फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “तैंले हारूनलाई, त्यसका छोराहरूसमेत, उनीहरूका लुगाहरू, अभिषेक गर्ने तेल, पापबलिको साँढ़े, दुई वटा भेड़ा र अखमिरी रोटीको डालो लिएर जम्मै समुदायलाई भेट हुने पालको ढोकामा भेला गरा।” तब परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशाले गरे, अनि भेट हुने पालको ढोकामा समुदाय भेला भयो। मोशाले समुदायलाई भने, “परमप्रभुले गर्नू भनी आज्ञा दिनुभएको काम यही हो।” मोशाले हारून र उनका छोराहरूलाई ल्याएर पानीले नुहाइदिए। तिनले हारूनलाई लबेदा लगाइदिएर पटुका बाँधिदिए र अलखा पहिराएर उनीमाथि एपोद लगाइदिए, र निपुणतासाथ बुट्टा बनाइएको पटुकाले एपोद बाँधिदिए। त्यसपछि तिनले हारूनलाई छाती-पाता लगाइदिएर छाती-पातामा “ऊरीम” र “तुम्मीम” राखे। तब उनको शिरमा तिनले फेटा लगाइदिए, र फेटामाथि अगिल्तिर सुनको पाता, अर्थात् पवित्र मुकुट लगाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। त्यसपछि मोशाले अभिषेक गर्ने तेल लिएर पवित्र वासस्थान र त्यसमा भएका यावत् थोकलाई अभिषेक गरेर चोख्याए। त्यसबाट केही तेल लिएर तिनले वेदीमा सात पल्ट छर्के, र वेदी र त्यसका सबै भाँड़ाकुँड़ाहरू, हात-खुट्टा धुने बाटा त्यसको बैठकसमेत चोख्याउनलाई अभिषेक गरे। फेरि तिनले अभिषेक गर्ने तेल लिएर हारूनको शिरमा खन्याई उनलाई चोख्याउनलाई अभिषेक गरे। त्यसपछि मोशाले हारूनका छोराहरूलाई ल्याएर लबेदा लगाइदिए अनि पटुका बाँधिदिएर उनीहरूलाई फेटा लगाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। त्यसपछि तिनले पापबलिको साँढ़े ल्याए, र हारून र उनका छोराहरूले पापबलिका साँढ़ेको टाउकोमा आ-आफ्ना हात राखे। तब तिनले त्यसलाई मारे, र मोशाले रगतबाट केही लिएर आफ्नो औँलाले वेदीका सीङहरूमा वरिपरि लगाएर वेदीलाई चोख्याए। अनि बाँकी रगतचाहिँ तिनले वेदीको आधारमा खन्याए। त्यसको निम्ति प्रायश्चित गर्न तिनले यसरी वेदी चोख्याए। मोशाले आन्द्रा-भुँड़ीहरू ढाक्ने जम्मै बोसो र कलेजो ढाक्ने मासु र बोसोसमेतका दुवै मिर्गौला लिए, र वेदीमा जलाए। तर साँढ़ेचाहिँ त्यसका छाला र मासु र गोबरसमेत छाउनीबाहिर आगोमा तिनले जलाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।
लेवीहरू 8 पढ्नुहोस्
सुन्नुहोस् लेवीहरू 8
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवीहरू 8:1-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू