लेवीहरू 8:1-17
लेवीहरू 8:1-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “तैंले हारूनलाई, त्यसका छोराहरूसमेत, उनीहरूका लुगाहरू, अभिषेक गर्ने तेल, पापबलिको साँढ़े, दुई वटा भेड़ा र अखमिरी रोटीको डालो लिएर जम्मै समुदायलाई भेट हुने पालको ढोकामा भेला गरा।” तब परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशाले गरे, अनि भेट हुने पालको ढोकामा समुदाय भेला भयो। मोशाले समुदायलाई भने, “परमप्रभुले गर्नू भनी आज्ञा दिनुभएको काम यही हो।” मोशाले हारून र उनका छोराहरूलाई ल्याएर पानीले नुहाइदिए। तिनले हारूनलाई लबेदा लगाइदिएर पटुका बाँधिदिए र अलखा पहिराएर उनीमाथि एपोद लगाइदिए, र निपुणतासाथ बुट्टा बनाइएको पटुकाले एपोद बाँधिदिए। त्यसपछि तिनले हारूनलाई छाती-पाता लगाइदिएर छाती-पातामा “ऊरीम” र “तुम्मीम” राखे। तब उनको शिरमा तिनले फेटा लगाइदिए, र फेटामाथि अगिल्तिर सुनको पाता, अर्थात् पवित्र मुकुट लगाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। त्यसपछि मोशाले अभिषेक गर्ने तेल लिएर पवित्र वासस्थान र त्यसमा भएका यावत् थोकलाई अभिषेक गरेर चोख्याए। त्यसबाट केही तेल लिएर तिनले वेदीमा सात पल्ट छर्के, र वेदी र त्यसका सबै भाँड़ाकुँड़ाहरू, हात-खुट्टा धुने बाटा त्यसको बैठकसमेत चोख्याउनलाई अभिषेक गरे। फेरि तिनले अभिषेक गर्ने तेल लिएर हारूनको शिरमा खन्याई उनलाई चोख्याउनलाई अभिषेक गरे। त्यसपछि मोशाले हारूनका छोराहरूलाई ल्याएर लबेदा लगाइदिए अनि पटुका बाँधिदिएर उनीहरूलाई फेटा लगाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। त्यसपछि तिनले पापबलिको साँढ़े ल्याए, र हारून र उनका छोराहरूले पापबलिका साँढ़ेको टाउकोमा आ-आफ्ना हात राखे। तब तिनले त्यसलाई मारे, र मोशाले रगतबाट केही लिएर आफ्नो औँलाले वेदीका सीङहरूमा वरिपरि लगाएर वेदीलाई चोख्याए। अनि बाँकी रगतचाहिँ तिनले वेदीको आधारमा खन्याए। त्यसको निम्ति प्रायश्चित गर्न तिनले यसरी वेदी चोख्याए। मोशाले आन्द्रा-भुँड़ीहरू ढाक्ने जम्मै बोसो र कलेजो ढाक्ने मासु र बोसोसमेतका दुवै मिर्गौला लिए, र वेदीमा जलाए। तर साँढ़ेचाहिँ त्यसका छाला र मासु र गोबरसमेत छाउनीबाहिर आगोमा तिनले जलाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।
लेवीहरू 8:1-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले मोशालाई भन्नुभयो, “हारून र त्यसका छोराहरूलाई, तिनीहरूका पोशाकहरू, अभिषेक गर्ने तेल, पाप शुद्धीकरण बलिका निम्ति साँढे, दुई वटा भेडाहरू र खमिर नमिसाइएको रोटी भएका डालो लिएर आइज। अनि सारा समुदायलाई समागम पालको प्रवेशद्वारमा भेला गर्।” तब याहवेहले आज्ञा गर्नुभएझैँ मोशाले गरे। अनि समागम पालको प्रवेशद्वारमा समुदाय भेला भयो। मोशाले समुदायलाई भने, “याहवेहले यसो गर्नू भन्ने आज्ञा दिनुभएको छ।” तब मोशाले हारून र तिनका छोराहरूलाई अगाडि ल्याएर पानीले नुहाइदिए। तिनले हारूनलाई अलखा लगाइदिए। पटुका बाँधिदिए, र तिनलाई लबेदा लगाएर एपोदको पोशाक