त्यस रात याहवेहले गिदोनलाई भन्नुभयो, “उठ्, र त्यस छाउनीको विरुद्धमा तल झर्; किनकि त्यसलाई मैले तेरो हातमा सुम्पिदिन लागेको छु। यदि तँलाई आक्रमण गर्न डर लाग्यो भने तेरो सेवक पूराहसित तल छाउनीमा जा। अनि तिनीहरूले के भनिरहेका छन्, त्यो सुन्। त्यसपछि तँलाई छाउनीमाथि आक्रमण गर्ने साहस मिल्नेछ।” यसकारण तिनी र तिनका सेवक पूराह छाउनीको बाहिरी भागको तलतिर गए। मिद्यानीहरू, अमालेकीहरू र पूर्वका अरू मानिसहरू त्यस बेँसीमा सलहजत्तिकै बाक्लो गरी बसेका थिए। तिनीहरूका ऊँटहरू समुद्र किनारका बालुवाझैँ अनगन्ती थिए। जब गिदोन त्यहाँ आइपुगे, तब एक जना मानिसले आफ्नो साथीलाई एउटा सपना सुनाइरहेको थियो। त्यसले सपना सुनाउँदै भन्यो, “मैले एउटा सपना देखेँ। जौको एउटा गोलो रोटी मिद्यानीहरूको छाउनीभित्र गुड्दै आयो। त्यसले पाललाई यति जोडसित प्रहार गर्यो कि पाल नै पल्टेर भत्कियो।” त्यसको साथीले जवाफ दियो, “यो त इस्राएली योआशको छोरा गिदोनको तरवारबाहेक अरू केही हुन सक्दैन। परमेश्वरले मिद्यानीहरू र सम्पूर्ण छाउनीलाई तिनको हातमा सुम्पिदिनुभएको छ।” त्यो सपना र त्यसको अर्थ सुनेपछि गिदोनले परमेश्वरलाई साष्टाङ्ग दण्डवत् र आराधना गरे। तिनी इस्राएलको छाउनीमा फर्के, र जोडसित आह्वान गरे, “उठ! याहवेहले मिद्यानीहरूका छाउनीलाई तिमीहरूका हातमा दिनुभएको छ।” अनि तिनले ती तीन सय मानिसहरूलाई तीन दलमा बाँडे। तिनले तुरहीहरू र भित्र राँकाहरू भएका रित्ता गाग्राहरू तिनीहरू सबैका हातमा राखिदिए। अनि तिनले तिनीहरूलाई भने, “मतिर ध्यान देओ।” मेरो पछि-पछि लाग। जब म छाउनीको किनारमा पुग्छु, तब मैले गरेझैँ गर। जब म र मसित भएका सबैले आफ्ना तुरही फुक्छौ, तब छाउनीका चारैतिरबाट तिमीहरूका तुरही फुकेर चिच्याउनू, “याहवेहका निम्ति र गिदोनका निम्ति!”
न्यायकर्ता 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: न्यायकर्ता 7:9-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू