अब अब्राहामको समयमा परेको अनिकालबाहेक त्यस देशमा फेरि अर्को एउटा अनिकाल पनि पर्यो; अनि इसहाक गरारमा भएका पलिश्तीहरूका राजा अबीमेलेककहाँ गए। याहवेह इसहाककहाँ देखा पर्नुभयो र भन्नुभयो, “तल इजिप्टमा नजा; तर मैले तँलाई भनेकै देशमा गएर बस्। यस देशमा केही समय परदेशी भएर बस्, र म तँसित हुनेछु र तँलाई आशिष् दिनेछु। किनकि म तँलाई र तेरा सन्तानहरूलाई यी सबै देशहरू दिनेछु; र मैले तेरा पिता अब्राहामसित खाएको शपथ पूरा गर्नेछु। म तेरा सन्तानहरूलाई आकाशमा भएका ताराझैँ असंख्य तुल्याउनेछु; अनि तिनीहरूलाई यी सबै देशहरू दिनेछु; र तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिले आशिष् पाउनेछन्; किनकि अब्राहामले मेरो आज्ञापालन गर्यो, र मेरा आज्ञाहरू, मेरा उर्दीहरू र मेरा निर्देशनहरू पालन गर्दै मैले चाहेका सबै कुरा गर्यो।” यसकारण इसहाक गरारमै बसे। त्यस ठाउँका मानिसहरूले तिनलाई रिबेकाको विषयमा सोधपुछ गर्दा तिनले भने, “यिनी मेरी बहिनी हुन्; किनकि रिबेकाको कारण त्यस ठाउँका मानिसहरूले तिनलाई मार्लान् भन्ने सोचेर रिबेकालाई आफ्नी पत्नी भन्न तिनी डराए; किनकि रिबेका अत्यन्तै राम्री थिइन्।” जब इसहाक त्यहाँ बसेको धेरै भएको थियो, तब पलिश्तीहरूका राजा अबीमेलेकले झ्यालबाट तल हेरे, र तिनले इसहाकलाई आफ्नी पत्नी रिबेकासित प्रेमलाप गरिरहेका देखे। यसकारण अबीमेलेकले इसहाकलाई बोलाएर भने, “यिनी त वास्तवमा तिम्री पत्नी रहिछिन्! मलाई तिमीले किन ‘यिनी मेरी बहिनी हुन्’ भन्यौ?” इसहाकले तिनलाई जवाफ दिए, “किनकि मेरी पत्नीको कारण मैले आफ्नो ज्यान गुमाउन पर्ला कि भनी मैले सोचेँ।” तब अबीमेलेकले भने, “तिमीले हामीसँग यो के गर्यौ? यी मानिसहरूमध्ये कोही तिम्री पत्नीसित सुतेको भए तिमीले हामीमाथि दोष ल्याउनेथियौ।” यसकारण अबीमेलेकले सबै मानिसहरूलाई यसो भनी आदेश दिए: “यी मानिस अथवा यिनकी पत्नीलाई हानि गर्ने व्यक्तिले निश्चय नै मृत्युदण्ड पाउनेछ।” इसहाकले त्यस देशमा अन्नबाली लगाए; अनि त्यही वर्ष तिनले सय गुणा कटनी गरे; किनकि याहवेहले तिनलाई आशिष् दिनुभएको थियो। तिनी धनी भए, र तिनी अति धनाढ्य नहुन्जेल तिनको सम्पत्ति बढिरह्यो। तिनीसित यति धेरै बगाल, गाईबस्तु र सेवक-सेविकाहरू थिए, कि पलिश्तीहरूले तिनीसित डाह गर्न लागे। यसकारण तिनका पिता अब्राहामको समयमा, तिनका पिताका सेवकहरूले खनेका सबै इनारहरू पलिश्तीहरूले माटोले पुरिदिए। तब अबीमेलेकले इसहाकलाई भने, “हामीदेखि टाढा गइहाल; किनकि तिमी हाम्रो निम्ति अति शक्तिशाली भएका छौ।”
उत्पत्ति 26 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 26:1-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू