प्रस्थान 19:1-8
प्रस्थान 19:1-8 NCV
इस्राएलीहरूले इजिप्ट छोडेको तेस्रो महिनाको पहिलो दिन, त्यही दिन तिनीहरू सीनैको उजाडस्थानमा आइपुगे। इस्राएलीहरू रेफिदीमबाट हिँडेपछि सीनैको उजाडस्थानमा प्रवेश गरे, र तिनीहरूले त्यही पर्वतको सामु उजाडस्थानमा पाल टाँगेर बसे। तब मोशा माथि डाँडामा परमेश्वरलाई भेट्न गए; अनि याहवेहले पर्वतबाट तिनलाई भन्नुभयो, “तैँले याकोबको घरानालाई भन्नुपर्ने र इस्राएलका मानिसहरूलाई बताउनुपर्ने यही हो: ‘मैले इजिप्टलाई के गरेँ, मैले कसरी तिमीहरूलाई गरुडहरूझैँ पखेटामा उडाएर मकहाँ ल्याएँ, त्यो तिमीहरूले देखेका छौ। अब यदि तिमीहरूले मैले भनेको कुरा सुन्यौ, र मेरा करारहरू पूर्ण पालन गर्यौ भने सबै जातिमध्ये तिमीहरू मेरा निज धन हुनेछौ। सारा पृथ्वी मेरै हुन्। तिमीहरू मेरा निम्ति पुजारीहरूको एउटा राज्य र एउटा पवित्र जाति हुनेछौ।’ तैँले इस्राएलीहरूलाई भन्नुपर्ने कुराहरू यिनै हुन्।” मोशा फर्किएर मानिसहरूका प्रधानहरूलाई बोलाइपठाए, र याहवेहले तिनलाई आज्ञा गर्नुभएका सबै कुराहरू तिनीहरूका सामु राखिदिए। ती सबै मानिसहरूले एकसाथ जवाफ दिए, “याहवेहले भन्नुभएका सबै कुराहरू हामी गर्नेछौँ।” यसकारण मोशाले तिनीहरूका जवाफ याहवेहकहाँ आएर सुनाए।

