परमेश्वरका सहकर्मीको नाताले हामी तिमीहरूलाई परमेश्वरको अनुग्रहलाई व्यर्थैमा नलेओ भनी आग्रह गर्छौँ। किनकि उहाँ भन्नुहुन्छ,
“मेरो निगाहको समयमा मैले तेरो पुकार सुनेको छु;
अनि मुक्तिको दिनमा मैले तँलाई मदत गरेको छु।”
म तिमीलाई भन्दछु, परमेश्वरको निगाहको समय यही हो, मुक्तिको दिन अहिले नै हो।
हाम्रो सेवामाथि दोष नलागोस् भनी हामी कसैको बाटोमा ठेस लाग्ने कुरा राख्दैनौँ। बरु परमेश्वरका सेवकहरूको रूपमा हामी आफूलाई प्रत्येक कुरामा समर्पण गर्दछौँ: धेरै सहनशीलतामा, दुःखहरूमा, कठिन अवस्थाहरूमा, सङ्कष्टहरूमा, पिटाइहरूमा, कैदमा, हुलदङ्गाहरूमा; कठोर परिश्रममा, अनिदा रातहरूमा, भोकमा, शुद्धतामा, समझमा, धीरजमा, दयामा, पवित्र आत्मामा, निष्कपट प्रेममा, सत्य वचनमा, परमेश्वरको शक्तिमा; धार्मिकताका हतियार दाहिने र देब्रे हातमा लिएर; आदरमा र अनादरमा, बदनाममा र सुनाममा, छली ठानिएका जस्ता, तैपनि सत्य; नचिनिएका जस्ता, तर पनि चिनिएका; मर्दै गरेका जस्ता, तर पनि बाँचेका; पिटिएका जस्ता, तर पनि नमारिएका, दुःखले पूर्ण भएका जस्ता, र पनि सधैँ आनन्दित हुनेजस्ता, गरिबजस्ता, र पनि धेरैलाई धनी बनाउनेजस्ता, केही नभएका जस्ता, र पनि सबै थोक भएका जस्ता छौँ।