पहिर्याइदिए। तिनले उनमा कुशल शिल्पकारद्वारा तयार गरिएको पटुकाले एपोद पनि बाँधिदिए। यसरी त्यो तिनमा कसियो। तिनले उनीमाथि छाती-पाता लगाएर त्यसमा ऊरीम र तुम्मीम लगाइदिए। त्यसपछि तिनले हारूनको शिरमा फेटा लगाइदिए। अनि याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले सुनको पाता र पवित्र मुकुट त्यसको सामु लगाइदिए। त्यसपछि मोशाले अभिषेक गर्ने तेल लिएर समागम पाल र त्यसभित्र भएका प्रत्येक चीजलाई अर्पण गरे; र सबै कुराहरूलाई पवित्र गरे। तिनले वेदी र त्यसका सबै भाँडाकुँडा, बाटा र त्यसको खम्बालाई अर्पण गर्नलाई अभिषेक गर्दै केही तेल वेदीमाथि सात चोटि छर्के। तिनले अभिषेक गर्ने तेलबाट केही लिएर हारूनलाई पवित्र गरे, र अभिषेक गर्नका लागि तिनको शिरमाथि खन्याए। त्यसपछि तिनले हारूनका छोराहरूलाई अगाडि ल्याएर लबेदा लगाइदिए। पटुका बाँधिदिए, र याहवेहले मोशालाई आज्ञा दिनुभएझैँ तिनीहरूको शिरमा फेटा बाँधिदिए। त्यसपछि तिनले पाप शुद्धीकरण बलिको बाछा अगाडि ल्याए। अनि हारून र तिनका छोराहरूले त्यसको शिरमाथि हात राखे। मोशाले त्यस बाछालाई मारे। अनि केही रगत लिएर वेदीलाई शुद्ध पार्नलाई आफ्ना औँलाले वेदीका सबै सिङहरूमाथि छर्के। तिनले उब्रेको रगत वेदीको फेदमा खन्याइदिए। यसरी तिनले प्रायश्चित गर्नलाई वेदीलाई अर्पण गरे। मोशाले भित्री भागका चारैतिरका बोसो, कलेजोलाई छोप्ने आवरण, दुवै मिर्गौला र बोसोसमेत लिए। अनि ती सबैलाई वेदीमाथि जलाइदिए। तर बाछालाई त्यसको छाला, मासु र गोबरसमेत जसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो, त्यसरी नै तिनले छाउनीबाहिर जलाइदिए।
लेवीहरू 8:1-17 पवित्र बाइबल (NERV)
परमप्रभुले मोशालाई भन्नुभयो, “हारून र उसका छोराहरूलाई तिनीहरूको पूजाहारी पोषक, अभिषेक तेल, पापबलिको साँढे, दुइवटा भेंडा र एक डालो अखमिरी रोटीसँग लैजाऊ। तब तिनीहरूलाई सम्पूर्ण मानिसहरूसँग भेट हुने पालमा लैजाऊ।” यसर्थ परमप्रभुले तिनलाई आज्ञा दिनु भए झैं मोशाले भने। मानिसहरू सबै भेट हुने पालमा सँगै भेला भए। मोशाले मानिसहरूलाई भने, “यो परमप्रभुले आज्ञा दिनु भएको कुरा यही हो।” तब मोशाले हारून र तिनका छोराहरूलाई ल्याए अनि पानीले नुहाइदिए। तब मोशाले हारूनलाई बुनेको कमेज पहिराइदिए अनि तिनको कम्मरमा पटुका बाँधिदिए। त्यसपछि हारूनलाई अलखा पहिराए तब मोशाले तिनलाई एपोद बाँधिदिए। मोशाले एपोदलाई अलखामा बाँधिदिए। तब उनले हारूनको छातीमा न्यायको छाती पाता लगाइदिए अनि गोजीमा ऊरीम र तुम्मीम राखिदिए। परमप्रभुले आज्ञा दिनुभए अनुसार तिनले हारूनलाई टाउकोमा फेटा बाँधिदिए अनि फेटाको अघिल्लो भागमा सुनको पवित्र मुकुट लगाइदिए। मोशाले अभिषेक तेल लिएर पवित्र पालको प्रत्येक ठाउँ र चीजहरूमा छर्किदिए। अनि यसरी तिनले, ती सब चीजहरूलाई पवित्र पारे। उनले अभिषेक तेल वेदीमा सात पल्ट छर्किदिए। उनले अभिषेक तेल वेदी अनि भाँड-कुँडाहरू हातमुख धुने भाँडो अनि कचौरा राख्ने ठाउँलाई पवित्र बनाउन छर्किदिए। त्यसपछि हारूनलाई शुद्ध