लूका 24:18-27
लूका 24:18-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ती दुईमध्ये क्लेओपासले उहाँलाई जवाफ दिए, “यरूशलेम घुमफिर गरी आउने भएर पनि हिजोआज त्यहाँ के घटिरहेछ तपाईंलाई थाहा छैन?” उहाँले तिनीहरूलाई सोध्नुभयो, “कुन कुरा?” तिनीहरूले जवाफ दिए, “येशू नासरीको बारेमा, उहाँ एक जना अगमवक्ता हुनुहुन्थ्यो, र परमेश्वर र सबै मानिसहरूका सामुन्ने काम र वचनमा शक्तिशाली हुनुहुन्थ्यो। तर मुख्य पूजाहारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्युदण्डको निम्ति सुम्पिदिए, र उहाँलाई क्रूसमा टाँगे। इस्राएलको उद्धार गर्ने उहाँ नै हुनुहुन्छ भन्ने हामीले चाहिँ आशा गरेका थियौं। यी सब कुरा छोड़ेर, यो घटना घटेको आज तेस्रो दिन हो। यसबाहेक हामी मध्येका कोही-कोही स्त्रीहरूले हामीलाई चकित बनाएका छन्। तिनीहरू आज बिहान सखारै चिहानमा गए, र येशूको शरीर भेट्टाएनन्। तिनीहरूले आएर हामीहरूलाई सुनाए, ‘हामीले स्वर्गदूतहरूलाई देख्यौं, जसले येशू जीवित हुनुहुन्छ भने।’ हामीहरूमध्येका कोही-कोही चिहानमा गए, र ती स्त्रीहरूले जे भनेका थिए, त्यस्तै भेट्टाए, तर उहाँलाई चाहिँ देखेनन्।” उहाँले तिनीहरूलाई भन्नुभयो, “ए अबूझ मानिस हो, तिमीहरूका हृदय यति सुस्त भएको छ, कि अगमवक्ताहरूले भनेका कुराहरू विश्वास गर्दैनौ! के ख्रीष्टले यी कष्टहरू भोग्नु र आफ्नो महिमामा प्रवेश गर्नु आवश्यक थिएन र?” तब मोशा र सबै अगमवक्ताहरूबाट सुरु गरेर उहाँले धर्मशास्त्रमा आफ्नो विषयमा लेखिएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनुभयो।
लूका 24:18-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूमध्येका क्लेओपास नाम भएका एक जनाले उहाँलाई सोधे, “के तपाईं यरूशलेममा आउने एक मात्र आगन्तुक हुनुहुन्छ, जसलाई यी दिनहरूमा त्यहाँ के घटनाहरू भए भन्ने थाहा छैन?” उहाँले सोध्नुभयो, “के कुरा?” तिनीहरूले जवाफ दिए, “नासरतको येशूको विषयमा, उहाँ एक अगमवक्ता हुनुहुन्थ्यो। अनि परमेश्वर र सबै मानिसहरूका सामु वचन र कर्ममा शक्तिमान् हुनुहुन्थ्यो। मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्युदण्डको निम्ति सुम्पिदिए। अनि तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, तर हामीले त इस्राएलको राज्य छुटकारा दिनुहुने उहाँ नै हुनुहुन्छ भन्ने आशा गरेका थियौँ। यी सबै कुराहरू छोडेर यी घटनाहरू भएको आज तीन दिन भयो। त्यसपछि पनि हामीहरूमध्येका कोही स्त्रीहरूले हामीलाई छक्कै पारे। तिनीहरू आज एकाबिहानै चिहानमा गए, तर उहाँको शरीर भेट्टाएनन्। तिनीहरू हामीकहाँ आएर तिनीहरूले उहाँ जीवित हुनुहुन्छ भन्ने स्वर्गदूतहरूको एउटा दर्शन देखेको कुरा सुनाए। त्यसपछि हाम्रा साथीहरूमध्ये कोही चिहानमा गए। अनि ती स्त्रीहरूले भनेजस्तै नै भेट्टाए, तर तिनीहरूले उहाँलाई देखेनन्।” उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू कस्ता अबुझ रहेछौ, र अगमवक्ताहरूले बोलेका सबै कुरा विश्वास गर्न तिमीहरूका हृदय कति सुस्त रहेछ! के ख्रीष्टले यी सबै कष्टहरू भोग्न र त्यसपछि आफ्नो महिमामा प्रवेश गर्नुपर्ने आवश्यक थिएन र?” अनि मोशा र अगमवक्ताहरूबाट सुरु गरेर उहाँले सम्पूर्ण धर्मशास्त्रमा आफ्नो विषयमा लेखिएका सबै कुराहरूको अर्थ तिनीहरूलाई व्याख्या गरिदिनुभयो।
लूका 24:18-27 पवित्र बाइबल (NERV)
तिनीहरू मध्ये एकजना क्लेओपास नाउँ भएकोले भने, “यरूशलेमको एकजना मानिस यरूशलेममा घटेको घट्नाहरू बारे नजान्ने मानिस सायद तिमी मात्र हौ कि?” येशूले तिनहरूलाई भन्नुभयो, “कस्तो घट्नाहरू?” तिनीहरूले उहाँलाई भने, “यो नासरतको एकजना मानिस येशूको विषयको कुरो हो। उहाँले परमेश्वर अनि मानिसहरूको अघि कर्म अनि वचनले देखाउनु भयो कि उहाँ एकजना महान अगमवक्ता हुनु हुन्थ्यो। तर हाम्रो मुख्य पूजाहारीहरू अनि नेताहरूले उहाँलाई मृत्यु दण्ड दिनु औ क्रूसमा टगाउँन सुम्पिए। हामीले आशा गरेका थियौ कि उहाँ नै एक जना हुनुहुन्थ्यो जसले इस्राएललाई मुक्त गराउँनु हुँदै थियो। तर यी सब घट्नाहरू घटे। “यी सब घट्ना घटेको आज तेस्रो दिन हो। तब आज हाम्रा केही स्त्रीहरूले हामीलाई आश्चर्यचकित कुराहरू भने। बिहानै उठेर ती स्त्रीहरू येशूलाई राखिएको चिहानमा गएका थिए। तर तिनीहरूले उहाँको शरीर त्यहाँ पाएनन्। तिनीहरू फर्के अनि तिनीहरूले दुइजना स्वर्गदूतहरूको दर्शन पाएको कुरा बताए। स्वर्गदूतहरूले भने कि येशू जीवित हुनुहुन्छ! त्यसछि हाम्रा केही मानिसहरू पनि चिहानमा गए। ती स्त्रीहरूले भने झैं चिहान खाली थियो। तिनीहरू कसैले येशूलाई देखेनन्।” तब येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मूर्ख हौ अनि अगमवक्ताहरूले भनेका प्रत्येक कुराहरू विश्वास गर्न ढिलो गर्यौ। ती अगमवक्ताहरूले भनी सकेका थिए कि ख्रीष्टलाई उहाँको महिमा भित्र पस्नु यी सब कुराहरू भोग्नु आवश्यक थियो।” त्यसपछि येशूले धर्मशास्त्रमा मोशा देखि लिएर अन्य जम्मै अगमवक्ताहरूद्वारा जे लेखिएको थियो प्रत्येक कुरो बताउनु शुरू गर्नु भयो। धर्मशास्त्रहरूमा उहाँ आफ्नो विषयमा जे लेखिएको थियो उहाँले बताउनु भयो।
लूका 24:18-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ती दुईमध्ये क्लेओपास भन्नेले उहाँलाई सोधे, “बाहिरबाट आउने परदेशीहरूमा तपाईंलाई मात्र यो कुरा थाहा रहेनछ। हिजोआज यरूशलेममा भएका कुरा के तपाईंले सुन्नुभएको छैन?” येशूले सोध्नुभयो, “कस्तो कुरा?” तिनीहरूले भने, “नासरतको येशूको बारेमा भएको कुरा। उहाँ परमेश्वर र मानिसका सामुन्ने शक्तिशाली काम गर्ने र गहकिलो शिक्षा दिने अगमवक्ता हुनुहुन्थ्यो। तर हाम्रा मुख्य पूजाहारी र नेताहरूले उहाँलाई मृत्युदण्ड दिएर क्रूसमा झुण्ड्याउन लगाए। उहाँले नै इस्राएलीहरूलाई छुट्कारा दिनुहुन्छ भनी हामीले आशा गरेका थियौं। तर उहाँलाई क्रूसमा झुण्ड्याइएको पनि आज तीन दिन भइसक्यो। फेरि हाम्रा कति जना दिदी-बहिनीहरूले भनेका कुरा सुनेर हामी त छक्कै पर्यौं। तिनीहरू बिहानै चिहानमा गए, तर त्यहाँ उनीहरूले प्रभुको लाश भेट्टाएनन् अनि तिनीहरूकहाँ स्वर्गदूत देखा परेर ‘येशू त जिउँदै हुनुहुन्छ’ भने रे। यो सुनेर हाम्रा कोही-कोही साथीहरू पनि चिहानमा हेर्न गए, उनीहरूले पनि ती स्त्रीहरूले भनेजस्तै पाए तर उहाँलाई चाहिँ देखेनन्।” येशूले भन्नुभयो, “तिमीहरू त कस्ता मानिसहरू रहेछौ। अगमवक्ताहरूले भनेका कुरामा विश्वास गर्नसमेत तिमीहरूलाई कस्तो गाह्रो भइरहेको छ। आदर र महिमा पाउनुभन्दा अघि ख्रीष्टले दु:ख भोग्नुपर्दैनथ्यो र?” येशूले मोशादेखि लिएर सबै अगमवक्ताहरूले धर्मशास्त्रमा उहाँको बारेमा लेखेका कुरा तिनीहरूलाई बुझाइदिनुभयो।