यर्मिया 2:1-13

यर्मिया 2:1-13 सरल नेपाली

परमप्रभुले मलाई भन्‍नुभयो, “तैँले यो सन्‍देश यरूशलेममा भएका प्रत्‍येकलाई सुना: ‘ए इस्राएल, मलाई याद छ कि तेरो जवानी अवस्‍थामा तँ कति विश्‍वासयोग्‍य थिइस्, दुलहीले जस्‍तो तैँले कसरी मलाई प्रेम गर्थिस्।’ मरुभूमिमा, केही नउम्रने उजाड-स्‍थानमा तैँले मलाई पछ्याएर हिंड्थिस्। इस्राएल, तँ मेरो निम्‍ति पवित्र थिइस् र मलाई चढाएको कटनीको अगौटे फल थिइस्। तँलाई हानि गर्ने प्रत्‍येकलाई मैले कष्‍ट र विपत्ति पठाइदिएँ। म परमप्रभु बोलेको छु’।” हे याकूबका सन्‍तान, इस्राएलका सबै कुलहरू हो, परमप्रभुको सन्‍देश सुन। परमप्रभु भन्‍नुहुन्‍छ, “तेरा पुर्खाहरूले मेरा विरुद्धमा के दोष पाए? के कुरोले गर्दा तिनीहरू मबाट टाढा भए? तिनीहरूले बेकामका मूर्तिहरू पुजे र आफैं पनि बेकम्‍मा भए। मैले तिनीहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याएँ। उजाड-भूमिमा, मरुभूमि र बालुवाका ढिस्‍कै-ढिस्‍का भएको, कसैले बास नगरेको, खुट्टाले पनि नटेकेको सुख्‍खा र जोखिमले भरिएको देशका बीचबाट मैले तिनीहरूलाई डोर्‍याएर ल्‍याएँ र पनि तिनीहरूले मेरो केही वास्‍ता गरेनन्। मैले तिनीहरूलाई एउटा मलिलो भूमिमा त्‍यसका अन्‍नबाली र अरू असल-असल कुराहरू खाऊन् भनी ल्‍याएँ। तर त्‍यसका सट्टामा तिनीहरूले मेरो भूमिलाई बिटुलो पारे र मैले तिनीहरूलाई दिएको देश अशुद्ध बनाए। पूजाहारीहरूले ‘परमप्रभु कहाँ हुनुहुन्‍छ’ भनेर पनि सोधेनन्? व्‍यवस्‍था सिकाउनेहरू आफैंले पनि मलाई चिनेनन्। शासकहरूले पनि मसित विद्रोह गरे। अगमवक्ताहरूले चाहिँ बाल-देवताका नाममा अगमवाणी बोले र काम नलाग्‍ने मूर्तिहरूको पूजा गरे। यसकारण, “म परमप्रभु मेरा प्रजाको विरुद्धमा आफ्‍नो मुद्दा फेरि सुनाउँदछु, म तिनीहरूका सन्‍तान-सन्‍तानका विरुद्धमा मुद्दा ल्‍याउनेछु। पश्‍चिमतिर साइप्रस टापुमा हेर्न जाऊन्, पूर्वतिर केदार देशमा कसैलाई खोजी गर्न पठाऊन्, यस्‍तो कुरो अघि कहिल्‍यै पनि भएको देख्‍नेछैनौ। अरू कुनै जातिले आफ्‍ना देवताहरू कहिल्‍यै बदलेका छैनन्, यद्यपि ती देवताहरू साँचा ईश्‍वरहरू होइनन्। तर मेरा प्रजाले मलाई त्‍यस्‍ता देवताहरूसित साटे, तिनीहरूले आफ्‍नो महिमा ती बेकामको देवताहरूसित साटे। यसकारण हे आकाश मण्‍डल, थरथरी होओ, भयभीत होओ, चकित होओ किनभने मेरा प्रजाले दुई वटा पाप गरेका छन्: म जीवन दिने पानीका फोहोराबाट टाढा भएका छन् र आफ्‍नो निम्‍ति चुहुने फुटेको पानी कुण्‍ड बनाएका छन्।

यर्मिया 2 पढ्नुहोस्