यर्मिया 2:1-13

यर्मिया 2:1-13 NCV

याहवेहको वचन मकहाँ आयो: “जा, र यरूशलेमका मानिसहरूले सुन्‍ने गरी घोषणा गर्: “याहवेह यसो भन्‍नुहुन्छ: “ ‘तेरो युवा अवस्थाको भक्ति म सम्झना गर्छु; कसरी तैँले एउटी दुलहीले झैँ मलाई प्रेम गर्थिस्; अनि बिउ नछरिएको भूमिमा, मलाई मरुभूमिमा पछ्याइस्। याहवेहका निम्ति इस्राएल पवित्र थियो; उहाँको फसलको पहिलो फल थियो; इस्राएललाई निल्नेहरू सबै दोषी ठहरिए; अनि तिनीहरूमाथि विपत्ति आइलाग्यो,’ ” याहवेह घोषणा गर्नुहुन्छ। हे याकोबका सन्तान, इस्राएलका सबै वंशहरू हो, याहवेहको वचन सुन। याहवेह यसो भन्‍नुहुन्छ: “तिमीहरूका पितापुर्खाहरूले ममा के दोष भेट्टाए, र तिनीहरू मबाट यति धेरै टाढा भए? तिनीहरू काम नलाग्ने मूर्तिहरूका पछि लागेर तिनीहरू आफैँ काम नलाग्ने भए। तिनीहरूले यसो भनी सोधेनन्, ‘याहवेह कहाँ हुनुहुन्छ? जसले हामीलाई इजिप्टबाट ल्याउनुभयो; र हामीलाई उजाडस्थानबाट मरुभूमिको ठाउँ र खाडलबाट, सुक्खा भूमि र घोर अन्धकार ठाउँबाट, कुनै मानिस नहिँडेको र कोही नबसेको देशबाट डोर्‍याउनुभयो?’ मैले तिमीहरूलाई मलिलो देशमा त्यसका फलहरू र असल उब्जनी खानका निम्ति ल्याएँ। तर तिमीहरू आयौ र मेरो देशलाई अशुद्ध पार्‍यौ; अनि मेरो उत्तराधिकारलाई घृणित बनायौ। पुजारीहरूले, ‘याहवेह कहाँ हुनुहुन्छ?’ भनी सोधेनन्; व्यवस्थाका काम गर्नेहरूले मलाई चिनेनन्; अगुवाहरूले मेरो विरुद्धमा विद्रोह गरे। काम नलाग्ने मूर्तिहरूका पछि लागेर, अगमवक्ताहरूले बाल-देवताको नाममा अगमवाणी गरे। “यसकारण म फेरि तिमीहरूको विरुद्धमा मुद्दा लगाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। “अनि म तिमीहरू, तिमीहरूका छोराछोरी र नातिनातिनाहरूका विरुद्धमा मुद्दा लगाउनेछु। कित्तीमको किनारपारि गएर हेर्, केदार मरुभूमिमा पठा, र ध्यानपूर्वक हेर्; त्यहाँ यस्तो कहिल्यै भएको छ कि छैन, सो पत्ता लगा: के कुनै राष्ट्रले आफ्ना देवी-देवताहरू बदली गरेका छन्? (यद्यपि तिनीहरू देवता नै होइनन्।) तर मेरो आफ्नै जातिले आफ्ना महिमित परमेश्‍वरलाई व्यर्थका मूर्तिहरूसित साटेका छन्। हे आकाशमण्डल हो, तिमीहरू यस कुरामा चकित होओ; अनि भयानक डरले थरथर काम,” याहवेह घोषणा गर्नुहुन्छ। “मेरा मानिसहरूले दुई वटा पापहरू गरेका छन्: तिनीहरूले मलाई त्यागेका छन्, जिउँदो पानीको मूललाई; अनि तिनीहरूले पानी नअडिने आफ्नै कुवाहरू खनेका छन्।

यर्मिया 2 पढ्नुहोस्