पार्न अभिषेक तेलको केही अंश तिनको शिरमा खन्याइ दिए। त्यसपछि मोशाले हारूनका छोराहरूलाई ल्याए र बुनेको कमिज पहिराई पटुका बाँधिदिएर तिनीहरूलाई टोपी लगाइदिए अनि यी सबै मोशाले परमप्रभुको आज्ञा अनुसार गरेका थिए। यसपछि उनले पापबलिको साँढे ल्याए। हारून र तिनका छोराहरूले त्यस साँढेको टाउकोमाथि आफ्ना-आफ्ना हात राखे, अनि मोशाले त्यो साँढेलाई मारेर र केही रगत आफ्नो औंलाहरूमा लिएर वेदीको कुना-कुना सबैतिर दले। यस प्रकार तिनले वेदी पवित्र पारे। अनि बाँकी रहेको रगत वेदीको आधारमा खन्याए। यसरी तिनले प्रायश्चित गर्न वेदी पवित्र बनाए। मोशाले साँढेको भित्र्यांशको बोसो, कलेजो बोसो, दुइवटा मृगौलाहरू अनि तिनीहरूमाथि भएको बोसो निकाले अनि यी वेदीमा जलाए। त्यसपछि तिनले साँढेको अरू बाँकी रहेको छाला, मासु, गोवर तथा अरू भागहरू परमप्रभुको आज्ञा अनुसार पाल बाहिर जलाइदिए।
लेवीहरू 8:1-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले मोशालाई भन्नुभयो, “हारून र त्यसका छोराहरूलाई मेरो पवित्र पालको ढोकामा लैजा र पूजाहारीको पोशाक, अभिषेक गर्ने तेल, पापबलिको लागि साँढे, दुईवटा भेडा र अखमिरी रोटीको डालो ले। त्यसपछि सारा जन-समुदायलाई त्यहाँ बोला।” मोशाले परमप्रभुको आज्ञाअनुसार गरे। इस्राएली जनसमूह भेला भएपछि तिनले भने, “जे म अब गर्न लागेको छु, त्यो परमप्रभुले आज्ञा गर्नुभएको हो।” मोशाले हारून र तिनका छोराहरूलाई सामुन्ने ल्याए र तिनीहरूलाई रीतिअनुसार नुहाउन लगाए। उनले हारूनलाई अलखा र लबेदा लाइदिए, कम्मरमा पटुका बाँधिदिए र एपोद पहिर्याइदिएर त्यसको राम्ररी बुनेको पेटी कम्मरमा बाँधिदिए। उनले तिनलाई छाती-पाता लाइदिए, त्यसमा ‘ऊरीम र तुम्मीम’ राखिदिए, टाउकोमा फेटा बाँधिदिए र त्यसमा अघिल्तिर अभिषेक भएको पवित्र चिन्हको रूपमा परमप्रभुले आज्ञा गर्नुभएअनुसार सुनको पाता लाइदिए। तब मोशाले अभिषेक गर्ने तेल लिएर परमप्रभुको पवित्र पाल र त्यसमा भएका सबै चीजबीजमा लाइदिए र त्यसरी ती सबै परमप्रभुलाई अर्पण गरे। केही तेल लिएर तिनले वेदी र त्यसका सर-सामान, पानी हाल्ने भाँडो र त्यसका आसनमा सातपल्ट छर्के र ती परमप्रभुलाई अर्पण गरे। तिनले हारूनलाई टाउकोमा केही अभिषेक गर्ने तेल खन्याइदिएर अभिषेक गरे। त्यसपछि मोशाले हारूनका छोराहरूलाई अघि ल्याए र तिनीहरूलाई परमप्रभुले आज्ञा गर्नुभएअनुसार अलखा लगाइदिए, कम्मरमा पटुका बाँधिदिए र टाउकोमा टोपी लाइदिए। तब मोशाले पापबलिको साँढे ल्याए र तिनका छोराहरूले त्यसको शिरमा हात राखे। मोशाले त्यसलाई मारे र त्यसको रगत लिएर औँलाले वेदीका कुना-कुनाका चोसाहरूमा लाएर वेदीलाई शुद्ध पारे। तब तिनले बाँकी रगत वेदीको फेदमा खन्याए। त्यसरी तिनले वेदीलाई अर्पण गरेर पवित्र गरे। मोशाले साँढेको भित्री अङ्गहरूमा भएका सबै बोसो, कलेजोको उत्तम भाग र बोसोसमेत मृगौला लिएर वेदीमाथि जलाए। तिनले बाँकी साँढे, त्यसका छाला, मासु र आन्द्राहरू सबै लिए र परमप्रभुले आज्ञा गर्नुभएअनुसार छाउनीको बाहिर जलाए।