पत्रुस र यूहन्ना जुन बेला मानिसहरूका सामु बोलिरहेका थिए, त्यसै समयमा पुजारीहरू, मन्दिरका रक्षकहरूका सेनापति र सदुकीहरू तिनीहरूकहाँ आए। तिनीहरू निकै चिढिएका थिए। किनकि प्रेरितहरूले मानिसहरूलाई उपदेश दिँदै येशूमा मरेकाहरू पुनरुत्थान पारिन्छन् भन्ने घोषणा गरिरहेका थिए। त्यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई बन्दी बनाए। त्यस बेला साँझ परिसकेको हुनाले तिनीहरूले उनीहरूलाई अर्को दिनसम्मका निम्ति झ्यालखानामा हाले। तर उनीहरूको वचन सुन्नेहरूमध्ये धेरै जनाले त्यसमा विश्वास गरे। यसरी विश्वास गर्नेहरूको संख्या बढेर प्रायः पाँच हजार पुग्यो। भोलिपल्ट तिनीहरूका शासकहरू, प्रधानहरू र व्यवस्थाका शिक्षकहरू यरूशलेममा भेला भए। प्रधान पुजारी हन्नास त्यहाँ थिए। त्यसै गरी कैयाफा, यूहन्ना, अलेक्जेन्डर र प्रधान पुजारीको परिवारका अन्य मानिसहरू पनि त्यहाँ थिए। तिनीहरूले पत्रुस र यूहन्नालाई आफ्ना सामु उपस्थित गराए। अनि तिनीहरूसँग प्रश्न गर्न थाले: “कसको शक्तिबाट वा कसको नाममा तिमीहरूले यो गरेका हौ?” त्यसपछि पवित्र आत्माले भरिएर पत्रुसले तिनीहरूलाई यस्तो जवाफ दिए: “हे जनताका शासकहरू र प्रधानहरू हो! हामीले एउटा लङ्गडो मानिसप्रति देखाएको दयालु कामको हिसाब मागिन्छ, र ऊ कसरी निको भयो भनी प्रश्न गरिन्छ भने, तपाईं र इस्राएलका सबै मानिसहरूलाई यो कुरा थाहा होस्: नासरतका येशू ख्रीष्टको नामद्वारा यो काम भएको हो। उहाँलाई तपाईंहरूले क्रूसमा टाँगेर मार्नुभयो। तर परमेश्वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो। उहाँकै नामद्वारा यो मानिस पूर्ण निको भई तपाईंहरूका सामु उभिएको छ। येशू ख्रीष्ट, “ ‘त्यही ढुङ्गा हुनुहुन्छ, जसलाई, तपाईं भवन निर्माण गर्नेहरूले अस्वीकार गर्नुभयो; तर उहाँ अहिले जगको मुख्य ढुङ्गा हुनुभएको छ।’ अरू कसैमा मुक्ति पाइँदैन; किनकि स्वर्गमुनि अर्को कुनै नाम मानिसहरूलाई दिइएको छैन, जसबाट हामीले उद्धार प्राप्त गर्न सक्छौँ।” जब तिनीहरूले पत्रुस र यूहन्नाको यस्तो साहस देखेर तिनीहरू अनपढ र साधारण मानिसहरू हुन् भनी बुझे, तब तिनीहरू आश्चर्यचकित भए। ती मानिसहरू येशूसँगै थिए भनेर तिनीहरूले थाहा पाए। तर पूर्ण निको भएको व्यक्ति तिनीहरू नजिकै उभिरहेको देखिसकेपछि तिनीहरूले केही भन्न सकेनन्। त्यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई महासभाबाट बाहिर जाने आदेश दिए। उनीहरू बाहिर गएपछि तिनीहरूले आपसमा यसो भन्दै सरसल्लाह गर्न थाले। “यी मानिसहरूसँग हामीले कस्तो व्यवहार गरौँ?” तिनीहरूले सोध्न थाले। “तिनीहरूले गरेका अलौकिक चिन्हहरूको बारेमा यरूशलेममा बस्ने हरेक व्यक्तिले थाहा पाएका छन्, र हामी पनि यो कुरा इन्कार गर्न सक्दैनौँ। तर यो कुरा अरू बढी मानिसहरूमा प्रचार हुनबाट रोक्नका निम्ति येशूको नाममा अब उप्रान्त कसैसँग नबोल्नू भनेर यिनीहरूलाई हामीले चेतावनी दिनैपर्छ।” त्यसपछि तिनीहरूले उनीहरूलाई फेरि भित्र बोलाए; अनि येशूको नाममा केही पनि प्रचार नगर्नू र नसिकाउनू भनी आदेश दिए। तर पत्रुस र यूहन्नाले जवाफ दिए, “परमेश्वरको कुरा नसुनेर तपाईंहरूको कुरा सुन्नु परमेश्वरका दृष्टिमा कुनचाहिँ उचित हुनेछ? आफैँ न्याय गर्नुहोस्! किनकि जे कुरा हामीले देख्यौँ र सुन्यौँ, त्यो वचन नबोली हामी बस्न पटक्कै सक्दैनौँ।”
प्रेरित 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 4:1-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू