उहाँले तिनलाई यो पनि भन्नुभयो, “म नै याहवेह हुँ, जसले तँलाई कल्दीहरूको ऊरबाट यो देश सम्पत्तिको रूपमा दिन भनी निकालेर ल्याएँ।” तर अब्रामले भने, “हे प्रभु याहवेह, मैले यो सम्पत्तिको रूपमा पाउनेछु भनी म कसरी थाहा पाऊँ?” यसकारण याहवेहले तिनलाई भन्नुभयो, “मकहाँ तीन-तीन वर्षको एउटा कोरली, एउटा पाठी र एउटा भेडा, र साथमा एउटा ढुकुर र एउटा परेवाको बचेरो ले।” अब्रामले ती सबै उहाँकहाँ ल्याए, तिनीहरूलाई दुई टुक्रा गरी काटे र आधा भागलाई एक-अर्काको विपरीत दिशामा मिलाएर राखे; तर चराहरूलाई चाहिँ तिनले आधा गरी काटेनन्। तब चील र गिद्धहरू शिकारमाथि झम्टेर आए, तर अब्रामले तिनीहरूलाई धपाए। जब घाम डुब्दै थियो, अब्राम मस्त निद्रामा परे; अनि डरलाग्दो र घोर अन्धकारले तिनलाई छोप्यो। तब याहवेहले अब्रामलाई भन्नुभयो, “तैँले यो निश्चय जानिराख् कि तेरा सन्तानहरू चार सय वर्षसम्म अर्काको देशमा प्रवासी हुनेछन् र त्यहाँ तिनीहरूले दास भएर दुर्व्यवहार खप्नुपर्नेछ। तर म तिनीहरूले दास-दासी भएर सेवा गरेको देशलाई दण्ड दिनेछु; अनि पछि तिनीहरू त्यहाँबाट धेरै सम्पत्ति लिएर निस्किआउनेछन्। तर तँचाहिँ शान्तिसित तेरा पुर्खाहरूकहाँ जानेछस्; अनि तँ पूरा बुढेसकालमा गाडिनेछस्। चौथो पुस्तामा तेरा सन्तानहरूहरू यहाँ फर्केर आउनेछन्; किनकि एमोरीहरूको अधर्म अहिलेसम्म पूरा भइसकेको छैन।” जब घाम अस्तायो र अँध्यारो भयो, र एउटा बलिरहेको आगो भएको धुवाँले भरिएको मकल देखा पर्यो, र ती टुक्राहरूका बीचबाट भएर गयो। त्यसै दिन याहवेहले अब्रामसित एउटा करार बाँध्नुभयो र भन्नुभयो, “म तेरा सन्तानहरूलाई यो देश दिनेछु, अर्थात् इजिप्टको नदीदेखि महानदी यूफ्रेटिससम्म— जुन केनीहरू, कनज्जीहरू, कदोमोनीहरू, हित्तीहरू, परिज्जीहरू, रपाईहरू, एमोरीहरू, कनानीहरू, गिर्गाशीहरू अनि यबूसीहरूका देशहरू हुन्।”
उत्पत्ति 15 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 15:7-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू