गलाती 1:15-24

गलाती 1:15-24 NCV

तर मलाई मेरी आमाको गर्भदेखि नै अलग पार्नुहुने परमेश्‍वर, जसले उहाँको अनुग्रहद्वारा मलाई बोलाउनुभयो, उहाँलाई आफ्नो पुत्र ममा प्रकट गराउन असल लाग्यो, ताकि मैले गैरयहूदीहरूको बीचमा उहाँलाई प्रचार गर्न सकूँ। तब मैले कुनै मानिससँग केही सल्‍लाह लिइनँ, न त मभन्दा अगिका प्रेरितहरूसँग सल्‍लाह लिन यरूशलेम गएँ। तर म अरब देशमा गएँ, र त्यसपछि म फेरि दमस्कसमा फर्केर आएँ। अनि तीन वर्षपछि म पत्रुससँग भेट गर्नलाई यरूशलेम गएँ, जहाँ म उनीसँग पन्ध्र दिनसम्म बसें। त्यहाँ प्रभुका भाइ याकोबलाई बाहेक अरू कुनै पनि प्रेरितहरूलाई मैले भेटिनँ। परमेश्‍वरको सामु म तिमीहरूलाई विश्‍वास दिलाउन चाहन्छु, कि मैले जे लेखिरहेको छु, यो कुनै झूट होइन। त्यसपछि म सिरिया र किलिकियाका प्रान्तहरूमा गएँ। ख्रीष्‍टमा भएका यहूदियाका मण्डलीहरूले मलाई त्यति बेलासम्म व्यक्तिगत रूपमा चिनेका थिएनन्। उनीहरूले केवल यस्तो प्रतिवेदन मात्र सुनेका थिए: “हामीलाई पहिले खेदो गर्ने मानिसले अहिले एक समयमा उसैले नष्‍ट गर्न खोजेको विश्‍वासलाई प्रचार गरिरहेको छ।” अनि तिनीहरूले मेरो कारण परमेश्‍वरलाई प्रशंसा गरे।

गलाती 1 पढ्नुहोस्