त्यसपछि केही मानिसहरूले एकजना मानिसलाई येशू कहाँ ल्याए। उ अन्धो थियो अनि बोल्न पनि सक्दैनथ्यो किनकि उसलाई भूत लागेको थियो। उहाँले त्यसलाई निको पार्नुभयो अनि त्यस मानिसले बोल्न अनि देख्न थाल्यो। सबै मानिसहरू चकित भए। तिनीहरूले भने, “निश्चयनै यी मानिस नै दाऊदका पुत्र हुन् जसलाई परमेश्वरले हामीकहाँ पठाउने प्रतिज्ञा गर्नु भएको थियो?” जब फरिसीहरूले मानिसहरूको मुखबाट यस्तो कुरा सुने तब तिनीहरूले भने, “येशूले मानिसरूबाट भूत भगाउनका निम्ति बालजिबुल शक्तिको प्रयोग गर्दछन्। बालजिबुल भूतहरूको शासक हो।” येशूले फरिसीहरूले सोचेका कुरा थाहा पाउनुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “आपसमा झगडा गर्ने कुनै पनि राज्य ध्वंस हुनेछ त्यसै गरी आफैंमा विभाजन भएको नगर टिक्ने छैन। त्यसरीनै विभाजन भएको कुनै परिवार सफल हुँदैन। यदि शैतानले शैतानलाई निकाल्दछ भने, त्यो आफ्नै विरुद्ध विभाजित हुन्छ। तब कसरी उसको राज्य टिक्न वा चल्न सक्छ? तिमीहरूले भन्दैछौ कि मैले शैतानको शक्तिद्वारा भूतहरू भगाउँदैछु। यदि यो सत्य हो भने, तिम्रा मानिसहरूले भूत भगाउन कुन शक्तिको प्रयोग गर्दैछन्? यसकारण तिमीहरूका आफ्नै मानिसहरूले तिमीहरूको भूल कोट्याउनेछन्। तर म परमेश्वरका आत्माको शक्तिद्वारा भूतहरू भगाउँछु। यसबाट यो थाहा हुन्छ कि परमेश्वरको राज्य अघि नै तिमीहरूमा आइसकेको छ। यदि कुनै मानिसले कुनै एक बलवान मानिसको घरमा लुटपाट गर्न चाहन्छ भने, सर्वप्रथम उसले त्यो बलवान मानिसलाई साङ्लोले बाँधेर राख्नुपर्छ। त्यसपछि मात्र त्यो मानिसले घर लुट्न सक्दछ। जो मानिस मसित छैन, त्यो मेरो विरुद्धमा छ। मसित काम नर्गेनले मेरो विरूद्धमा काम गरिरहेको हुन्छ। “यसैले म तिमीहरूलाई भन्दछु, तिनीहरूले गरेका हरेक पापका निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। अनि तिनीहरूले भनेका सबै नराम्रा शब्दहरूको निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। तर यदि कसैले पवित्र आत्माको विरुद्धमा कुरा गर्छ भने उसलाई क्षमा गरिनेछैन। यदि कसैले मानिसका पुत्रका विरुद्धमा कुरा गरे उसलाई क्षमा हुनेछ। तर कसैले पवित्र आत्माको विरुद्धमा-कुरा गरे क्षमा हुनेछैन। त्यस मानिसलाई न ता अहिले क्षमा दिइन्छ न ता भविष्यमानै। “यदि तिमीहरू असल फल चाहन्छौ भने तिमीहरूले बृक्षलाईनै असल तुल्याउनु पर्छ। यदि तिमीहरूको बृक्षनै नराम्रो छ भने त्यसको फल पनि नराम्रो हुनेछ। किनकि त्यसको फलबाटनै बोटलाई चिन्न सकिन्छ। ए सर्पहरू, तिमीहरू दुष्ट मतिका छौ। तिमीहरूबाट