मत्ती 12:22-45
मत्ती 12:22-45 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब उहाँकहाँ भूत लागेको एक जना अन्धो र गूँगो मान्छे ल्याइयो। येशूले त्यसलाई निको पार्नुभयो, यतिसम्म कि, त्यो गूँगो मानिस बोल्ने र देख्ने भयो। अनि सबै भीड़ले अचम्म मानेर भने, “के यिनी दाऊदका पुत्र नै हुन सक्छन्?” तर यो सुनेर फरिसीहरूले भने, “यस मानिसले भूतको मालिक बालजिबुलद्वारा मात्र भूतहरूलाई धपाउँछ।” तर उहाँले तिनीहरूको विचार थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “आपसमा फूट परेको हरेक राज्य उजाड पारिनेछ, र हरेक सहर अथवा परिवार आफ्नै बीचमा फाटो पर्यो भने टिक्नेछैन। यदि शैतानले शैतानलाई निकाल्दछ भने, त्यो आफ्नै विरुद्ध विभाजित हुन्छ, र त्यसो भए त्यसको राज्य कसरी टिक्न सक्छ? यदि मैले बालजिबुलद्वारा भूतहरू धपाउँछु भने, तिमीहरूका छोराहरूले चाहिँ कसद्वारा ती निकाल्दछन्? यसकारण तिनीहरू नै तिमीहरूका न्यायकर्ता हुनेछन्। तर यदि परमेश्वरका आत्माद्वारा म भूतहरू धपाउँछु भने परमेश्वरको राज्य तिमीहरूमा आइसकेको छ। “पहिले बलियो मानिसलाई नबाँधिकन, त्यसको घरभित्र पसेर कसले त्यसको धनमाल लिएर जान सक्छ? त्यस बलियो मानिसलाई बाँधेपछि मात्र त्यसको घर लुट्न सक्छ। “जो मेरो साथ छैन, त्यो मेरो विरुद्धमा छ, र जसले मसँग बटुल्दैन, त्यसले छरपष्ट पार्छ। त्यसैकारण म तिमीहरूलाई भन्दछु, मानिसहरूले गरेको हरेक पाप र ईश्वर-निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुनेछैन। कसैले मानिसको पुत्रको विरुद्धमा केही भन्यो भने त्यसलाई क्षमा हुनेछ, तर कसैले पवित्र आत्माको विरुद्धमा बोल्यो भने त्यसलाई यस युगमा र आउने युगमा पनि क्षमा हुनेछैन। “कि रूखलाई असल बनाओ, र त्यसको फल असल हुनेछ। कि रूखलाई खराब बनाओ र त्यसको फल पनि खराब हुनेछ। किनभने फलबाट नै रूख चिनिन्छ। ए सर्पका बच्चा हो! तिमीहरू आफै दुष्ट छौ, असल कुरा कसरी बोल्न सक्छौ? किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन्। असल मानिसले आफू भित्र भरिएका असल थोकबाट असलै थोक निकाल्छ, तर दुष्ट मानिसले आफूमा भरिएको दुष्टताबाट दुष्ट थोक नै निकाल्छ। म तिमीहरूलाई भन्दछु, हरेक व्यर्थको कुरा जो मानिसहरू बोल्दछन्, न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनुपर्नेछ।’ किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ।” तब शास्त्रीहरू र फरिसीहरूमध्ये कुनै-कुनैले उहाँलाई भने, “गुरुज्यू, हामी तपाईंबाट एउटा चिन्ह हेर्न चाहन्छौं।” उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ। तर यस पुस्तालाई योना अगमवक्ताको चिन्हबाहेक अरू चिन्ह दिइनेछैन। किनकि जसरी योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात थिए, उसरी नै मानिसको पुत्र पनि पृथ्वीको गर्भमा तीन दिन र तीन रात रहनेछ। निनवेका मानिसहरू न्यायको दिनमा यस पुस्ताको साथ खड़ा हुनेछन्, र यसलाई दोषी ठहराउनेछन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्चात्ताप गरेथे, तर हेर, योनाभन्दा महान् कोही यहाँ छ। दक्षिणकी महारानी न्यायको दिनमा यस पुस्ताको साथ खड़ा हुनेछिन्, र यसलाई दोषी ठहराउनेछिन्, किनकि तिनी पृथ्वीको पल्लो छेउदेखि सोलोमनको बुद्धिका कुरा सुन्नलाई आइन्। तर हेर, सोलोमनभन्दा महान् कोही यहाँ छ। “जब अशुद्ध आत्मा मानिसबाट निस्केर जान्छ, त्यो विश्राम खोज्दै ओबानो ठाउँतिर डुलिहिँड्छ, तर कतै पाउँदैन। तब त्यसले भन्छ, ‘जहाँबाट म निस्केर आएँ, त्यहीँ आफ्नो घरमा म फर्किजानेछु।’ फर्किआउँदा त्यसले घर रित्तो, सफा गरिराखेको, र सजिएको भेट्टाउँछ। तब त्यो जान्छ र आफूभन्दा बढ़ी दुष्ट अरू सात वटा भूतात्मा आफूसँग ल्याउँछ, र भित्र पसेर तिनीहरू त्यहाँ वास गर्छन्, र त्यस मानिसको पछिल्लो दशा अघिल्लोभन्दा अझ नराम्रो हुन्छ। यस दुष्ट पुस्तालाई पनि त्यस्तै हुनेछ।”
मत्ती 12:22-45 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब तिनीहरूले उहाँकहाँ एक जना भूत लागेको मानिसलाई ल्याए, जो दृष्टिविहीन थियो, र बोल्न पनि सक्दैनथियो; अनि येशूले त्यसलाई निको पार्नुभयो, र त्यसले देख्न र बोल्न पनि सक्यो। ती सबै मानिसहरू छक्क पर्दै भने, “के यिनी नै दावीदका पुत्र होइनन् र?” तर जब फरिसीहरूले यो सुने, तब तिनीहरूले भने, “यसले त केवल भूतहरूको शासक बालजिबुलद्वारा मात्रै भूतहरू धपाउँछ।” येशूले तिनीहरूका विचार थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “आपसमा फाटो भएको प्रत्येक राज्य नष्ट भएर जान्छ, र प्रत्येक सहर र परिवार आपसमा विभाजित हुन्छ भने त्यो टिक्न सक्दैन। यदि शैतानले शैतानलाई धपाउँछ भने त्यो आफ्नै विरुद्धमा विभाजित भएको हुन्छ; तब त्यसको राज्य कसरी टिक्न सक्छ? यदि म बालजिबुलद्वारा भूतहरू निकाल्छु भने तिमीहरूका मानिसहरूले चाहिँ कसको शक्तिद्वारा तिनीहरूलाई निकाल्छन् त? यसकारण तिनीहरू नै तिमीहरूका न्यायकर्ता हुनेछन्। तर यदि म परमेश्वरको आत्माले भूतहरू निकाल्छु भने परमेश्वरको राज्य तिमीहरूमा आइसकेको छ। “अथवा फेरि, कसैले घरको बलियो मानिसलाई पहिला नबाँधि कसरी उसको घरमा पसेर उसका सबै थोकहरू लैजान सक्ला र? तर उसलाई बाँधेपछि मात्र त्यसले उसको घर लुट्न सक्छ। “जो मसँग छैन, त्यो मेरो विरुद्धमा हुन्छ। जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्दछ। यसकारण म भन्दछु, हरेक किसिमको पाप र निन्दा मानिसलाई क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा भएको निन्दा क्षमा हुनेछैन। कसैले मानिसको पुत्रको विरुद्धमा केही बोल्यो भने त्यसलाई क्षमा गरिनेछ; तर कसैले पवित्र आत्माको विरुद्धमा बोल्यो