यूहन्ना 4:7-15
यूहन्ना 4:7-15 NCV
जब एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आई, तब येशूले त्यसलाई भन्नुभयो, “मलाई पानी पिउन दिन्छ्यौ कि?” (उहाँका चेलाहरू खानेकुरा किन्न सहरमा गएका थिए।) त्यस सामरी स्त्रीले उहाँलाई भनी, “तपाईं यहूदी हुनुहुन्छ, र म एक सामरी स्त्री हुँ। तपाईंले कसरी मेरो हातबाट पानी पिउनुहुन्छ?” (किनकि यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्।) येशूले त्यसलाई भन्नुभयो, “यदि तिमीले परमेश्वरका वरदानलाई र तिमीसँग पानी माग्ने व्यक्ति को हुन् भनी चिनेकी भए, तिमीले उनीसँग पो माग्ने थियौ, र उनले तिमीलाई जीवित पानी दिनेथिए।” त्यस स्त्रीले भनी, “हजुर, तपाईंसँग त पानी उघाउने भाँडो केही पनि छैन। अनि इनार गहिरो छ; तब तपाईंले त्यो जीवित पानी कहाँबाट ल्याउनुहुन्छ? के तपाईं हाम्रा पुर्खा याकोबभन्दा महान् हुनुहुन्छ, जसले हामीलाई यो इनार दिए, र उनी आफैँले पनि यसै इनारबाट पिए। उनका सन्तान र उनका गाईबस्तुले पनि यही इनारको पानी पिए?” येशूले जवाफ दिनुभयो, “यो पानी पिउने हरेक फेरि तिर्खाउनेछ। तर जसले मैले दिने पानी पिउँछ, त्यो कहिल्यै तिर्खाउनेछैन। वास्तवमा जुन पानी म त्यसलाई दिन्छु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मुहान बन्नेछ।” त्यस स्त्रीले उहाँलाई भनी, “हजुर, मलाई त्यही पानी दिनुहोस्, र म नतिर्खाऊँ। अनि यहाँ पानी लिन आइरहन नपरोस्।”



