न्यायकर्ता 7
7
गिदोनले मिद्यानीहरूलाई परास्त गरेका
1बिहान सबेरै यरूब-बाल (जो, गिदोन हुन्), र तिनका सबै मानिसहरूले हेरोदको पानीको मूलमा छाउनी हाले। मिद्यानको छाउनीचाहिँ तिनीहरूको उत्तरतिर मोरेको डाँडाको छेउको बेँसीमा थियो। 2याहवेहले गिदोनलाई भन्नुभयो: “मिद्यानीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनलाई तँसित अति धेरै मानिसहरू छन्। नत्रता त इस्राएलले मेरो विरुद्ध घमण्ड गर्नेछ, ‘मेरो आफ्नै शक्तिले आफूलाई बचाएको हुँ।’ 3अब मानिसहरूलाई सूचित गर, ‘डरले काँप्नेहरू जो कोही गिलाद डाँडालाई छोडेर फर्किजाऊन्।’ ” यसकारण बाइस हजार जना फर्के, र दश हजारचाहिँ रहे।
4तर याहवेहले गिदोनलाई भन्नुभयो, “मानिसहरू अझ पनि धेरै छन्। तिनीहरूलाई तल पानीमा लैजानू र त्यहाँ म तिनीहरूलाई तेरा निम्ति छान्नेछु। यदि मैले तँलाई ‘योचाहिँ तँसित जानेछ’ भनेर जब म भन्छु, तब त्यो जानेछ; तर यदि मैले ‘योचाहिँ तँसित जानेछैन’ भनेर जब म भन्छु, तब त्योचाहिँ जानेछैन।”
5यसकारण गिदोनले तिनीहरूलाई तल पानीमा लगे। त्यहाँ याहवेहले तिनलाई भन्नुभयो, “जसले कुकुरले झैँ जिब्रोले पानी चाटेर पिउँछ, त्यसलाई घुँडा टेकेर पिउनेबाट अलग्गै राख्।” 6तीन सय जनाले आफ्ना हात मुखमा लगेर पानी चाटेर पिए। बाँकी सबैले आफ्ना घुँडा टेकाएर पानी पिए।
7याहवेहले गिदोनलाई भन्नुभयो: “ती पानी चाट्ने तीन सय जना मानिसद्वारा म तिमीहरूलाई छुटकारा गर्नेछु र मिद्यानीहरूलाई तिमीहरूका हातमा दिनेछु। अरू सबै मानिसहरू आ-आफ्ना घरमा जाऊन्।” 8यसकारण गिदोनले बाँकी इस्राएलीहरूलाई तिनीहरूका पालहरूमा पठाइदिए। तर तीन सय जनालाई चाहिँ राखे, जसले अरूका सामग्री र तुरहीहरू आफ्ना जिम्मामा लिए।
अनि मिद्यानीहरूका छाउनीचाहिँ तिनको मुनि बेँसीमा थियो। 9त्यस रात याहवेहले गिदोनलाई भन्नुभयो, “उठ्, र त्यस छाउनीको विरुद्धमा तल झर्; किनकि त्यसलाई मैले तेरो हातमा सुम्पिदिन लागेको छु। 10यदि तँलाई आक्रमण गर्न डर लाग्यो भने तेरो सेवक पूराहसित तल छाउनीमा जा। 11अनि तिनीहरूले के भनिरहेका छन्, त्यो सुन्। त्यसपछि तँलाई छाउनीमाथि आक्रमण गर्ने साहस मिल्नेछ।” यसकारण तिनी र तिनका सेवक पूराह छाउनीको बाहिरी भागको तलतिर गए। 12मिद्यानीहरू, अमालेकीहरू र पूर्वका अरू मानिसहरू त्यस बेँसीमा सलहजत्तिकै बाक्लो गरी बसेका थिए। तिनीहरूका ऊँटहरू समुद्र किनारका बालुवाझैँ अनगन्ती थिए।
13जब गिदोन त्यहाँ आइपुगे, तब एक जना मानिसले आफ्नो साथीलाई एउटा सपना सुनाइरहेको थियो। त्यसले सपना सुनाउँदै भन्यो, “मैले एउटा सपना देखेँ। जौको एउटा गोलो रोटी मिद्यानीहरूको छाउनीभित्र गुड्दै आयो। त्यसले पाललाई यति जोडसित प्रहार गर्यो कि पाल नै पल्टेर भत्कियो।”
14त्यसको साथीले जवाफ दियो, “यो त इस्राएली योआशको छोरा गिदोनको तरवारबाहेक अरू केही हुन सक्दैन। परमेश्वरले मिद्यानीहरू र सम्पूर्ण छाउनीलाई तिनको हातमा सुम्पिदिनुभएको छ।”
15त्यो सपना र त्यसको अर्थ सुनेपछि गिदोनले परमेश्वरलाई साष्टाङ्ग दण्डवत् र आराधना गरे। तिनी इस्राएलको छाउनीमा फर्के, र जोडसित आह्वान गरे, “उठ! याहवेहले मिद्यानीहरूका छाउनीलाई तिमीहरूका हातमा दिनुभएको छ।” 16अनि तिनले ती तीन सय मानिसहरूलाई तीन दलमा बाँडे। तिनले तुरहीहरू र भित्र राँकाहरू भएका रित्ता गाग्राहरू तिनीहरू सबैका हातमा राखिदिए।
17अनि तिनले तिनीहरूलाई भने, “मतिर ध्यान देओ।” मेरो पछि-पछि लाग। जब म छाउनीको किनारमा पुग्छु, तब मैले गरेझैँ गर। 18जब म र मसित भएका सबैले आफ्ना तुरही फुक्छौ, तब छाउनीका चारैतिरबाट तिमीहरूका तुरही फुकेर चिच्याउनू, “याहवेहका निम्ति र गिदोनका निम्ति!”
19गिदोन र तिनीसँग भएका एक सय मानिसहरू मध्यरात अगि छाउनीको छेउमा पुगे। त्यति बेला पहरेदारको पालो भर्खर फेरिएको थियो। तिनीहरूले आफ्ना तुरही फुके, र आफ्ना हातमा भएका गाग्राहरू फुटाए। 20ती तीनै दल सबैले आ-आफ्नो तुरही फुके, र गाग्राहरू फुटाए। तिनीहरूले देब्रे हातमा राँको समाते र दाहिने हातमा तुरही लिएर तिनीहरूले कराए, “याहवेहको निम्ति र गिदोनको निम्ति तरवार!” 21प्रत्येक मानिसले छाउनीको चारैतिर आ-आफ्नो मोर्चा सम्हालेको बेला सबै मिद्यानीहरू चिच्याउँदै भागे।
22जब तीन सय वटा तुरहीहरू फुकिए, तब याहवेहले मानिसहरूलाई आफ्ना तरवार लिएर छाउनीभरि एक-अर्कालाई हमला गर्न लगाउनुभयो। त्यो फौज तब्बातको छेउमा भएको अबेल-महोलाको सिमानासम्म सरेरातिरको बेथ-शित्तामा भाग्यो। 23नप्ताली, आशेर र सम्पूर्ण मनश्शेबाट इस्राएलीहरू बोलाइए, र तिनीहरूले मिद्यानीहरूलाई लखेटे। 24गिदोनले एफ्राइमको पहाडी मुलुकभरि यसो भन्दै दूतहरू पठाए, “मिद्यानीहरूका विरुद्धमा ओर्लिआओ, र बेथ-बारासम्म तिनीहरूको सामु यर्दनको पानीलाई घेरा लगाओ।”
यसरी एफ्राइमका सारा मानिसहरूलाई बोलाइए, र तिनीहरूले यर्दनको पानीलाई बेथ-बरासम्मै लिए। 25तिनीहरूले मिद्यानीहरूका दुई जना शासकहरू ओरेब र जीबलाई दाखको कोलमा पक्रे। तिनीहरूले ओरेबलाई ओरेबको चट्टानमा र जेबहलाई जीबको दाखको कोलमा मारे। तिनीहरूले मिद्यानीहरूलाई खेद्दै गए, र ओरेब र जेबहका शिरहरू यर्दन वारि गिदोनकहाँ ल्याए।
अहिले सेलेक्ट गरिएको:
न्यायकर्ता 7: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.