लेवीहरूको पुस्तक 8:1-17

लेवीहरूको पुस्तक 8:1-17 NERV

परमप्रभुले मोशालाई भन्नुभयो, “हारून र उसका छोराहरूलाई तिनीहरूको पूजाहारी पोषक, अभिषेक तेल, पापबलिको साँढे, दुइवटा भेंडा र एक डालो अखमिरी रोटीसँग लैजाऊ। तब तिनीहरूलाई सम्पूर्ण मानिसहरूसँग भेट हुने पालमा लैजाऊ।” यसर्थ परमप्रभुले तिनलाई आज्ञा दिनु भए झैं मोशाले भने। मानिसहरू सबै भेट हुने पालमा सँगै भेला भए। मोशाले मानिसहरूलाई भने, “यो परमप्रभुले आज्ञा दिनु भएको कुरा यही हो।” तब मोशाले हारून र तिनका छोराहरूलाई ल्याए अनि पानीले नुहाइदिए। तब मोशाले हारूनलाई बुनेको कमेज पहिराइदिए अनि तिनको कम्मरमा पटुका बाँधिदिए। त्यसपछि हारूनलाई अलखा पहिराए तब मोशाले तिनलाई एपोद बाँधिदिए। मोशाले एपोदलाई अलखामा बाँधिदिए। तब उनले हारूनको छातीमा न्यायको छाती पाता लगाइदिए अनि गोजीमा ऊरीम र तुम्मीम राखिदिए। परमप्रभुले आज्ञा दिनुभए अनुसार तिनले हारूनलाई टाउकोमा फेटा बाँधिदिए अनि फेटाको अघिल्लो भागमा सुनको पवित्र मुकुट लगाइदिए। मोशाले अभिषेक तेल लिएर पवित्र पालको प्रत्येक ठाउँ र चीजहरूमा छर्किदिए। अनि यसरी तिनले, ती सब चीजहरूलाई पवित्र पारे। उनले अभिषेक तेल वेदीमा सात पल्ट छर्किदिए। उनले अभिषेक तेल वेदी अनि भाँड-कुँडाहरू हातमुख धुने भाँडो अनि कचौरा राख्ने ठाउँलाई पवित्र बनाउन छर्किदिए। त्यसपछि हारूनलाई शुद्ध पार्न अभिषेक तेलको केही अंश तिनको शिरमा खन्याइ दिए। त्यसपछि मोशाले हारूनका छोराहरूलाई ल्याए र बुनेको कमिज पहिराई पटुका बाँधिदिएर तिनीहरूलाई टोपी लगाइदिए अनि यी सबै मोशाले परमप्रभुको आज्ञा अनुसार गरेका थिए। यसपछि उनले पापबलिको साँढे ल्याए। हारून र तिनका छोराहरूले त्यस साँढेको टाउकोमाथि आफ्ना-आफ्ना हात राखे, अनि मोशाले त्यो साँढेलाई मारेर र केही रगत आफ्नो औंलाहरूमा लिएर वेदीको कुना-कुना सबैतिर दले। यस प्रकार तिनले वेदी पवित्र पारे। अनि बाँकी रहेको रगत वेदीको आधारमा खन्याए। यसरी तिनले प्रायश्चित गर्न वेदी पवित्र बनाए। मोशाले साँढेको भित्र्यांशको बोसो, कलेजो बोसो, दुइवटा मृगौलाहरू अनि तिनीहरूमाथि भएको बोसो निकाले अनि यी वेदीमा जलाए। त्यसपछि तिनले साँढेको अरू बाँकी रहेको छाला, मासु, गोवर तथा अरू भागहरू परमप्रभुको आज्ञा अनुसार पाल बाहिर जलाइदिए।