उत्पत्तिको पुस्तक 3:6-15
उत्पत्तिको पुस्तक 3:6-15 NERV
तब त्यो स्त्रीले त्यस रुखको फल हेर्नमा राम्रो र खानमा पनि असल बुझिन् कारण त्यस रुखको फलले ज्ञान दिन्थ्यो त्यस रुखबाट केही फलहरू टिपेर खाई अनि आफूसँग भएको मानिसलाई पनि खान दिई र उसले पनि खायो। तब तिनीहरूले केही अनौंठो अनुभव गरे। तिनीहरूले देखे तिनीहरू नाङ्गै थिए। यसर्थ तिनीहरूले नेभाराको पात गाँसे अनि आफ्ना निम्ति लुगाहरू बनाए। जब साँझको हावा बहिरहेको थियो परमप्रभु परमेश्वर बगैंचामा घुमिरहनु हुँदा ती पुरुष र स्त्रीले परमप्रभु परमेश्वरको आवाज चाल पाएर तिनीहरू बगैंचाको रुखहरू माझ लुके। परमप्रभु परमेश्वरले त्यस पुरुष मानिसलाई बोलाउनु भयो अनि सोध्नु भयो, “तिमी कहाँ छौ?” तब त्यस पुरुष मानिसले उत्तर दियो, “तपाईको आवाज मैले बगैंचा भित्र चाल पाएँ र म नाङ्गैं रहेको हुँदा डराएँ र म लुकें।” तब परमप्रभु परमेश्वरले भन्नुभयो, “तिमी नाङ्गैं छौ भनी कसले भन्यो? के तिमीले मैले जुन रुखबाट फल नखानु भनी आज्ञा दिएको थिएँ त्यसैको फल त खाएनौ?” त्यस मानिसले भने, “स्त्री जो तपाईंले मसित बस्न दिनु भयो, उसैले मलाई रुखको फल दिईन् अनि मैले खाएँ।” तब परमप्रभु परमेश्वरले त्यस स्त्री मानिसलाई भन्नुभयो, “तिमीले किन यस्तो काम गर्यौ?” तब त्यस स्त्रीले भनी, “सर्पले मलाई धोका दियो र मैले त्यो फल खाएँ।” तब परमप्रभु परमेश्वरले सर्पलाई भन्नुभयो, “तैंले यस्तो काम गरेको हुनाले, तँलाई अन्य पशुहरू गाई-वस्तु र अरू सबै जङ्गली पशुहरूलाईभन्दा अझै ज्यादा श्राप दिनेछु। तैंले तेरो जीवन भरी आफ्नो पेटले घस्रनु र माटो खाएर बस्नु परोस्। म तँ र त्यस स्त्रीमाझ शत्रुता सृष्टि गर्नेछु। तेरो सन्तान र त्यस स्त्रीका सन्तानमाझ पनि शत्रुता सृष्टि गर्नेछु जसले गर्दा त्यसका सन्तानहरूले तेरो टाउको किच्याउने छन् अनि तेरा सन्तानहरूले पनि तिनीहरूको कुर्कुच्चामा डस्ने छन्।”



