरू आफ्नै दाज्यू-भाइहरूको विरुद्द हुनेछन् तिनीहरू एकले अर्कालाई मार्न लाउनेछन्। बाबुहरूले आफ्नै छोराहरूलाई मार्न लाउनेछन्। छोराछोरीहरू आमाबाबुहरूको विरूद्ध उठ्नेछन्, र तिनीहरूलाई मार्ने षड्‌यन्त्र गर्नेछन्। सबै मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन् किनभने तिमीहरूले मलाई पछ्याउँछौ। तर जसले आखिरसम्म सहन्छ उसको उद्धार हुनेछ। जब एउटा शहरबाट तिमीहरू खेदिनेछौ तब अर्कौ शहरमा जाऊ। म तिमीहरूसित साँच्चो भन्दछु। मानिसको पुत्र आउन अघि नै तिनीहरू इस्राएलको सबै शहरहरू भएर गइ सकेको हुनेछैनौ।

शेयर गर्नुहोस्
मत्ती 10 पढ्नुहोस्

मत्ती 10:1-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशूले आफ्‍ना बाह्र चेलाहरूलाई बोलाएर भेला गराउनुभयो अनि तिनीहरूलाई भूतहरू निकाल्‍ने र सबै किसिमका रोगी-बिरामीहरूलाई निको पार्ने अधिकार दिनुभयो। यी बाह्र प्रेरितहरू यिनै हुन्– पहिलोचाहिँ पत्रुस भनिने सिमोन अनि उनका भाइ अन्‍द्रियास, जब्‍दियाका छोरा याकूब र उनका भाइ यूहन्‍ना, फिलिप र बारथोलोमाइ, थोमा र कर उठाउने मत्ती, अल्‍फयसको छोरा याकूब, थेदियस र देशभक्त दलका सिमोन अनि येशूलाई पक्राइदिने यहूदा इस्‍करियोत। येशूले ती बाह्र जनालाई यसो भनेर पठाउनुभयो, “तिमीहरू अरू जातिका मानिसहरूकहाँ र सामरीहरूका सहरहरूमा नजाओ। तर हराएका भेडाहरूजस्‍ता इस्राएलीहरूकहाँ जाओ। मानिसहरूलाई ‘परमेश्‍वरको राज्‍य आइसक्‍न लागेको छ’ भनेर सुनाओ। बिरामीहरूलाई निको पार, मरेकालाई बिउँताओ, कुष्ठरोगीलाई शुद्ध पार र भूतहरू निकाल। तिमीहरूले सित्तैंमा पायौ, सित्तैंमा देओ। सुन, चाँदी वा तामाको एक पैसा पनि नबोक्‍नू। परदेशको लागि झोला, फाल्‍तु लुगा, फाल्‍तु जुत्ता र टेक्‍ने लौरोसमेत नबोक्‍नू किनभने खेतालालाई खाँचो परेको कुरा पाउनु नै पर्छ। “तिमीहरू गाउँ-सहरमा जाँदा स्‍वागत गर्ने मानिसलाई खोज अनि त्‍यस गाउँबाट बिदा नहोउञ्‍जेल त्‍यसैकहाँ बस। उसको घरमा पस्‍दा ‘तपाईंलाई शान्‍ति होस्’ भन्‍नू। त्‍यस घरानाले तिमीहरूको शान्‍ति लिन लायकको रहेछ भने त्‍यहाँ शान्‍ति रहनेछ। तर तिनीहरू लायकका रहेनछन् भने शान्‍ति तिमीहरूकहाँ नै फर्केर आउनेछ। कुनै घरमा अथवा गाउँ-सहरमा मानिसहरूले तिमीहरू गएको मन पराएनन् भने या तिमीहरूका कुरा नै सुन्‍न मानेनन् भने त्‍यो ठाउँ नै छोडेर हिँडिहाल्‍नू। ती मानिसहरूलाई परमेश्‍वरले गर्नुहुने न्‍यायको चेतावनी दिन तिमीहरूको पैतालामा लागेको धुलो त्‍यहीँ टक्टक्‍याएर जाओ। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, न्‍यायको दिनमा परमेश्‍वरले त्‍यस सहरका मानिसहरूलाई भन्दा त बरु सदोम र गमोरा सहरका मानिसहरूलाई बढी सहनुहुनेछ। “हेर, भेडाहरूलाई ब्‍वाँसाहरूको बीचमा पठाएजस्‍तै म तिमीहरूलाई मानिसहरूको बीचमा पठाउँदै छु। त्‍यसकारण तिमीहरू सर्पजस्‍तै बाठो र ढुकुरजस्‍तै सुधो हुनुपर्छ। मानिसहरूदेखि होशियार भएर बस किनभने तिनीहरूले तिमीहरूलाई पक्रेर अड्डा-अदालतमा पुर्‍याउनेछन् अनि सभाघरहरूमा लगेर कोर्रा लाउनेछन्। मेरो कारणले तिनीहरूले तिमीहरूलाई बडा-हाकिम र राजाहरूका अगाडि उभ्‍याउनेछन्। त्‍यति बेला तिमीहरूले तिनीहरूलाई र अरू जातिका मानिसहरूलाई मेरो बारेमा साक्षी दिनुपर्नेछ। तिमीहरूलाई पक्रेर लाने बेलामा के भन्‍ने र कसरी बोल्‍ने भनेर सुर्ता नगर। भन्‍नुपर्ने कुरा तिमीहरूले त्‍यही समयमा पाउनेछौ किनभने त्‍यति बेला तिमीहरूले आफ्‍नै तर्फबाट बोल्‍नेछैनौ, परमेश्‍वर पिताको आत्‍मा तिमीहरूद्वारा बोल्‍नुहुनेछ। “मानिसहरूले आफ्‍नै दाजुभाइहरूलाई मार्न सुम्‍पिदिनेछन्। बुबाले छोरा-छोरीलाई र छोरा-छोरीले आमा-बुबालाई विरोध गरेर मार्न लाउनेछन्। मेरै कारणले तिमीहरूलाई सबैले घृणा गर्नेछन्। तर आखिरसम्‍म स्‍थिर रहनेहरूचाहिँ बचाइनेछन्। मानिसहरूले तिमीहरूलाई एउटा गाउँमा दु:ख दिए भने अर्को गाउँमा भागेर जाओ। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, मानव पुत्र आउनुभन्दा अघि तिमीहरूले इस्राएलका सबै गाउँ-सहरमा काम भ्‍याइसकेका हुनेछैनौ।

शेयर गर्नुहोस्
मत्ती 10 पढ्नुहोस्