लूका 24:18-27

लूका 24:18-27 NCV

तिनीहरूमध्येका क्लेओपास नाम भएका एक जनाले उहाँलाई सोधे, “के तपाईं यरूशलेममा आउने एक मात्र आगन्तुक हुनुहुन्छ, जसलाई यी दिनहरूमा त्यहाँ के घटनाहरू भए भन्‍ने थाहा छैन?” उहाँले सोध्नुभयो, “के कुरा?” तिनीहरूले जवाफ दिए, “नासरतको येशूको विषयमा, उहाँ एक अगमवक्ता हुनुहुन्थ्यो। अनि परमेश्‍वर र सबै मानिसहरूका सामु वचन र कर्ममा शक्तिमान् हुनुहुन्थ्यो। मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्युदण्डको निम्ति सुम्पिदिए। अनि तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, तर हामीले त इस्राएलको राज्य छुटकारा दिनुहुने उहाँ नै हुनुहुन्छ भन्‍ने आशा गरेका थियौँ। यी सबै कुराहरू छोडेर यी घटनाहरू भएको आज तीन दिन भयो। त्यसपछि पनि हामीहरूमध्येका कोही स्त्रीहरूले हामीलाई छक्‍कै पारे। तिनीहरू आज एकाबिहानै चिहानमा गए, तर उहाँको शरीर भेट्टाएनन्। तिनीहरू हामीकहाँ आएर तिनीहरूले उहाँ जीवित हुनुहुन्छ भन्‍ने स्वर्गदूतहरूको एउटा दर्शन देखेको कुरा सुनाए। त्यसपछि हाम्रा साथीहरूमध्ये कोही चिहानमा गए। अनि ती स्त्रीहरूले भनेजस्तै नै भेट्टाए, तर तिनीहरूले उहाँलाई देखेनन्।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू कस्ता अबुझ रहेछौ, र अगमवक्ताहरूले बोलेका सबै कुरा विश्‍वास गर्न तिमीहरूका हृदय कति सुस्त रहेछ! के ख्रीष्‍टले यी सबै कष्‍टहरू भोग्न र त्यसपछि आफ्नो महिमामा प्रवेश गर्नुपर्ने आवश्यक थिएन र?” अनि मोशा र अगमवक्ताहरूबाट सुरु गरेर उहाँले सम्पूर्ण धर्मशास्त्रमा आफ्नो विषयमा लेखिएका सबै कुराहरूको अर्थ तिनीहरूलाई व्याख्या गरिदिनुभयो।

लूका 24 पढ्नुहोस्