गलाती 1:15-24

गलाती 1:15-24 NNRV

तर, मेरो जन्‍म हुन अघि नै मलाई अलग गर्नुहुने, र आफ्‍नो अनुग्रहद्वारा मलाई बोलाउनुहुने परमेश्‍वरलाई, जब अन्‍यजातिहरूका बीचमा उहाँको प्रचार गर्नलाई आफ्‍ना पुत्र ममा प्रकट गराउन उहाँलाई खुशी लाग्‍यो, तब मैले कुनै मानिससँग केही सल्‍लाह लिइनँ, न त मभन्‍दा अघि प्रेरित हुनेहरूकहाँ म यरूशलेममा गएँ, तर तुरुन्‍तै अरब देशमा गएँ, र पछि दमस्‍कसमा फर्केर आएँ। तब तीन वर्षपछि केफाससँग भेट गर्न म यरूशलेम गएँ, र उनीसँग पन्‍ध्र दिनसम्‍म बसें। तर प्रभुका भाइ याकूबलाई बाहेक अरू कुनै प्रेरितलाई मैले भेटिनँ। परमेश्‍वरको सामु म तिमीहरूलाई विश्‍वास दिलाउन चाहन्‍छु, कि म जे लेख्‍तछु त्‍यो झूटो होइन। त्‍यसपछि म सिरिया र किलिकियाका इलाकातिर गएँ। त्‍यतिञ्‍जेल यहूदियाका ख्रीष्‍टका मण्‍डलीहरूले मेरो मुख देखेका थिएनन्‌। तिनीहरूले यतिसम्‍म मात्र सुनेका थिए, “अघि हामीहरूलाई सताउने मानिसले जुन विश्‍वास नाश गर्न खोजेको थियो, अहिले त्‍यसले त्‍यही विश्‍वास प्रचार गरिरहेछ।” तिनीहरूले मेरो कारण परमेश्‍वरलाई महिमा दिए।