भने त्यसलाई न यस समयमा, न त आउने समयमा नै क्षमा गरिनेछ। “रूखलाई असल बनाओ, र त्यसको फल असल हुनेछ, अथवा रूखलाई खराब बनाओ, र त्यसको फल खराब हुनेछ; किनकि फलबाटै रूख चिनिन्छ। हे सर्पका सन्तान हो, तिमीहरू दुष्ट भईकन कसरी केही कुरालाई असल भन्न सक्छौ? किनकि जुन कुराले हृदय भरिएको हुन्छ, आफ्नो मुखबाट त्यही नै बोल्दछ। असल मानिसले आफ्नो असल भण्डारबाट असल कुराहरू निकाल्छ, र दुष्ट मानिसले आफ्नो दुष्ट भण्डारबाट दुष्ट कुराहरू नै निकाल्दछ। तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा मानिसहरूले आफूले असावधानीपूर्वक बोलेको प्रत्येक शब्दको लेखा दिनुपर्नेछ। किनकि तिम्रा आफ्नै बोलीहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा आफ्नै बोलीहरूले तिमी दोषी ठहरिनेछौ।” एक दिन केही फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँलाई भने, “हे गुरु, हामी तपाईंबाट एउटा चिन्ह हेर्न चाहन्छौँ।” उहाँले जवाफ दिनुभयो, “दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ! तर यसलाई अगमवक्ता योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन। किनकि जसरी योना एउटा विशाल माछाको पेटमा तीन दिन र तीन रात रहेका थिए, त्यसरी नै मानिसको पुत्र पनि पृथ्वीभित्र तीन दिन र तीन रात रहनेछ। न्यायको समयमा निनवेका मानिसहरू यस पुस्तासँग खडा भएर यसलाई दोषी ठहराउनेछन्; किनकि तिनीहरूले योनाको प्रचार सुनेर पश्चात्ताप गरेका थिए; तर हेर योनाभन्दा महान् एक जना यहाँ छन्। न्यायको समयमा दक्षिणकी रानी यस पुस्तासित खडा भएर यस पुस्तालाई दोषी ठहराउनेछिन्; किनकि तिनी सोलोमनको बुद्धि सुन्नलाई पृथ्वीको पल्लो छेउदेखि आएकी थिइन्, तर हेर सोलोमनभन्दा महान् एक जना यहाँ छन्। “जब कुनै अशुद्ध आत्मा कुनै मानिसबाट निस्किन्छ, तब त्यो ओबानो ठाउँहरूमा विश्राम खोज्न जान्छ; र त्यसले भेट्टाउँदैन। तब त्यसले भन्छ, ‘म निस्केर आएको घरमा नै फर्केर जानेछु।’ जब त्यो आइपुग्छ, त्यसले त्यो घर खाली, सफा गरिएको र सुव्यवस्थित पाउँछ। त्यसपछि त्यो जान्छ, र आफूभन्दा अझै दुष्ट अरू सात आत्माहरूलाई आफूसित लिएर आउँछ, र ती सबै भित्र गएर त्यहीँ बस्छन्। अनि त्यो मानिसको पछिल्लो दशा पहिलेको भन्दा झन् खराब हुन्छ। यस दुष्ट पुस्तालाई पनि यस्तै हुनेछ।”
मत्ती 12:22-45 पवित्र बाइबल (NERV)
त्यसपछि केही मानिसहरूले एकजना मानिसलाई येशू कहाँ ल्याए। उ अन्धो थियो अनि बोल्न पनि सक्दैनथ्यो किनकि उसलाई भूत लागेको थियो। उहाँले त्यसलाई निको पार्नुभयो अनि त्यस मानिसले बोल्न अनि देख्न थाल्यो। सबै मानिसहरू चकित भए। तिनीहरूले भने, “निश्चयनै यी मानिस नै दाऊदका पुत्र हुन् जसलाई परमेश्वरले हामीकहाँ पठाउने प्रतिज्ञा गर्नु भएको थियो?” जब फरिसीहरूले मानिसहरूको मुखबाट यस्तो कुरा सुने तब