२ कोरिन्थी 6:1-10

२ कोरिन्थी 6:1-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमेश्‍वरका सहकर्मी भएका हुनाले हामी तिमीहरूलाई बिन्‍ती गर्छौं, कि उहाँको अनुग्रह व्‍यर्थ हुन नदेओ, किनभने उहाँ भन्‍नुहुन्‍छ, “ग्रहणयोग्‍य समयमा मैले तिम्रो पुकारा सुनें, र मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरें।” हेर, ग्रहणयोग्‍य समय अहिले हो, मुक्तिको दिन अहिले हो। हाम्रो सेवामा दोष नभेटोस्‌ भनेर हामी कसैको मार्गमा बाधाको कारण राख्‍दैनौं, तर हरतरहले हामी आफैलाई परमेश्‍वरका सेवकहरू हौं भन्‍ने देखाउँछौं— ज्‍यादै सहनशीलतामा, कष्‍टमा, कठिनाइमा, आपद्‌-विपद्‌मा, कुटाइ-चुटाइमा, कैदमा, हूलदङ्गामा, परिश्रममा, अनिदो बस्‍दा, भोकमा, शुद्धतामा, ज्ञानमा, धैर्यमा, दयामा, पवित्र आत्‍मामा, साँचो प्रेममा, सत्‍य बोलीमा र परमेश्‍वरको शक्तिमा, दाहिने र देब्रेपट्टि धार्मिकताको अस्‍त्र-शस्‍त्र धारण गरेर, आदरमा र अनादरमा, बदनाम र सुनाममा। हामी ठगाहाझैँ ठानिन्‍छौं, तर हामी साँचा छौं। अपरिचित भए, तापनि सुपरिचित छौं। मर्न लागेका झैँ, तापनि हामी बाँचेकै छौं। सजाय भोगेका, तापनि मारिएका छैनौं। अफसोसी, तापनि सधैँ आनन्‍दित। गरीब, तापनि धेरैलाई धनी तुल्‍याउने। केही नभएजस्‍तो, तापनि सबै थोक भएका।

शेयर गर्नुहोस्
२ कोरिन्थी 6 पढ्नुहोस्

२ कोरिन्थी 6:1-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

परमेश्‍वरका सहकर्मीको नाताले हामी तिमीहरूलाई परमेश्‍वरको अनुग्रहलाई व्यर्थैमा नलेओ भनी आग्रह गर्छौँ। किनकि उहाँ भन्‍नुहुन्छ, “मेरो निगाहको समयमा मैले तेरो पुकार सुनेको छु; अनि मुक्तिको दिनमा मैले तँलाई मदत गरेको छु।” म तिमीलाई भन्दछु, परमेश्‍वरको निगाहको समय यही हो, मुक्तिको दिन अहिले नै हो। हाम्रो सेवामाथि दोष नलागोस् भनी हामी कसैको बाटोमा ठेस लाग्ने कुरा राख्दैनौँ। बरु परमेश्‍वरका सेवकहरूको रूपमा हामी आफूलाई प्रत्येक कुरामा समर्पण गर्दछौँ: धेरै सहनशीलतामा, दुःखहरूमा, कठिन अवस्थाहरूमा, सङ्कष्‍टहरूमा, पिटाइहरूमा, कैदमा, हुलदङ्गाहरूमा; कठोर परिश्रममा, अनिदा रातहरूमा, भोकमा, शुद्धतामा, समझमा, धीरजमा, दयामा, पवित्र आत्मामा, निष्कपट प्रेममा, सत्य वचनमा, परमेश्‍वरको शक्तिमा; धार्मिकताका हतियार दाहिने र देब्रे हातमा लिएर; आदरमा र अनादरमा, बदनाममा र सुनाममा, छली ठानिएका जस्ता, तैपनि सत्य; नचिनिएका जस्ता, तर पनि चिनिएका; मर्दै गरेका जस्ता, तर पनि बाँचेका; पिटिएका जस्ता, तर पनि नमारिएका, दुःखले पूर्ण भएका जस्ता, र पनि सधैँ आनन्दित हुनेजस्ता, गरिबजस्ता, र पनि धेरैलाई धनी बनाउनेजस्ता, केही नभएका जस्ता, र पनि सबै थोक भएका जस्ता छौँ।

शेयर गर्नुहोस्
२ कोरिन्थी 6 पढ्नुहोस्

२ कोरिन्थी 6:1-10 पवित्र बाइबल (NERV)

