न्यायकर्ताहरू 7:9-18

न्यायकर्ताहरू 7:9-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यस रात परमप्रभुले तिनलाई भन्‍नुभयो, “झट्टै तल गएर छाउनीमा आक्रमण गर्, किनभने मैले त्‍यो तेरो हातमा सुम्‍पिदिएको छु। यदि त्‍यसो गर्न तँलाई डर लाग्‍छ भने पहिले तेरो नोकर पूराहसँग तल छाउनीमा जा, र तिनीहरू के भनिरहेका छन्‌ सुन्‌। त्‍यही कुरा सुनेपछि छाउनीमा आक्रमण गर्न तँ प्रोत्‍साहित हुनेछस्‌।” यसकारण तिनी र तिनको नोकर पूराह छाउनीको त्‍यस भागमा गए जहाँ लड़ाइँ गर्ने मानिसहरू बसेका थिए। अब मिद्यानी, अमालेकी र पूर्वका अरू सबै जातिहरू सलहजस्‍तै बाक्‍लै बेँसीमा बसेका थिए। ऊँटहरूको त गन्‍ती नै थिएन। तिनीहरू संख्‍यामा समुद्रका बालुवाका कणसरह थिए। जब गिदोन नजिक आए, एक जना मानिसले आफ्‍नो साथीलाई सपना सुनाइरहेको थियो। त्‍यसले भन्‍यो, “मैले सपनामा जौको एउटा रोटी मिद्यानीहरूको छाउनीमा गुड्‌दै-गुड्‌दै आएको देखें। त्‍यो रोटी पालमा आएर त्‍यसमा यति जोडसित बजारियो कि त्‍यसले पाललाई पल्‍टाइदियो र पाल ढल्‍यो।” त्‍यसको साथीले जवाफ दियो, “साँच्‍ची नै यो त इस्राएली योआशको छोरा गिदोनको तरवार नै हो। परमेश्‍वरले मिद्यान र समस्‍त सेनालाई तिनको हातमा सुम्‍पिदिनुभएको छ।” जब गिदोनले सपनाको कथा र त्‍यसको अर्थ सुने, तब तिनले परमेश्‍वरलाई साष्‍टाङ्ग दण्‍डवत्‌ गरे। त्‍यसपछि तिनी इस्राएलको छाउनीमा फर्किआएर भने, “उठ, परमप्रभुले मिद्यानीहरूको छाउनीलाई तिमीहरूका हातमा सुम्‍पिदिनुभएको छ।” तिनले ती तीन सय जना मानिसहरूलाई तीन दलमा विभक्त गरे, र हरेक मानिसलाई एउटा तुरही, र भित्र राँको भएको एउटा रित्तो गाग्रो दिए। तब तिनले तिनीहरूलाई भने, “मलाई हेर, मेरो पछि लाग। जब म छाउनीको छेउमा पुग्‍छु, तब म जसो गर्छु तिमीहरू पनि त्‍यसै गर। जब म र मेरा मानिसहरूले आफ्‍ना तुरही फुक्‍छौं, तब तिमीहरूले पनि छाउनीका चारैतिर तिमीहरूका तुरही फुक, र कराएर भन, ‘परमप्रभुको निम्‍ति र गिदोनको निम्‍ति’!”

न्यायकर्ताहरू 7:9-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यस रात याहवेहले गिदोनलाई भन्‍नुभयो, “उठ्, र त्यस छाउनीको विरुद्धमा तल झर्; किनकि त्यसलाई मैले तेरो हातमा सुम्पिदिन लागेको छु। यदि तँलाई आक्रमण गर्न डर लाग्यो भने तेरो सेवक पूराहसित तल छाउनीमा जा। अनि तिनीहरूले के भनिरहेका छन्, त्यो सुन्। त्यसपछि तँलाई छाउनीमाथि आक्रमण गर्ने साहस मिल्नेछ।” यसकारण तिनी र तिनका सेवक पूराह छाउनीको बाहिरी भागको तलतिर गए। मिद्यानीहरू, अमालेकीहरू र पूर्वका अरू मानिसहरू त्यस बेँसीमा सलहजत्तिकै बाक्लो गरी बसेका थिए। तिनीहरूका ऊँटहरू समुद्र किनारका बालुवाझैँ अनगन्ती थिए। जब गिदोन त्यहाँ आइपुगे, तब एक जना मानिसले आफ्नो साथीलाई एउटा सपना सुनाइरहेको थियो। त्यसले सपना सुनाउँदै भन्यो, “मैले एउटा सपना देखेँ। जौको एउटा गोलो रोटी मिद्यानीहरूको छाउनीभित्र गुड्दै आयो। त्यसले पाललाई यति जोडसित प्रहार गर्‍यो कि पाल नै पल्टेर भत्कियो।” त्यसको साथीले जवाफ दियो, “यो त इस्राएली योआशको छोरा गिदोनको तरवारबाहेक अरू केही हुन सक्दैन। परमेश्‍वरले मिद्यानीहरू र सम्पूर्ण छाउनीलाई तिनको हातमा सुम्पिदिनुभएको छ।” त्यो सपना र त्यसको अर्थ सुनेपछि गिदोनले परमेश्‍वरलाई साष्‍टाङ्ग दण्डवत् र आराधना गरे। तिनी इस्राएलको छाउनीमा फर्के, र जोडसित आह्वान गरे, “उठ! याहवेहले मिद्यानीहरूका छाउनीलाई तिमीहरूका हातमा दिनुभएको छ।” अनि तिनले ती तीन सय मानिसहरूलाई तीन दलमा बाँडे। तिनले तुरहीहरू र भित्र राँकाहरू भएका रित्ता गाग्राहरू तिनीहरू सबैका हातमा राखिदिए। अनि तिनले तिनीहरूलाई भने, “मतिर ध्यान देओ।” मेरो पछि-पछि लाग। जब म छाउनीको किनारमा पुग्छु, तब मैले गरेझैँ गर। जब म र मसित भएका सबैले आफ्ना तुरही फुक्छौ, तब छाउनीका चारैतिरबाट तिमीहरूका तुरही फुकेर चिच्याउनू, “याहवेहका निम्ति र गिदोनका निम्ति!”

न्यायकर्ताहरू 7:9-18 पवित्र बाइबल (NERV)

राती परमप्रभुले गिदोनसित कुरा गर्नु भयो। परमप्रभुले तिनलाई भन्नुभयो, “उठ्, म तँलाई मिद्यानी सेनालाई पराजित गर्न दिनेछु। तल तिनीहरूको छाउनीमा जा। यदि एक्लै जान तँलाई डर लाग्छ भने, पूरा तेरो सेवकलाई तेरो साथ लैजा। मिद्यानका मानिसहरूको छाउनीमा जा। ती मानिसहरू के भनिरहेछन् सुन्। त्यसपछि तिनीहरू माथि आक्रमण गर्न तँलाई डर लाग्ने छैन।” यसर्थ गिदोन अनि पूरा, तिनको सेवक तल शत्रुको छाउनीको छेउमा गए। मिद्यानका मानिसहरू, अमालेकका मानिसहरू, अनि पूर्वका सबै अन्य मानिसहरू त्यस बेंसीमा छाउनी लाएर बसेका थिए। त्यहाँ यति धेरै मानिसहरू थिए कि तिनीहरू सलहका हूल झैं देखिन्थे। ती मानिसहरू समुद्रको किनारमा बालुवाको कण जस्तै धेरै तिनीहरूसँग ऊँटहरू पनि थिए। गिदोन शत्रुको छाउनीमा आए अनि एकजना मानिसले कुरा गरेको तिनले सुने। त्यो मानिसले उसको साथीलाई उसले देखेको सपनाको कुरा भन्दै थियो। त्यो मानिसले भन्दै थियो, “एउटा जौंका रोटी मिद्यानका मानिसहरूको छाउनीमा पल्टँदै आएको मैले सपनामा देखें। त्यो रोटी यति जोडले ठोक्कियो कि पाल नै पल्टियो अनि समतल भयो।” त्यो मानिसको साथीले सपनाको अर्थ जान्यो। उसले भन्यो, “तिम्रो सपनाको एउटै मात्र अर्थ हुनसक्छ। तिम्रो सपना इस्राएलको त्यस मानिसको बारेमा हो। यो सपना योआशाका छोरा गिदोनको बारेमा हो। यसको मतलब यो हो कि परमेश्वरले गिदोनलाई मिद्यानका सम्पूर्ण सेनालाई पराजित गर्न सहायता गर्नु हुनेछ।” सपनाको बारेमा त्यस मानिसले कुरा गरेको अनि त्यसको मतलब के हो त्यो सुनेपछि, गिदोनले परमेश्वर प्रति शिर झुकाए। त्यसपछि गिदोन इस्राएलका मानिसहरूको छाउनीमा फर्के। गिदोनले मानिसहरूलाई भने, “उठ! परमप्रभुले मिद्यानका मानिसहरू पराजित गर्न हामीलाई सहायता प्रदान गर्नु हुनेछ।” तब गिदोनले ती 300 मानिसहरूलाई तीन समूहमा विभाजन गरे। गिदोनले प्रत्येक व्यक्तिलाई एक-एक वटा तुरही र रित्तो भाँडो दिए। प्रत्येक भाँड भित्र जल्दै गरेको राँको थियो। तब गिदोनले मानिसहरूलाई भने, “मलाई हेर अनि म जसो गर्छु त्यसै गर। शत्रुको छाउनीको किनार तर्फ मेरो अनुशरण गर। जब म छाउनीको किनारमा पुग्छु, म जसो गर्छु ठीक त्यस्तै गर। तिनका मानिसहरूले शत्रुको छाउनीमा घेरा हाले। म अनि मेरो साथका समस्त मानिसहरूले आफ्ना तुरही बजाउने छौ। जब हामी हाम्रा तुरही बजाउँछौं, तिमीहरूले पनि आ-आफ्ना तुरही बजाऊ। त्यसपछि यी शब्दहरूमा कराऊः ‘परमप्रभु अनि गिदोनका निम्ति!’”

न्यायकर्ताहरू 7:9-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यस रात परमप्रभुले गिदोनलाई आज्ञा गर्नुभयो, “उठ् र मिद्यानीहरूको छाउनीमाथि आक्रमण गर्‌। म तँलाई विजय दिनेछु। तर आक्रमण गर्न डर लाग्‍छ भने आफ्‍नो चाकर पूराहसँग तिनीहरूको छाउनीमा जा। तिनीहरूले के भन्‍दै छन्, तैँले सुन्‍नेछस् र तँलाई तिनीहरूमाथि आक्रमण गर्न साहस हुनेछ।” र गिदोन र उनको चाकर पूराह तल शत्रुहरूको छाउनीछेउ गए। बेसीका चारैतिर मिद्यानी, अमालेकी र पूर्वका अरू जातिहरू सलहका बथानसरि बसेका थिए। तिनीहरूका ऊँटहरू समुद्र किनारका बालुवासरि थिए। गिदोन त्‍यहाँ आइपुग्‍दा एक जना मानिसले साथीलाई एउटा सपना भन्‍दैगरेको सुन्‍यो। उसले भन्‍दै थियो, “मैले सपनामा देखें कि जौको एउटा रोटी लड्दै आएर हाम्रो पालमा लाग्‍यो र पाल भत्‍केर भूइँमा ढल्‍यो।” साथीचाहिँले भन्‍यो, “यो त त्‍यो इस्राएली योआशको छोरा गिदोनको तरवार हो। यसको अर्को अर्थ हुनै सक्‍दैन। परमेश्‍वरले मिद्यानीहरू र हाम्रा सारा सेनालाई उसको हातमा पारिदिनुभएको छ।” त्‍यस मानिसको सपना र त्‍यसको अर्थ सुनेपछि गिदोनले घुँडा टेकी परमेश्‍वरलाई दण्‍डवत् गरे। त्‍यसपछि इस्राएलीहरूको छाउनीमा फर्की आएर उनले भने, “उठ, परमेश्‍वरले तिमीहरूलाई मिद्यानीहरूका सेनामाथि विजय दिनुभएको छ!” उनले आफ्‍ना तीन सय मानिसहरूलाई तीन दलमा बाँडे। हरेक मानिसलाई उनले एउटा तुरही र एउटा भित्रपट्टि राँको बलेको गाग्रो दिए, र भने, “जब म शत्रुको छाउनीछेउमा पुग्‍छु, मलाई हेर्नू र म जसो गर्छु, त्‍यसै गर्नू। मेरा दल र मैले तुरही फुक्‍दा तिमीहरूले पनि छाउनीको चारैतिर आफ्‍ना तुरही फुक्‍नू र कराएर यसो भन्‍नू ‘परमप्रभुको निम्‍ति र गिदोनको निम्‍ति!”