कसरी असल कुराहरू आउनसक्छ। हृदयमा जे कुरा थुपरीएको छ त्यही कुराहरू नै मुखले बोल्दछ। असल मानिसले असलै कुराहरू हृदयमा थुपारेको हुन्छ। यसर्थ राम्रै कुराहरू उसले बोल्दछ। तर एउटा दुष्ट मानिसले हृदयमा दुष्ट कुराहरू नै राखेका हुन्छ र उसले बोलेको बेलामा हृदयमा भएका दुष्ट कुराहरू नै उसले बोल्दछ। यसर्थ म तिमीहरूलाई भन्दछु प्रत्येक मानिसले आफूले बोलेका हरेक लापरवाही कुराहरूको विवरण न्यायको दिनमा दिनु पर्नेछ। तिमीलाई तिम्रा आफ्नै कुराहरूद्वारा न्याय गरिनेछ। तिम्रा कतिपय कुराहरूले तिमीलाई सही तुल्याउँनेछ अनि तिम्रा कतिपय कुराहरूले तिमीहरूलाई दोषी ठहराउनेछ।” तब केही शास्त्रीहरू र फरिसीहरूले येशूलाई जवाफ दिए। तिनीहरूले भने, “गुरूज्यू, हामी तपाईंबाट एउटा आश्चर्यको चिन्ह हेर्न चाहन्छौ।” येशूले जवाफ दिनुभयो, “दुष्ट र पापी मानिसहरूले प्रमाणकोलगि चमत्कार खोज्दैछन्। तर त्यस्ता मानिसहरूलाई प्रमाणकोलागि कुनै चमत्कार देखाइने छैन। अगमवक्ता योनाको चिन्ह बाहेक। तीन दिन र तीन रात सम्म योना एउटा ठूलो माछाको पेटमा थिए। त्यसरी नै तीन दिन र तीन रात सम्म मानिसको पुत्र पृथ्वीको पेटभित्र रहनेछ। अनि न्यायको दिनमा तिनीहरू दोषी छन् भनी देखाउनका निम्ति निनवेका मानिसहरू यस पुस्ताको साथमा खड़ा हुनेछन्। किनभने योनाले तिनीहरूलाई उपदेश दिएका थिए, अनि तिनीहरूले आफ्नो जीवननै बद्लेका थिए। अनि अझ यहाँ एक मानिस छ त्यो योना अगमवक्ता भन्दा महान छ। “न्यायको दिनमा दक्षिणको महारानी यस पुस्ताको अगाडी खडा हुनेछिन् र उनैले तिनीहरूलाई दोषी भनी प्रमाण दिने छिन्। किनभने सुलेमानका ज्ञानहरू सुन्न महारानीले धेरै-टाढासम्मको यात्रा गरेकी थिइन्। अनि अझ यहाँ एक मानिस छ त्यो सुलेमानभन्दा महान छ। “जब दुष्ट आत्मा मानिसबाट निस्केर जान्छ, त्यो ओबानो ठाउँतिर विश्राम खोज्दै हिड्छ तर त्यसले भेट्टाउन सक्तैन। तब त्यस दुष्ट आत्माले भन्छ, ‘म आफ्नै अघिको घरमा फर्किजानेछु, जसलाई मैले छाडेर आएँ।’ त्यो फर्केर आउँछ र पहिलेको उसको घरभित्र रित्तो र सफा गरि राखेको भेट्टाउँछ। त्यसपछि त्यो दुष्ट आत्मा जान्छ, र आफू भन्दा बढ़ता अरू सातवटा दुष्ट आत्माहरू ल्याउँछ। तब सबै दुष्ट आत्माहरू त्यस मानिस भित्र पसेर त्यहाँ बास गर्छन् र त्यस मानिसहरूको अवस्था पहिलेको भन्दा झन खराब हुन्छ अनि त्यही अवस्था त्यो दुष्ट पुस्तामाथि पनि हुन्छ।”
मत्तीको सुसमाचार 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्तीको सुसमाचार 12:22-45
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू