प्रेरित 4:1-20
प्रेरित 4:1-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पत्रुस र यूहन्ना मानिसहरूसँग बोल्दै नै थिए, पूजाहारीहरू, मन्दिरका कप्तान र सदुकीहरू तिनीहरूकहाँ आए। उनीहरू रिसाएका थिए, किनकि येशूमा पुनरुत्थान हुन्छ भन्ने कुरा तिनीहरूले मानिसहरूलाई सिकाउँदैथिए र घोषणा गर्दैथिए। तब उनीहरूले यिनीहरूलाई पक्रे, र भोलिपल्टसम्म थुनामा राखे, किनभने त्यस बेला साँझ परिसकेको थियो। तर वचन सुन्नेहरूमध्ये धेरैले नै विश्वास गरे, र विश्वास गर्ने मानिसहरूको संख्या प्राय: पाँच हजार भयो। भोलिपल्ट यिनीहरूका शासकहरू, धर्म-गुरुहरू र शास्त्रीहरू यरूशलेममा भेला भएका थिए। प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना, अलेक्जेन्डर र प्रधान पूजाहारीका परिवारका जम्मै त्यहाँ थिए। तिनीहरूले पत्रुस र यूहन्नालाई बीचमा खड़ा गराएर सोधे, “कुन शक्तिबाट अथवा कसको नाउँमा तिमीहरूले यो गरेका हौ?” तब पवित्र आत्माले भरिपूर्ण भएर पत्रुसले तिनीहरूलाई भने, “मानिसहरूका शासक र धर्म-गुरु हो, आज हामीले एक जना लङ्गड़ो मानिसप्रति एउटा असल काम गरेको विषयमा त्यो कुन उपायले निको पारियो भनेर प्रश्न गर्नुहुन्छ भने, तपाईंहरू सबैलाई र इस्राएलका सारा मानिसलाई थाहा होस्, कि तपाईंहरूले क्रूसमा टाँग्नुभएको र परमेश्वरले मृतकबाट जीवित पार्नुभएका, उनै नासरतका येशू ख्रीष्टको नाउँमा यो मानिस तपाईंहरूका सामुन्ने निको भएर उभिएको छ। ‘यो त्यही ढुङ्गो हो, जो तपाईं, निर्माताहरूले इन्कार गर्नुभएको थियो, सो अहिले कुनाको शिर-ढुङ्गो हुन आएको छ।’ अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन।” जब तिनीहरूले पत्रुस र यूहन्नाको साहस देखे, र यिनीहरू अशिक्षित र साधारण मानिसहरू रहेछन् भनी थाहा पाए, तब तिनीहरू छक्क परे, र यिनीहरू येशूको साथमा रहन्थे भन्ने तिनीहरूले थाहा पाए। तर निको भएको मानिसलाई यिनीहरूसँग उभिरहेको देखेर तिनीहरूले केही बोल्न सकेनन्। यसैले यिनीहरूलाई महासभाबाट बाहिर जाने आज्ञा दिएर तिनीहरूले यसो भनी आपसमा मतो गरे, “यी मानिसहरूलाई अब हामीले के गर्ने हो? किनभने साँच्ची नै यिनीहरूबाट एउटा अचम्मको काम भएको छ भन्ने यरूशलेमका बासिन्दा जम्मैलाई प्रकट भइसकेको छ, र हामी यो इन्कार गर्न सक्दैनौं। तर यो कुरो जनतामा नफैलिओस् भनी ‘फेरि यस नाउँमा कुनै मानिससँग तिमीहरू केही नबोल्नू’ भनी हामीले यिनीहरूलाई चेताउनी दिनुपर्छ।” अनि यिनीहरूलाई बोलाएर “अब उप्रान्त येशूको नाउँमा नबोल्नू र कुनै शिक्षा नदिनू” भनी तिनीहरूले आज्ञा दिए। तर पत्रुस र यूहन्नाले तिनीहरूलाई उत्तर दिए, “परमेश्वरको कुरा सुन्नुभन्दा तपाईंहरूको कुरा सुन्नु परमेश्वरको दृष्टिमा ठीक हो कि होइन तपाईंहरू आफै विचार गर्नुहोस्। किनकि हामीले देखेका र सुनेका कुराहरू हामी नबोली सक्दैसक्दैनौं।”
प्रेरित 4:1-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
पत्रुस र यूहन्ना जुन बेला मानिसहरूका सामु बोलिरहेका थिए, त्यसै समयमा पुजारीहरू, मन्दिरका रक्षकहरूका सेनापति र सदुकीहरू तिनीहरूकहाँ आए। तिनीहरू निकै चिढिएका थिए। किनकि प्रेरितहरूले मानिसहरूलाई उपदेश दिँदै येशूमा मरेकाहरू पुनरुत्थान पारिन्छन् भन्ने घोषणा गरिरहेका थिए। त्यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई बन्दी बनाए। त्यस बेला साँझ परिसकेको हुनाले तिनीहरूले उनीहरूलाई अर्को दिनसम्मका निम्ति झ्यालखानामा हाले। तर उनीहरूको वचन सुन्नेहरूमध्ये धेरै जनाले त्यसमा विश्वास गरे। यसरी विश्वास गर्नेहरूको संख्या बढेर प्रायः पाँच हजार पुग्यो। भोलिपल्ट तिनीहरूका शासकहरू, प्रधानहरू र व्यवस्थाका शिक्षकहरू यरूशलेममा भेला भए। प्रधान पुजारी हन्नास त्यहाँ थिए। त्यसै गरी कैयाफा, यूहन्ना, अलेक्जेन्डर र प्रधान पुजारीको परिवारका अन्य मानिसहरू पनि त्यहाँ थिए। तिनीहरूले पत्रुस र यूहन्नालाई आफ्ना सामु उपस्थित गराए। अनि तिनीहरूसँग प्रश्न गर्न थाले: “कसको शक्तिबाट वा कसको नाममा तिमीहरूले यो गरेका हौ?” त्यसपछि पवित्र आत्माले भरिएर पत्रुसले तिनीहरूलाई यस्तो जवाफ दिए: “हे जनताका शासकहरू र प्रधानहरू हो! हामीले एउटा लङ्गडो मानिसप्रति देखाएको दयालु कामको हिसाब मागिन्छ, र ऊ कसरी निको भयो भनी प्रश्न गरिन्छ भने, तपाईं र इस्राएलका सबै मानिसहरूलाई यो कुरा थाहा होस्: नासरतका येशू ख्रीष्टको नामद्वारा यो काम भएको हो। उहाँलाई तपाईंहरूले क्रूसमा टाँगेर मार्नुभयो। तर परमेश्वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो। उहाँकै नामद्वारा यो मानिस पूर्ण निको भई तपाईंहरूका सामु उभिएको छ। येशू ख्रीष्ट, “ ‘त्यही ढुङ्गा हुनुहुन्छ, जसलाई, तपाईं भवन निर्माण गर्नेहरूले अस्वीकार गर्नुभयो; तर उहाँ अहिले जगको मुख्य ढुङ्गा हुनुभएको छ।’ अरू कसैमा मुक्ति पाइँदैन; किनकि स्वर्गमुनि अर्को कुनै नाम मानिसहरूलाई दिइएको छैन, जसबाट हामीले उद्धार प्राप्त गर्न सक्छौँ।” जब तिनीहरूले पत्रुस र यूहन्नाको यस्तो साहस देखेर तिनीहरू अनपढ र साधारण मानिसहरू हुन् भनी बुझे, तब तिनीहरू आश्चर्यचकित भए। ती मानिसहरू येशूसँगै थिए भनेर तिनीहरूले थाहा पाए। तर पूर्ण निको भएको व्यक्ति तिनीहरू नजिकै उभिरहेको देखिसकेपछि तिनीहरूले केही भन्न सकेनन्। त्यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई महासभाबाट बाहिर जाने आदेश दिए। उनीहरू बाहिर गएपछि तिनीहरूले आपसमा यसो भन्दै सरसल्लाह गर्न थाले। “यी मानिसहरूसँग हामीले कस्तो व्यवहार गरौँ?” तिनीहरूले सोध्न थाले। “तिनीहरूले गरेका अलौकिक चिन्हहरूको बारेमा यरूशलेममा बस्ने हरेक व्यक्तिले थाहा पाएका छन्, र हामी पनि यो कुरा इन्कार गर्न सक्दैनौँ। तर यो कुरा अरू बढी मानिसहरूमा प्रचार हुनबाट रोक्नका निम्ति येशूको नाममा अब उप्रान्त कसैसँग नबोल्नू भनेर यिनीहरूलाई हामीले चेतावनी दिनैपर्छ।” त्यसपछि तिनीहरूले उनीहरूलाई फेरि भित्र बोलाए; अनि येशूको नाममा केही पनि प्रचार नगर्नू र नसिकाउनू भनी आदेश दिए। तर पत्रुस र यूहन्नाले जवाफ दिए, “परमेश्वरको कुरा नसुनेर तपाईंहरूको कुरा सुन्नु परमेश्वरका दृष्टिमा कुनचाहिँ उचित हुनेछ? आफैँ न्याय गर्नुहोस्! किनकि जे कुरा हामीले देख्यौँ र सुन्यौँ, त्यो वचन नबोली हामी बस्न पटक्कै सक्दैनौँ।”
प्रेरित 4:1-20 पवित्र बाइबल (NERV)
जब पत्रुस र यूहन्ना मानिसहरूसँग बोलिरहेका थिए, केही मानिसहरू तिनीहरूकहाँ आए। तिनीहरू यहूदी पूजाहारीहरू मन्दिरको देखरेख गर्नेहरूको कप्तान र केही सदुकीहरू थिए। पत्रुस र यहून्नाले जे जती कुराहरू मानिसहरूलाई सिकाए त्यसकारणले तिनीहरू रिसाइसकेका थिए। ती दुइ प्रेरितहरूले भन्दै थिए मानिसहरू मृत्युबाट जाग्नेछन्। येशूको उदाहरण दिएर तिनीहरूले यो सिकाए। यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई पक्रे अनि जेलमा थुनामा राखे। रात परिसकेको थियो, यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई अर्को दिन सम्म जेलमा राखे। तर धेरै मानिसहरू ज-जसले पत्रुस र यूहन्नाको समाचार सुनेका थिए, तिनीहरू विश्वासी बनिए। यसर्थ अहिले त्यहाँ प्रायः पाँच हजार पुरूषहरू विश्वासीहरूको हूलमा थिए। अर्को दिन यहूदी अगुवाहरू, बूढा यहूदी अगुवाहरू र शास्त्रीहरू यरूशलेममा भेट्न गए। प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना र अलेकजाण्डरहरू त्यहाँ थिए। सबै मानसिहरू जो प्रधान पूजाहारी चुनिने एक परिवारका थिए। तिनीहरूले पत्रुस र यूहन्नालाई सबैजना समक्ष उभ्याए। यहूदी अगुवाहरूले तिनीहरूलाई धेरै पल्ट सोधे, “यस लङ्गडो मानिसलाई तिमीहरूले कसरी ठीक पार्यो? के शक्तिले तिमीहरूले यो काम गरयौ? कसको अधिकार लिएर तिमीहरूले यसो गर्यौ?” तब पवित्र आत्माले पत्रुस भरिपूर्ण भयो। उनले तिनीहरूलाई भने, “मानिसहरूका अगुवाहरू र बूढा अगुवाहरूः तिमीहरूले यस्ता असल काम गरेको विषयमा अहिले हामीलाई प्रश्न गरिरहेछौ कि यो लङ्गडो मानिस कसरी निको भयो? तिमीहरू सबै, यहूदी मानिसहरूले जानुन् कि यो लङ्गडो मानिस नासरतका येशू ख्रीष्टको शक्तिद्वारा निको भएको हो! जसलाई तिमीहरूले क्रूसमा किला ठोक्यौ। परमेश्वरले उहाँलाई मृत्युबाट जीवनमा बौराउनु भयो। यो मानिस लङ्गडो थियो, तर अब ठीक छ। ऊ तिमीहरू सामु उभिन सामर्थ छ येशूको शक्तिले गर्दा। येशू हुनुहुन्छ ‘यो ढुङ्गालाई तिमी डकर्मीहरूले कुनै महत्व नै दिएनौ, तर यो ढुङ्गा मूल-ढुङ्गा हुनगएको छ।’ येशू मात्र एक त्यस्तो हुनुहुन्छ जो मानिसहरूलाई बचाउन योग्य हुनु हुन्छ। उहाँको नाँउ मात्र यो संसारका मानिसहरूलाई दिइएको एक शक्ति हो, जसद्वारा हामी बचाइन सक्छौ।” यहूदी अगुवाहरूले जाने कि पत्रुस र यूहन्नामा कुनै त्यसो खास प्रशिक्षण र शिक्षा छैन रहेछ भनेर। तर अगुवाहरूले पत्रुस र यूहन्ना निडरसाथ बोलेका पनि देखेका थिए। यसैले तिनीहरू छक्क परेका थिए। त्यसपछि मात्र तिनीहरूले पत्रुस र यूहन्ना येशूसँगै रहन्थे भनेर थाहा पाए। तिनीहरूले त्यो लङ्गडो मानिस दुइ प्रेरितहरूको छेउमा बसेको देखे। त्यो मानिस निको भएको थियो। यसैकारणले तिनीहरूले ती प्रेरितहरूले भनेको विरूद्ध केही उत्तर दिन सकेनन्। यहूदी अगुवाहरूले तिनीहरूलाई महासभाबाट बाहिर जान भने। त्यसपछि ती यहूदी नेताहरू आपसमा अब के गर्नु पर्ने भन्ने कुरामा वहश गरे। तिनीहरूले भने, “हामीहरूले ती प्रेरितहरूसित के गर्नु पर्ने? यरूशलेमका प्रत्येक मानिसहरूले जान्दछन् कि तिनीहरूले ठूलो आर्श्चयकर्म गरेकाछन्। यो छर्लङ्गा छ। हामी यसलाई सत्य होइन भन्न सक्तैनौ। तर हामीहरू तिनीहरूलाई येशूको विषयमा मानिसहरूलाई अझ धेरै नबताउनु भनेर हामीले यिनीहरूलाई चेताउनी दिनुपर्छ। तब यो विषय मानिसहरू बीच अझ फैलिने छैन।” यसर्थ यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई फेरि भित्र बोलाए। तिनीहरूले तिनीहरूलाई मानिसहरूलाई येशूको नाउँमा कुनै कुरा नसिकाउनु भनी आदेश गरे। तर पत्रुस अनि यूहन्नाले उत्तर दिए, “परमेश्वर समक्ष के सही छ? तिमीलाई सुन्नु कि परमेश्वरलाई? तिमीहरू आफैं निर्णय गर। हामी चुपचाप बस्न सक्तैनौ। हामीले जे-जे सुन्यौ र देख्यौं हामीले ती कुराहरू मानिसहरूलाई भन्नु पर्छ।”
प्रेरित 4:1-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पत्रुस र यूहन्ना मानिसहरूसँग यसरी कुरा गर्दागर्दै पूजाहारी र सदुकीहरू अनि मन्दिरका सिपाहीहरूका कप्तान आए। ती दुई प्रेरितहरूले ‘येशू मरेकोबाट बिउँतनुभएको छ, त्यसैले अरू मरेका मानिसहरू पनि बिउँतनेछन्’ भनी प्रमाण दिए। यसकारण सदुकीहरू रिसाए। तिनीहरूले पत्रुस र यूहन्नालाई पक्रे। त्यतिखेर मुद्दा चलाउन ढिलो भएकोले तिनीहरूले उनीहरूलाई रातभरिका लागि थुने। तर ती दुई प्रेरितको सन्देश सुन्नेहरूमध्ये धेरै जनाले विश्वास गरे र विश्वास गर्ने पुरुषहरूको सङ्ख्या बढेर पाँच हजार जति पुग्यो। भोलिपल्ट मुख्य पूजाहारीहरू, धर्म-गुरुहरू र अरू अगुवाहरू यरूशलेममा भेला भए। यस सभामा हन्नास भन्ने प्रधान पूजाहारी र उनका नाता पर्ने कैयाफा, यूहन्ना, अलेक्जेन्डर र हन्नासका घरानाका अरू मानिसहरू पनि थिए। तिनीहरूले पत्रुस र यूहन्नालाई सभाको सामुन्ने ल्याए र सोधे, “तिमीहरूले कुन शक्तिले या कसको नाउँमा यस लङ्गडालाई निको पारेका हौ?” पवित्र आत्माले भरिएर पत्रुसले तिनीहरूलाई भने, “जनताका माननीय शासक र अगुवाहरू हो, यस लङ्गडा मानिसलाई दया गरेर निको पारेको हुनाले हामीलाई आज यस सभाको अगाडि उभिनुपरेको हो भने अनि हामीले यस मानिसलाई कसरी निको पारेका छौं भन्ने कुरा तपाईंहरूले हामीबाट जान्न चाहनुहुन्छ भने तपाईंहरू र इस्राएलका सबै मानिसहरूलाई थाहा होस् कि– तपाईंहरूको अगाडि उभिएको यो मानिस नासरतको येशूको नाउँमा निको भएको हो। तपाईंहरूले चाहिँ येशूलाई क्रूसमा झुण्ड्याएर मार्नुभयो। तर परमेश्वरले उहाँलाई मरेकोबाट बिउँताउनुभयो। धर्मशास्त्रको यो कुरा उहाँकै बारेमा लेखिएको हो– जुन ढुङ्गालाई डकर्मीहरूले बेकामको ठाने, त्यही ढुङ्गा जगको मुख्य ढुङ्गा बन्यो। “येशू ख्रीष्टबाहेक अरू कसैले पनि मानिसहरूलाई मुक्ति दिन सक्दैन। परमेश्वरले येशूको नाउँबाहेक संसारमा अरू कुनै नाउँ जनाउनुभएको छैन, जसबाट हामीले मुक्ति पाउन सक्छौं।” पत्रुस र यूहन्ना धेरै नपढेका साधारण मानिस थिए। तैपनि उनीहरूले ठूलो साहससँग बोले। यो देखेर सभाका मानिसहरू सबै छक्क परे। पत्रुस र यूहन्ना पनि येशूसँगै रहन्थे भन्ने कुरा तिनीहरूले थाहा पाए। तर त्यो निको भएको लङ्गडोलाई पत्रुस र यूहन्नासँगै उभिरहेको देखेर तिनीहरूले उनीहरूलाई केही भन्न सकेनन्। त्यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई सभाबाट बाहिर जाने आज्ञा गरे अनि तिनीहरूले चाहिँ मिलेर यसरी छलफल गर्न लागे, “अब यी मानिसहरूलाई हामीहरू के गरौं? यरूशलेमका सबै मानिसले तिनीहरूले गरेको यो अचम्मको काम थाहा पाएका छन्। अब यस कुरालाई हामीले होइन भन्न सक्दैनौं। तैपनि यो कुरा अरू मानिसहरूको बीचमा फैलिन दिनुहुँदैन। त्यसकारण उनीहरूलाई ‘येशूको बारेमा अबदेखि कुनै कुरा पनि कसैसँग नगर्नू’ भनेर कडा आज्ञा दिऔं।” त्यसपछि तिनीहरूले पत्रुस र यूहन्नालाई भित्र बोलाएर ‘अबदेखि येशूको बारेमा कसैसँग कहिल्यै पनि कुरा नगर्नू अनि नसिकाउनू’ भनेर कडा आज्ञा दिए। तर पत्रुस र यूहन्नाले तिनीहरूलाई जवाफ दिए, “तपाईंहरूले भनेको कुरा मान्नु कि परमेश्वरले नै भन्नुभएको कुरा मान्नु, परमेश्वरको अघि कुनचाहिँ ठीक छ? तपाईंहरू आफैं विचार गर्नुहोस्। हामी त आफैंले सुनेका र देखेका कुरा नभनी चुप लागेर बस्न सक्दैनौं।”