तिनीहरूले भने, “येशूले मानिसरूबाट भूत भगाउनका निम्ति बालजिबुल शक्तिको प्रयोग गर्दछन्। बालजिबुल भूतहरूको शासक हो।” येशूले फरिसीहरूले सोचेका कुरा थाहा पाउनुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “आपसमा झगडा गर्ने कुनै पनि राज्य ध्वंस हुनेछ त्यसै गरी आफैंमा विभाजन भएको नगर टिक्ने छैन। त्यसरीनै विभाजन भएको कुनै परिवार सफल हुँदैन। यदि शैतानले शैतानलाई निकाल्दछ भने, त्यो आफ्नै विरुद्ध विभाजित हुन्छ। तब कसरी उसको राज्य टिक्न वा चल्न सक्छ? तिमीहरूले भन्दैछौ कि मैले शैतानको शक्तिद्वारा भूतहरू भगाउँदैछु। यदि यो सत्य हो भने, तिम्रा मानिसहरूले भूत भगाउन कुन शक्तिको प्रयोग गर्दैछन्? यसकारण तिमीहरूका आफ्नै मानिसहरूले तिमीहरूको भूल कोट्याउनेछन्। तर म परमेश्वरका आत्माको शक्तिद्वारा भूतहरू भगाउँछु। यसबाट यो थाहा हुन्छ कि परमेश्वरको राज्य अघि नै तिमीहरूमा आइसकेको छ। यदि कुनै मानिसले कुनै एक बलवान मानिसको घरमा लुटपाट गर्न चाहन्छ भने, सर्वप्रथम उसले त्यो बलवान मानिसलाई साङ्लोले बाँधेर राख्नुपर्छ। त्यसपछि मात्र त्यो मानिसले घर लुट्न सक्दछ। जो मानिस मसित छैन, त्यो मेरो विरुद्धमा छ। मसित काम नर्गेनले मेरो विरूद्धमा काम गरिरहेको हुन्छ। “यसैले म तिमीहरूलाई भन्दछु, तिनीहरूले गरेका हरेक पापका निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। अनि तिनीहरूले भनेका सबै नराम्रा शब्दहरूको निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। तर यदि कसैले पवित्र आत्माको विरुद्धमा कुरा गर्छ भने उसलाई क्षमा गरिनेछैन। यदि कसैले मानिसका पुत्रका विरुद्धमा कुरा गरे उसलाई क्षमा हुनेछ। तर कसैले पवित्र आत्माको विरुद्धमा-कुरा गरे क्षमा हुनेछैन। त्यस मानिसलाई न ता अहिले क्षमा दिइन्छ न ता भविष्यमानै। “यदि तिमीहरू असल फल चाहन्छौ भने तिमीहरूले बृक्षलाईनै असल तुल्याउनु पर्छ। यदि तिमीहरूको बृक्षनै नराम्रो छ भने त्यसको फल पनि नराम्रो हुनेछ। किनकि त्यसको फलबाटनै बोटलाई चिन्न सकिन्छ। ए सर्पहरू, तिमीहरू दुष्ट मतिका छौ। तिमीहरूबाट कसरी असल कुराहरू आउनसक्छ। हृदयमा जे कुरा थुपरीएको छ त्यही कुराहरू नै मुखले बोल्दछ। असल मानिसले असलै कुराहरू हृदयमा थुपारेको हुन्छ। यसर्थ राम्रै कुराहरू उसले बोल्दछ। तर एउटा दुष्ट मानिसले हृदयमा दुष्ट कुराहरू नै राखेका हुन्छ र उसले बोलेको बेलामा हृदयमा भएका दुष्ट कुराहरू नै उसले बोल्दछ। यसर्थ म तिमीहरूलाई भन्दछु प्रत्येक मानिसले आफूले बोलेका हरेक लापरवाही कुराहरूको विवरण न्यायको दिनमा दिनु पर्नेछ। तिमीलाई तिम्रा आफ्नै कुराहरूद्वारा न्याय गरिनेछ। तिम्रा कतिपय कुराहरूले तिमीलाई सही तुल्याउँनेछ अनि तिम्रा कतिपय कुराहरूले तिमीहरूलाई दोषी ठहराउनेछ।” तब केही शास्त्रीहरू र फरिसीहरूले येशूलाई जवाफ दिए। तिनीहरूले भने, “गुरूज्यू, हामी तपाईंबाट एउटा आश्चर्यको चिन्ह हेर्न चाहन्छौ।” येशूले जवाफ दिनुभयो, “दुष्ट र पापी मानिसहरूले प्रमाणकोलगि चमत्कार खोज्दैछन्। तर त्यस्ता मानिसहरूलाई प्रमाणकोलागि कुनै चमत्कार देखाइने छैन। अगमवक्ता योनाको चिन्ह बाहेक। तीन दिन र तीन रात सम्म योना एउटा ठूलो माछाको पेटमा थिए। त्यसरी नै तीन दिन र तीन रात सम्म मानिसको पुत्र पृथ्वीको पेटभित्र रहनेछ। अनि न्यायको दिनमा तिनीहरू दोषी छन् भनी देखाउनका निम्ति निनवेका मानिसहरू यस पुस्ताको साथमा खड़ा हुनेछन्। किनभने योनाले तिनीहरूलाई उपदेश दिएका थिए, अनि तिनीहरूले आफ्नो जीवननै बद्लेका थिए। अनि अझ यहाँ एक मानिस छ त्यो योना अगमवक्ता भन्दा महान छ। “न्यायको दिनमा दक्षिणको महारानी यस पुस्ताको अगाडी खडा हुनेछिन् र उनैले तिनीहरूलाई दोषी भनी प्रमाण दिने छिन्। किनभने सुलेमानका ज्ञानहरू सुन्न महारानीले धेरै-टाढासम्मको यात्रा गरेकी थिइन्। अनि अझ यहाँ एक मानिस छ त्यो सुलेमानभन्दा महान छ। “जब दुष्ट आत्मा मानिसबाट निस्केर जान्छ, त्यो ओबानो ठाउँतिर विश्राम खोज्दै हिड्छ तर त्यसले भेट्टाउन सक्तैन। तब त्यस दुष्ट आत्माले भन्छ, ‘म आफ्नै अघिको घरमा फर्किजानेछु, जसलाई मैले छाडेर आएँ।’ त्यो फर्केर आउँछ र पहिलेको उसको घरभित्र रित्तो र सफा गरि राखेको भेट्टाउँछ। त्यसपछि त्यो दुष्ट आत्मा जान्छ, र आफू भन्दा बढ़ता अरू सातवटा दुष्ट आत्माहरू ल्याउँछ। तब सबै दुष्ट आत्माहरू त्यस मानिस भित्र पसेर त्यहाँ बास गर्छन् र त्यस मानिसहरूको अवस्था पहिलेको भन्दा झन खराब हुन्छ अनि त्यही अवस्था त्यो दुष्ट पुस्तामाथि पनि हुन्छ।”
मत्ती 12:22-45 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मानिसहरूले भूत लागेर अन्धो र लाटो भएको एक जना बिरामीलाई येशूकहाँ ल्याए। येशूले उसलाई निको पार्नुभएपछि ऊ देख्न र बोल्न सक्ने भयो। यो देखेर सबै मानिसहरू छक्क पर्दै यसरी कुरा गर्न लागे, “के यिनी नै दाऊदका सन्तान, मुक्ति दिनुहुने राजा हुन् कि?” यो सुनेर फरिसीहरूले भने, “यसले त भूतकै राजा बालजिबुलको शक्तिले पो भूत निकाल्ने गर्छ।” तिनीहरूले यस्तो विचार गरेको बुझेर येशूले तिनीहरूलाई भन्नुभयो, “कुनै पनि देशमा फुट छ भने त्यो देश आफैं नाश हुन्छ। त्यसै गरी कुनै सहर वा घरानामा फुट भएर मारकाट चल्यो भने त्यो पनि नाश हुन्छ। यदि शैतानले आफैंलाई धपाएर आफ्नै विरोध गर्छ भने त्यसको राज्य कसरी टिक्न सक्छ र? तिमीहरू मलाई भूतको राजा बालजिबुलको शक्तिले भूत निकाल्छ भन्छौ। त्यसो भए तिमीहरूका चेलाहरूले चाहिँ कसको शक्तिले निकाल्छन् त? त्यसो भए तिमीहरूका आफ्ना चेलाहरूले नै तिमीहरूलाई दोषी ठहराउनेछन्। बालजिबुलको शक्तिले होइन, तर म परमेश्वरको आत्माले भूत निकाल्छु र यसैबाट परमेश्वरको राज्य तिमीहरूको बीचमा आइसकेको छ भन्ने कुरा तिमीहरूले थाहा पाउन सक्छौ। फेरि सुन, बलियो मानिसलाई पहिले नबाँधीकन कुनै मानिसले पनि उसको घरको चीज लैजान सक्दैन। उसलाई बाँधेपछि मात्र घर लुट्न सकिन्छ। “मसँग नलाग्ने मानिस मेरो विरोधी हो। मलाई बटुल्न नसघाउनेले मैले बटुलेको पनि छरपस्ट गरिदिन्छ। यसकारण म तिमीहरूलाई भन्छु, मानिसले गरेको सबै पाप र निन्दाहरू मेटिन सक्छ, तर पवित्र आत्माको निन्दा गर्ने पापचाहिँ मेटिनेछैन। म मानव पुत्रको विरोधमा बोलिएको पाप माफ गरिनेछ, तर पवित्र आत्मालाई निन्दा गर्ने पापचाहिँ न यस युगमा न त अर्को युगमा, कहिल्यै पनि माफ गरिनेछैन। “सप्रेको फल फल्न रूख पनि त सप्रेको हुनुपर्छ। रूख नै सप्रिएको छैन भने फल पनि सप्रिंदैन! रूख फलबाटै चिनिन्छ। हे विषालु सर्पका सन्तानहरू हो! दुष्ट भएर तिमीहरू कसरी असल कुरा गर्न सक्छौ? जे मनमा छ, त्यही नै मानिसले बोल्दछ। असल मानिसले आफ्नो मनमा भएको असल कुराको ढुकुटीबाट असल कुरा नै निकाल्छ। खराब मानिसले खराब कुराको ढुकुटीबाट खराब कुरा नै निकाल्छ। म तिमीहरूलाई भन्छु, नचाहिँदो कुरा बोल्नेले न्यायको दिनमा त्यसको एक-एक लेखा दिनुपर्नेछ। तिमीहरूले बोलेका कुराले नै तिमीहरू न्यायको दिनमा दोषी वा निर्दोष ठहरिनेछौ।” केही धर्म-गुरु र फरिसीहरू मिलेर येशूलाई भने, “गुरु, एउटा चिन्ह देखाउनुहोस्, हामी हेर्न चाहन्छौं।” येशूले भन्नुभयो, “अहो, हिजो-आजका मानिसहरू कति दुष्ट र व्यभिचारी छन्! यिनीहरू शक्तिशाली चिन्ह हेर्न खोज्छन्। तर अगमवक्ता योनाको चिन्हबाहेक यिनीहरूले अरू कुनै पनि चिन्ह देख्न पाउनेछैनन् किनभने जसरी योनाले ठूलो माछाको पेटभित्रै तीन दिन र तीन रात बिताए, त्यसरी नै मानव पुत्रले पनि तीन दिन र तीन रात माटोमुनि बिताउनेछ। न्यायको दिनमा निनवे सहरका मानिसहरूले उभिएर हिजो-आजका मानिसहरूलाई दोष लगाउनेछन् किनभने योनाले परमेश्वरको शिक्षा प्रचार गर्दा तिनीहरूले आ-आफ्नो पापबाट पश्चात्ताप गरे। तर हेर, योनाभन्दा पनि ठूलो यहाँ कोही छ। न्यायको दिनमा दक्षिणको शेबा देशकी रानीले उभिएर हिजो-आजका मानिसहरूलाई दोष लगाउनेछिन् किनभने सोलोमन राजाको ज्ञानको कुरा सुन्न तिनी धेरै टाढाबाट धाएर आइन्। तर हेर, सोलोमनभन्दा पनि ठूलो यहाँ कोही छ। “कुनै मानिसबाट भूत निकालेपछि त्यो भूत ओबानो पाखामा चारैतिर गएर आरामसँग बस्न सक्ने ठाउँ खोज्दै हिँड्छ। यस्तो ठाउँ कतै पनि नपाउँदा ‘पहिले बसेकै घरमा जानुपर्यो’ भनेर त्यो फर्किन्छ। त्यहाँ आइपुग्दा त्यसले अघिको घर खाली, सफा र सजिसजाउ भएको भेट्टाउँछ। यो देखी त्यसले गएर सातवटा आफूभन्दा अझ दुष्ट भूतहरूलाई डाकेर ल्याउँछ र ती सबै त्यसभित्र पसेर बसोबास गर्छन्। त्यो मानिसको पहिलेको भन्दा पछिल्लो दशा झन् नराम्रो हुन्छ। हिजो-आजका दुष्ट मानिसहरूको दशा पनि त्यस्तै हुनेछ।”