यूहन्ना 4:7-15
यूहन्ना 4:7-15 NNRV
एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आई। येशूले त्यसलाई भन्नुभयो, “मलाई पानी पिउन देऊ।” उहाँका चेलाहरू सहरमा खानेकुरा किन्न गएका थिए। तब सामरी स्त्रीले उहाँलाई भनी, “तपाईं यहूदी भएर म सामरी स्त्रीको हातबाट कसरी पानी पिउनुहुन्छ?” (यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्।) येशूले त्यसलाई भन्नुभयो, “तिमीले परमेश्वरको वरदान र तिमीसँग पानी माग्ने व्यक्तिलाई चिनेकी भए तिमीले उसलाई माग्नेथियौ, र उसले तिमीलाई जिउँदो पानी दिनेथियो।” त्यस स्त्रीले उहाँलाई भनी, “हजूर, तपाईंसित उघाउने भाँड़ो छैन, र इनार पनि गहिरो छ। तब तपाईंले कहाँबाट त्यो जिउँदो पानी ल्याउनुहुन्छ? के तपाईं हाम्रा पुर्खा याकूबभन्दा ठूला हुनुहुन्छ? उनले हामीलाई यो इनार बनाइदिए, र उनी आफैले, उनका सन्तान र उनका गाईबस्तुले यही इनारको पानी पिए।” येशूले त्यसलाई भन्नुभयो, “यो पानी पिउने प्रत्येक फेरि तिर्खाउनेछ, तर जस-जसले मैले दिने पानी पिउँछ त्यो कहिल्यै तिर्खाउनेछैन। जुन पानी म त्यसलाई दिनेछु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ!” त्यस स्त्रीले उहाँलाई भनी, “हजूर, मलाई त्यही पानी दिनुहोस्, र म तिर्खाउनेछैनँ, र यहाँ पानी भर्न आइरहनुपर्दैन”।



