उत्पत्ति 26:1-16
उत्पत्ति 26:1-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब्राहामको समयमा परेको अनिकालबाहेक त्यस देशमा अर्को अनिकाल पनि पर्यो। तब इसहाक पलिश्तीहरूका राजा अबीमेलेककहाँ गरार देशमा गए। परमप्रभुले तिनीकहाँ देखा परेर तिनलाई भन्नुभयो, “मिश्रमा नजा, तर मैले तँलाई भनेकै ठाउँमा बस्। त्यही ठाउँमा बसोबास गर्, र म तँसँग रहनेछु, र तँलाई आशिष् दिनेछु, किनकि मैले तेरो बुबा अब्राहामसँग शपथ खाएर दिएको प्रतिज्ञा म पूरा गरेर तँलाई र तेरा सन्तानलाई यी नै देशहरू दिनेछु। तेरा सन्तानलाई आकाशका ताराहरूझैँ बढ़ाउनेछु, र तिनीहरूलाई यी सबै देश दिनेछु। तेरै सन्तानहरूद्वारा संसारका सबै जातिहरूले आशिष् पाउनेछन्, किनभने अब्राहामले मेरो वचन पालन गर्यो, र मैले दिएका आदेशहरू, मेरा आज्ञाहरू, मेरा नियमहरू र मेरा विधिविधानहरूको प्रतिपालन गर्यो।” यसैकारण इसहाक गरारमा नै बसे। त्यस ठाउँका मानिसहरूले तिनकी पत्नीको विषयमा सोधपूछ गर्दा तिनले “तिनी मेरी बहिनी हुन्” भने। किनभने “रिबेकाको खातिर त्यस ठाउँका मानिसहरूले मलाई मारिहाल्लान्” भनी रिबेकालाई आफ्नी पत्नी भन्न तिनी डराए। किनकि रिबेका अत्यन्तै सुन्दरी थिइन्। इसहाक त्यहाँ धेरै दिन बसेपछि पलिश्तीहरूका राजा अबीमेलेकले झ्यालबाट हेर्दा इसहाक आफ्नी पत्नी रिबेकासँग प्रेम-क्रीड़ा गरिरहेका देखे। यसकारण अबीमेलेकले इसहाकलाई बोलाएर भने, “हेर, तिनी त साँच्चै तिम्री पत्नी रहिछन्। किन तिमीले ‘तिनी मेरी बहिनी हुन्’ भन्यौ?” इसहाकले उनलाई भने, “किनभने तिनको खातिर मलाई यहाँका मानिसहरूले मार्लान् भन्ने मैले सोचें।” अबीमेलेकले भने, “तिमीले हामीसँग यो के गरेको? कुनै मानिसले तिम्री पत्नीसित कुकर्म गर्दो हो त तिमीले हामीमाथि दोष ल्याउनेथियौ।” यसकारण अबीमेलेकले सबै मानिसहरूलाई यसो भनेर चेताउनी दिए, “यी मानिस अथवा यिनकी पत्नीलाई छुने जुनसुकै मानिसलाई पनि निश्चय नै मृत्युदण्ड हुनेछ।” इसहाकले बालीनाली लगाए, र त्यही साल तिनले सय गुणा कटनी गरे। परमेश्वरले तिनलाई आशिष् दिनुभयो, र तिनी धनी भए, र झन्-झन् बढ़ेर तिनी अत्यन्तै धनाढ्य भए। तिनका प्रशस्त भेड़ाबाख्रा, गाई-गोरु र नोकरचाकर भए। यसैकारण पलिश्तीहरूले तिनलाई डाह गर्न लागे। तिनका पिता अब्राहामको पालोमा उनका नोकरहरूले खनिराखेका सबै इनारहरू पलिश्तीहरूले रोके, र ढुङ्गा-माटोले पुरिदिए। त्यसपछि अबीमेलेकले इसहाकलाई भने, “हामीहरूबाट अब तिमी गइहाल, किनभने तिमी हाम्रा निम्ति ज्यादै शक्तिशाली भएका छौ।”
उत्पत्ति 26:1-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब अब्राहामको समयमा परेको अनिकालबाहेक त्यस देशमा फेरि अर्को एउटा अनिकाल पनि पर्यो; अनि इसहाक गरारमा भएका पलिश्तीहरूका राजा अबीमेलेककहाँ गए। याहवेह इसहाककहाँ देखा पर्नुभयो र भन्नुभयो, “तल इजिप्टमा नजा; तर मैले तँलाई भनेकै देशमा गएर बस्। यस देशमा केही समय परदेशी भएर बस्, र म तँसित हुनेछु र तँलाई आशिष् दिनेछु। किनकि म तँलाई र तेरा सन्तानहरूलाई यी सबै देशहरू दिनेछु; र मैले तेरा पिता अब्राहामसित खाएको शपथ पूरा गर्नेछु। म तेरा सन्तानहरूलाई आकाशमा भएका ताराझैँ असंख्य तुल्याउनेछु; अनि तिनीहरूलाई यी सबै देशहरू दिनेछु; र तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिले आशिष् पाउनेछन्; किनकि अब्राहामले मेरो आज्ञापालन गर्यो, र मेरा आज्ञाहरू, मेरा उर्दीहरू र मेरा निर्देशनहरू पालन गर्दै मैले चाहेका सबै कुरा गर्यो।” यसकारण इसहाक गरारमै बसे। त्यस ठाउँका मानिसहरूले तिनलाई रिबेकाको विषयमा सोधपुछ गर्दा तिनले भने, “यिनी मेरी बहिनी हुन्; किनकि रिबेकाको कारण त्यस ठाउँका मानिसहरूले तिनलाई मार्लान् भन्ने सोचेर रिबेकालाई आफ्नी पत्नी भन्न तिनी डराए; किनकि रिबेका अत्यन्तै राम्री थिइन्।” जब इसहाक त्यहाँ बसेको धेरै भएको थियो, तब पलिश्तीहरूका राजा अबीमेलेकले झ्यालबाट तल हेरे, र तिनले इसहाकलाई आफ्नी पत्नी रिबेकासित प्रेमलाप गरिरहेका देखे। यसकारण अबीमेलेकले इसहाकलाई बोलाएर भने, “यिनी त वास्तवमा तिम्री पत्नी रहिछिन्! मलाई तिमीले किन ‘यिनी मेरी बहिनी हुन्’ भन्यौ?” इसहाकले तिनलाई जवाफ दिए, “किनकि मेरी पत्नीको कारण मैले आफ्नो ज्यान गुमाउन पर्ला कि भनी मैले सोचेँ।” तब अबीमेलेकले भने, “तिमीले हामीसँग यो के गर्यौ? यी मानिसहरूमध्ये कोही तिम्री पत्नीसित सुतेको भए तिमीले हामीमाथि दोष ल्याउनेथियौ।” यसकारण अबीमेलेकले सबै मानिसहरूलाई यसो भनी आदेश दिए: “यी मानिस अथवा यिनकी पत्नीलाई हानि गर्ने व्यक्तिले निश्चय नै मृत्युदण्ड पाउनेछ।” इसहाकले त्यस देशमा अन्नबाली लगाए; अनि त्यही वर्ष तिनले सय गुणा कटनी गरे; किनकि याहवेहले तिनलाई आशिष् दिनुभएको थियो। तिनी धनी भए, र तिनी अति धनाढ्य नहुन्जेल तिनको सम्पत्ति बढिरह्यो। तिनीसित यति धेरै बगाल, गाईबस्तु र सेवक-सेविकाहरू थिए, कि पलिश्तीहरूले तिनीसित डाह गर्न लागे। यसकारण तिनका पिता अब्राहामको समयमा, तिनका पिताका सेवकहरूले खनेका सबै इनारहरू पलिश्तीहरूले माटोले पुरिदिए। तब अबीमेलेकले इसहाकलाई भने, “हामीदेखि टाढा गइहाल; किनकि तिमी हाम्रो निम्ति अति शक्तिशाली भएका छौ।”
उत्पत्ति 26:1-16 पवित्र बाइबल (NERV)
एकपल्ट त्यहाँ अनिकाल भयो। यो अनिकाल पनि त्यस्तै प्रकारको थियो जुन अब्राहामको समयमा भएको थियो। यसर्थ इसहाक गरार शहरमा पलिश्ती राजा अबीमेलेककहाँ गए। परमप्रभुले इसहाकसित कुरा गर्नु भयो। उहाँले इसहाकलाई भन्नुभयो, “मिश्र देश नजाऊ, त्यस ठाउँमा जाऊ जुन म तिमीलाई देखाउनेछु। त्यहीं देशमा बस तब म तँलाईं सहायता गर्नेछु। म तँलाईं आशीर्वाद दिनेछु। तेरो परिवार र तँलाईं यो सबै देश दिनेछु। म त्यही गर्नेछु जुन मैले तेरो बाबु अब्राहामलाई वचन दिएको थिएँ। म तेरो परिवारलाई आकाशका ताराहरू जस्तै बनाउनेछु। अनि यी सबै भूमिहरू तेरो परिवारहरूलाई दिनेछु? पृथ्वीका सबै राष्ट्रहरूले तेरा सन्तानहरूद्वारा आशीर्वाद पाउँनेछन्। म यस्तो यसैले गरिरहेकोछु किनभने तेरो बाबु अब्राहामले मेरो आज्ञा पालन गरे अनि मैले जे-जे भने ती सब गरे। अब्राहामले मेरो आज्ञा, मेरो विधिहरू र मेरो नियमहरूको पालन गरे।” इसहाक गरारमै बसे। इसहाककी पत्नी रिबेका अत्यन्तै सुन्दरी थिइन्। त्यस ठाउँका मानिसहरूले इसहाकलाई रिबेकाको विषयमा सोधे। इसहाकले भने, “यो मेरो बहिनी हो।” इसहाकले रिबेकालाई आफ्नो पत्नी हो भन्न डरायो। इसहाक रिबेकालाई पाउँनुको निम्ति मानिसहरूले उसलाई मार्न सक्छन् भनेर डराउँथ्यो। जब इसहाक त्यहाँ धेरै दिनसम्म बसे तब एक दिन अबीमेलेकले आफ्नो झ्यालबाट हेरे अनि इसहाक रिबेकासित जिस्की रहेको देखे। अबीमेलेकले इसहाकलाई बोलाए अनि भने, “यो आइमाई तेरी पत्नी रहेछ, तर तैंले हामीलाई किन तेरो बहिनी हो भनेर भनिस्?” इसहाकले उसलाई भने, “म डराएँ कतै तिमीले उसलाई आफ्नो बनाउनुको निम्ति मलाई मार्नेछौ।” अबीमेलेकले भने, “तिमीले हाम्रो निम्ति नराम्रो काम गर्यौ। हाम्रा कोही पनि मानिस तिम्री पत्नीसित सुत्न सक्थ्यो। तब त्यो मानिस ठूलो पापको दोषी हुने थियो।” तब अबीमेलेकले सबै मानिसहरूलाई चेतावनी दिए अनि भने, “तिनीहरूले त्यस मानिस र तिनकी पत्नीलाई नोक्सान नपुर्याउनु। यदि कसैले तिनीहरूलाई नोक्सान पुर्याउँछ भने उसलाई निश्चय नै मारिनेछ।” इसहाकले त्यस भूमिमा खेती गरे अनि त्यस बर्ष धेरै नै फसल उब्जाए। परमप्रभुले उसलाई धेरै आशिष दिनु भयो। इसहाक धनी भए। उनले त्यस बेलासम्म सम्पत्ति बटुली बसे जब सम्म उसँग धेरैभन्दा धेरै सम्पत्ति भएन। ऊसित धेरै बगाल अनि हूल गाई बस्तुहरू थिए। कमारा-कमारीहरू पनि उनकोमा घेरै नै थिए। सबै पलिश्तीहरू ऊसँग आरीस गर्थे। यसैले धेरै बर्ष अघि इसहाकका बाबु अब्राहाम र तिनका नोकरहरूले बनाएका कूवाहरू पलिश्तीहरूले ध्वंश पारिदिए। पलिश्तीहरूले कूवाहरूमा मैला हालेर भरिदिए। अनि अबीमेलेकले इसहाकलाई भने, “हाम्रो देश छोडी देऊ। तिमी हामी भन्दा धेरै शक्तिशाली भएकाछौ।”
उत्पत्ति 26:1-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यो देशमा अघि अब्राहामको समयमा परेको अनिकालबाहेक अर्को एउटा अनिकाल फेरि पर्यो। तब इसहाक पलिश्तीहरूका राजा अबीमेलेककहाँ गरारमा गए। परमप्रभुले इसहाकलाई दर्शन दिएर भन्नुभएको थियो, “मिश्रमा नजा। यही देशमा बस्। म जहाँ तँलाई बस् भन्छु, त्यही देशमा बस्। म तँसित रहनेछु र तँलाई आशिष् दिनेछु। यो सारा देश तँलाई र तेरा सन्तानलाई दिनेछु। तेरा बुबा अब्राहामसित मैले गरेको प्रतिज्ञा म पूरा गर्नेछु। आकाशमा जति तारा छन्, त्यति नै म तँलाई सन्तान दिनेछु र यो सारा देश तिनीहरूलाई दिनेछु। मैले तेरो सन्तानलाई दिएको जस्तो आशिष् अरू सबै जातिहरूले मसँग माग्नेछन्। अब्राहामले मेरो वचन मान्यो र सबै नियमहरू र आज्ञाहरू पालन गर्यो। यसकारण म तँलाई आशिष् दिनेछु।” यसरी इसहाक गरारमा बस्न थाले। त्यहाँका मानिसहरूले उनकी स्वास्नीको बारेमा सोध्दा उनले यो मेरी बहिनी हो भने। उनले रिबेकालाई आफ्नी स्वास्नी हो भनेनन् किनभने त्यहाँका मानिसहरूले रिबेकालाई हात पार्न मलाई मार्छन् भनी उनी डराए। रिबेका अति सुन्दरी थिइन्, इसहाक त्यहाँ बसेको केही समय भएपछि अबीमेलेक राजाले एक दिन झ्यालबाट हेर्दा इसहाकले रिबेकालाई माया गरिरहेका देखे। अबीमेलेकले इसहाकलाई बोलाउन पठाए र भने, “के त्यो तिम्री स्वास्नी हो, किन ‘यो मेरी बहिनी हो’ भन्यौ?” उनले जवाफ दिए, “मैले आफ्नी स्वास्नी हो भनेमा मलाई मार्छन् होला भनी मैले सोचेको थिएँ।” “तिमीले हामीसित यो के गरेको?” अबीमेलेकले भने, “कुन मेरो मानिस सजिलै तिम्री स्वास्नीसँग सुत्न सक्दथ्यो। यस्तो अपराध हामीबाट भएको भए तिमी जिम्मेवार हुनेथियौ।” अबीमेलेकले सबै मानिसहरूलाई, “यो मानिस र यसकी स्वास्नीसित खराब व्यवहार गर्ने मानिस मारिनेछ,” भनी चेतावनी दिए। इसहाकले त्यस ठाउँमा अन्नबाली लगाए र त्यस साल आफूले रोपेको सय गुणा बाली काटे किनभने परमप्रभुले उनलाई आशिष् दिनुभयो। उनलाई लाभ भयो र उनी औधी धनी हुँदै गए। उनीसँग भेडाका बथान, गाई-गोरु र धेरै चाकरहरू थिए, यसकारण पलिश्तीहरूले उनीसित डाह गर्न लागे। अब्राहामका चाकरहरूले उनी जिउँदा छँदा जति इनारहरू खनेका थिए, ती सबै पलिश्तीहरूले पुरिदिए। तब अबीमेलेकले इसहाकलाई भने, “हाम्रो देश छोडेर जाऊ। तिमी हामीभन्दा सामर्थी छौ।”