परमेश्वरका हामी सहकर्मीहरू हौं। यसैले, हामी तिमीहरूलाई विन्ती गर्छौं जुन अनुग्रह परमेश्वरबाट पाएका छौ व्यर्थ हुन नदेऊ। परमेश्वर भन्नु हुन्छः “ठीक समयमा मैले तिमीलाई सुनें, अनि मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरें।” तिमीहरूलाई म भन्दछु “ठीक समय” अहिले नै हो “मुक्तिको दिन” आजै हो। मानिसहरूले हाम्रा काममा कुनै भुल नभेटुन् भन्ने हामी चाहन्छौ। त्यसैले अरू मानिसहरूकोलागि समस्या बन्ने कुनै काम हामी गर्दैनौं। तर दुःखमा, अफ्ठ्यारोमा, ठूल्ठूला समयस्याहरूमा अनि जम्मै परिस्थिहरूमा हामी आफैंलाई परमेश्वरका सेवकहरू हौं भन्ने देखाउँछौं हामी यस्तो गर्छौ, जब हामी कुटाइ खान्छौं, हामी जेलमा हुन्छौं, जब मानिसहरूले हाम्रो विरोधमा आवाज उठाउँछन्, जब हामीले कठिन परिश्रम गर्नु पर्छ, जब हामी सुत्न पाउँदैनौ अनि हाम्रोमा खाने वस्तु हुँदैन हामी हाम्र समझदारीले, धैर्यले, दया अनि पवित्र आत्मामा जीवनद्वारा परमेश्वरको कर्मीहरू हौं भनी आफैं देखाँउछौं। हामी पवित्र आत्माबाट, साँच्चो प्रेमबाट, सत्य प्रचार गर्दै र परमेश्वरको शक्ति मार्फत यस्तो देखाँउछौं। हरेक कुराबाट आफ्नो रक्षा गर्न हामी धार्मिक जीवनको उपयोग गर्र्छौं। कसैले हामीलाई आदर गर्छन् तर कसैले अनादर गर्छन। कसैले हाम्रो बारेमा प्रशंसा गर्छन् तर कसैले निन्दा गर्छन। कसैले भन्छन् हामी ठगाहा हौं तर हामी सत्य बोल्छौं। कति मानिसहरूकोलागि हामी अपरिचित छौं, तरैपनि हामी सुपरिचित छौं। हामी मर्न लागेका ठानिन्छौं, तर हेर! हामी बाँचिराखेका छौं। हामी दण्डित छौं, तर हामी मारिएका छैनौं। हामी धेरै दुःखी छौं, तर हामी खुशी मनाइरहेकै छौं। हामी गरीब हौं, तर हामीले धेरै मानिसहरूलाई धनी बनाइरहेका छौं। हामीसित केही छैन, तर पनि वास्तवमा हामीसित प्रत्येक चीज छ।

शेयर गर्नुहोस्
२ कोरिन्थी 6 पढ्नुहोस्

२ कोरिन्थी 6:1-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हामी परमेश्‍वरसँगै काम गर्दछौं र यसै हैसियतले तिमीहरूलाई बिन्‍ती गर्छौं, तिमीहरूले परमेश्‍वरको अनुग्रह पाएर अब त्‍यो खेर जान नदेओ। परमेश्‍वर भन्‍नुहुन्‍छ, “तिम्रो पक्ष लिनुपर्ने बेलामा तिम्रो कुरा सुनेर बचाइने दिनमा तिमीलाई मद्दत गरें।” हेर! परमेश्‍वरको अनुग्रह पाउने बेला अहिले हो र बचाइने दिन त आज नै हो! हामीले गरेको कामको निन्‍दा नहोस् भनेर हामी कसैलाई बाधा दिने काम गर्दैनौं। तर हामी सबै कुरामा परमेश्‍वरको सेवा गर्ने जस्‍तो हुनुपर्ने हो, त्‍यस्‍तै छौं। हामीले सबै कुरा सहेर, दु:ख पाउँदा, अप्‍ठ्यारो पर्दा, निराश हुँदा, सबै धैर्यसाथ सहन गर्दछौं। हामीले कुटाइ खाएका छौं, थुनामा परेका छौं, हाम्रो विरोधमा धुइरो उठेको छ। ज्‍यादै काममा खट्‍नुपरेको छ। खान र सुत्‍न पनि नपाई बसेका छौं। हामीले आफ्‍नो पवित्रताले, ज्ञानले, सहने शक्तिले र दयाले, पवित्र आत्‍माले, साँचो प्रेमले, सत्‍य सन्‍देशले र परमेश्‍वरकै शक्तिले नै उहाँको काम गर्ने हौं भनेर देखायौं। कसैसँग लड्‍नुपरे पनि, आफ्‍नो रक्षा गर्नुपरे पनि हामीसँग त एउटै मात्र हतियार छ। यो हतियारचाहिँ परमेश्‍वरको अघि ठीक काम गर्नु हो। हाम्रो इज्‍जत पनि भयो, बेइज्‍जत पनि भयो। कुनाम पनि चल्‍यो, सुनाम पनि। हामीले झूटो मानिसको जस्‍तो व्‍यवहार पायौं, तर पनि हामी सत्‍य बोल्‍छौं। हामी नचिन्‍नेजस्‍ता भए पनि हामीलाई सबैले चिन्‍छन्। मरेजस्‍तै भए पनि बाँचेका छौं, सजाय पाइरहे पनि मारिएका छैनौं। दिक्‍दारी, सुर्तामा परिरहेजस्‍तो भए पनि सधैँ खुसी छौं। हामी गरीबजस्‍ता भए पनि धेरैलाई धनी बनाउँछौं। केही नभएका कङ्गालजस्‍ता देखिए पनि हामीसँग सबै कुरा छन्।

शेयर गर्नुहोस्
२ कोरिन्थी 6 पढ्नुहोस्