उत्‍पत्ति 3:6-15

उत्‍पत्ति 3:6-15 NNRV

जब स्‍त्रीले त्‍यस रूखको फल खानलाई असल र हेर्नमा रहरलाग्‍दो, र बुद्धि पाउनलाई त्‍यस रूखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले त्‍यस रूखको फल टिपेर खाइन्, र आफ्‍ना पतिलाई पनि दिइन्, र उनले पनि खाए। अनि दुवैका आँखा खुले, र “नाङ्गै पो रहेछौं” भनी तिनीहरूले थाहा पाए। अनि अञ्‍जीरका पातहरू गाँसेर आफ्‍ना निम्‍ति तिनीहरूले वस्‍त्र बनाए। अनि साँझपख परमप्रभु परमेश्‍वर बगैँचामा डुल्‍दैहुनुहुँदा तिनीहरूले उहाँको सोर सुने, र मानिस र उनकी पत्‍नी बगैँचाका रूखहरूका बीचमा परमप्रभु परमेश्‍वरको नजरबाट लुके। तर परमप्रभु परमेश्‍वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस्‌?” उनले भने, “मैले तपाईंको सोर बगैँचामा सुनें र म डराएँ, किनभने म नाङ्गै थिएँ, र म लुकें।” उहाँले सोध्‍नुभयो, “तँ नाङ्गै छस्‌ भनेर कसले भन्‍यो? जुन रूखको फल नखानू भनी मैले तँलाई आज्ञा दिएको थिएँ के तैंले त्‍यो खाइस्‌?” मानिसले भने, “जुन स्‍त्री तपाईंले मलाई मसँगै रहन भनी दिनुभएको थियो, त्‍यसैले मलाई त्‍यो रूखको फल दिई र मैले खाएँ।” अनि परमप्रभु परमेश्‍वरले स्‍त्रीलाई भन्‍नुभयो, “तैंले यो के गरिस्‌?” स्‍त्रीले भनिन्, “सर्पले मलाई छल गर्‍यो, र मैले त्‍यो खाएँ।” तब परमेश्‍वरले सर्पलाई भन्‍नुभयो, तैंले यसो गरेको हुनाले, “तँ सबै पाल्तु पशुहरू र सबै वन-पशुहरूभन्‍दा ज्‍यादा श्रापित हुनेछस्‌। पेटद्वारा तँ हिँड्‌नेछस्‌ र तेरो जीवनभरि तैंले माटो खानेछस्‌। तेरो र स्‍त्रीको बीचमा, र तेरो सन्‍तान र स्‍त्रीको सन्‍तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्‍यसले तेरो शिर कुच्‍च्‍याउनेछ, र तैंले त्‍यसको कुर्कुच्‍चो डस्‍नेछस्‌।”

उत्‍पत्ति 3:6-15 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति