गलाती 1:15-24
गलाती 1:15-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर, मेरो जन्म हुन अघि नै मलाई अलग गर्नुहुने, र आफ्नो अनुग्रहद्वारा मलाई बोलाउनुहुने परमेश्वरलाई, जब अन्यजातिहरूका बीचमा उहाँको प्रचार गर्नलाई आफ्ना पुत्र ममा प्रकट गराउन उहाँलाई खुशी लाग्यो, तब मैले कुनै मानिससँग केही सल्लाह लिइनँ, न त मभन्दा अघि प्रेरित हुनेहरूकहाँ म यरूशलेममा गएँ, तर तुरुन्तै अरब देशमा गएँ, र पछि दमस्कसमा फर्केर आएँ। तब तीन वर्षपछि केफाससँग भेट गर्न म यरूशलेम गएँ, र उनीसँग पन्ध्र दिनसम्म बसें। तर प्रभुका भाइ याकूबलाई बाहेक अरू कुनै प्रेरितलाई मैले भेटिनँ। परमेश्वरको सामु म तिमीहरूलाई विश्वास दिलाउन चाहन्छु, कि म जे लेख्तछु त्यो झूटो होइन। त्यसपछि म सिरिया र किलिकियाका इलाकातिर गएँ। त्यतिञ्जेल यहूदियाका ख्रीष्टका मण्डलीहरूले मेरो मुख देखेका थिएनन्। तिनीहरूले यतिसम्म मात्र सुनेका थिए, “अघि हामीहरूलाई सताउने मानिसले जुन विश्वास नाश गर्न खोजेको थियो, अहिले त्यसले त्यही विश्वास प्रचार गरिरहेछ।” तिनीहरूले मेरो कारण परमेश्वरलाई महिमा दिए।
गलाती 1:15-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर मलाई मेरी आमाको गर्भदेखि नै अलग पार्नुहुने परमेश्वर, जसले उहाँको अनुग्रहद्वारा मलाई बोलाउनुभयो, उहाँलाई आफ्नो पुत्र ममा प्रकट गराउन असल लाग्यो, ताकि मैले गैरयहूदीहरूको बीचमा उहाँलाई प्रचार गर्न सकूँ। तब मैले कुनै मानिससँग केही सल्लाह लिइनँ, न त मभन्दा अगिका प्रेरितहरूसँग सल्लाह लिन यरूशलेम गएँ। तर म अरब देशमा गएँ, र त्यसपछि म फेरि दमस्कसमा फर्केर आएँ। अनि तीन वर्षपछि म पत्रुससँग भेट गर्नलाई यरूशलेम गएँ, जहाँ म उनीसँग पन्ध्र दिनसम्म बसें। त्यहाँ प्रभुका भाइ याकोबलाई बाहेक अरू कुनै पनि प्रेरितहरूलाई मैले भेटिनँ। परमेश्वरको सामु म तिमीहरूलाई विश्वास दिलाउन चाहन्छु, कि मैले जे लेखिरहेको छु, यो कुनै झूट होइन। त्यसपछि म सिरिया र किलिकियाका प्रान्तहरूमा गएँ। ख्रीष्टमा भएका यहूदियाका मण्डलीहरूले मलाई त्यति बेलासम्म व्यक्तिगत रूपमा चिनेका थिएनन्। उनीहरूले केवल यस्तो प्रतिवेदन मात्र सुनेका थिए: “हामीलाई पहिले खेदो गर्ने मानिसले अहिले एक समयमा उसैले नष्ट गर्न खोजेको विश्वासलाई प्रचार गरिरहेको छ।” अनि तिनीहरूले मेरो कारण परमेश्वरलाई प्रशंसा गरे।
गलाती 1:15-24 पवित्र बाइबल (NERV)
तर म जन्मनु भन्दा अघि नै परमेश्वरले मेरो लागि यो योजना बनाएका रहेछन्। यसकारण उनले उनको अनुग्रहले मलाई बोलाए। परमेश्वरले मलाई आफ्ना पुत्रको सुसमाचार अयहूदीहरू माझ भन्न इच्छा गरे। यसैले परमेश्वरले मलाई आफ्ना पुत्रको दर्शन गराए। परमेश्वरले बोलाउँदा मैले कसैबाट कुनै सल्लाह र सहायता लिइनँ। न त म भन्दा अघि प्रेरित हुनेहरूलाई भेटन गएँ। तर, अबेर नगरी म अरब देशमा गएँ र त्यहाँबाट दमस्कस शहरमा फर्केर आएँ। तीन वर्षपछि म यरूशलेम गएँ, म पत्रुसलाई भेट्न चाहन्थें। पत्रुससित म पन्ध्र दिन बसे। मैले अरू प्रेरितहरूलाई भेटिनँ-खालि याकूबलाई भेटे जो प्रभुका भाइ हुन्। परमेश्वर जान्दछन् मैले लेख्न लागेका यी कुराहरू झूटा होइनन्। तब म सिरिया र सिलिसिया गएँ। यहूदियामा ख्रीष्टका मण्डलीले यसभन्दा अघि मेरो अनुहार देखेका थिएनन्। मेरो बारेमा तिनीहरूले खालि यति सुनेका थिएः “यस मानिसले हामीलाई खुब सताउने गर्थ्यो तर उही नै अहिले मानिसहरूलाई त्यही विश्वासका कुराहरू गरिहिंडछ जुन विश्वासलाई ऊ नष्ट गर्ने प्रयास गर्थ्यो।” यी विश्वासीहरूले मेरै कारणले परमेश्वरको धेरै प्रशंसा गरे।
गलाती 1:15-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर परमेश्वरले आफ्नो खुसीले म जन्मिनुभन्दा अघि नै मलाई अलग गर्नुभयो र आफ्नै काम गर्न बोलाउनुभयो। उहाँले नै मबाट अरू जातिमा सुसमाचार प्रचार होस् भनेर आफ्नो पुत्रलाई मकहाँ प्रकट गर्नुभयो। त्यस बेला म कुनै मानिससँग सोधखोज गर्नतिर लागिनँ। मभन्दा अघिका प्रेरितहरूसँग सल्लाह माग्न म यरूशलेम गइनँ। तर म झट्टै अरब देश गएँ र दमस्कसमै फर्किएँ। तीन वर्षपछि मात्र म पत्रुसलाई भेट्न यरूशलेम गएँ र सँगै त्यहाँ पन्ध्र दिन बसें। मैले त्यहाँ प्रभुका भाइ याकूबलाई बाहेक अरू कुनै प्रेरितलाई भेटिनँ। मैले लेखेको कुरा साँचो हो र म परमेश्वरको अगाडि ढाँट्दिनँ। पछि म सिरिया र किलिकियाका गाउँहरूमा गएँ। त्यस बेलासम्म यहूदिया मण्डलीका दाजुभाइहरूले मलाई देखेकै थिएनन्। मेरो बारेमा यस्तो सुनेका मात्र थिए, “हामीलाई खेदो गर्ने मानिसले अचेल आफैंले मास्न खोजेको विश्वास नै प्रचार गर्दै छ रे” यसरी उनीहरूले म बदलिएकोमा परमेश्वरको प्रशंसा गरे।