उत्‍पत्ति 3:6-15

उत्‍पत्ति 3:6-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जब स्‍त्रीले त्‍यस रूखको फल खानलाई असल र हेर्नमा रहरलाग्‍दो, र बुद्धि पाउनलाई त्‍यस रूखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले त्‍यस रूखको फल टिपेर खाइन्, र आफ्‍ना पतिलाई पनि दिइन्, र उनले पनि खाए। अनि दुवैका आँखा खुले, र “नाङ्गै पो रहेछौं” भनी तिनीहरूले थाहा पाए। अनि अञ्‍जीरका पातहरू गाँसेर आफ्‍ना निम्‍ति तिनीहरूले वस्‍त्र बनाए। अनि साँझपख परमप्रभु परमेश्‍वर बगैँचामा डुल्‍दैहुनुहुँदा तिनीहरूले उहाँको सोर सुने, र मानिस र उनकी पत्‍नी बगैँचाका रूखहरूका बीचमा परमप्रभु परमेश्‍वरको नजरबाट लुके। तर परमप्रभु परमेश्‍वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस्‌?” उनले भने, “मैले तपाईंको सोर बगैँचामा सुनें र म डराएँ, किनभने म नाङ्गै थिएँ, र म लुकें।” उहाँले सोध्‍नुभयो, “तँ नाङ्गै छस्‌ भनेर कसले भन्‍यो? जुन रूखको फल नखानू भनी मैले तँलाई आज्ञा दिएको थिएँ के तैंले त्‍यो खाइस्‌?” मानिसले भने, “जुन स्‍त्री तपाईंले मलाई मसँगै रहन भनी दिनुभएको थियो, त्‍यसैले मलाई त्‍यो रूखको फल दिई र मैले खाएँ।” अनि परमप्रभु परमेश्‍वरले स्‍त्रीलाई भन्‍नुभयो, “तैंले यो के गरिस्‌?” स्‍त्रीले भनिन्, “सर्पले मलाई छल गर्‍यो, र मैले त्‍यो खाएँ।” तब परमेश्‍वरले सर्पलाई भन्‍नुभयो, तैंले यसो गरेको हुनाले, “तँ सबै पाल्तु पशुहरू र सबै वन-पशुहरूभन्‍दा ज्‍यादा श्रापित हुनेछस्‌। पेटद्वारा तँ हिँड्‌नेछस्‌ र तेरो जीवनभरि तैंले माटो खानेछस्‌। तेरो र स्‍त्रीको बीचमा, र तेरो सन्‍तान र स्‍त्रीको सन्‍तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्‍यसले तेरो शिर कुच्‍च्‍याउनेछ, र तैंले त्‍यसको कुर्कुच्‍चो डस्‍नेछस्‌।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 3 पढ्नुहोस्

उत्‍पत्ति 3:6-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जब स्त्रीले त्यस रूखको फल खानका निम्ति असल, हेर्नमा रहरलाग्दो र बुद्धि प्राप्‍त गर्न चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले केही फल टिपेर खाइन्। तब तिनले आफ्ना पतिलाई पनि दिइन्; जो तिनीसँगै थिए, र तिनले पनि खाए। तब ती दुवैका आँखा खुले, र आफू नाङ्गा भएका तिनीहरूले थाहा पाए। यसकारण तिनीहरूले ढाक्नका लागि नेभाराका पातहरू गाँसेर आफ्ना निम्ति वस्त्र बनाए। जब याहवेह परमेश्‍वर दिनको शीतल समयमा बगैँचामा हिँड्दैहुनुहुन्थ्यो, तब मानिस र तिनकी पत्नीले उहाँको सोर सुने, र तिनीहरू याहवेह परमेश्‍वरदेखि बगैँचाका रूखहरूका बीचमा लुके। तर याहवेह परमेश्‍वरले मानिसलाई, “तँ कहाँ छस्?” भनी बोलाउनुभयो। तिनले जवाफ दिए, “मैले बगैँचामा तपाईंको सोर सुनेँ, र मलाई डर लाग्यो, किनकि म नाङ्गो थिएँ; त्यसैले म लुकेँ।” अनि उहाँले भन्‍नुभयो, “तँ नाङ्गै छस् भनी कसले भन्यो? मैले नखानू भनी आदेश दिएको त्यस रूखबाट तैँले खाइस्?” आदमले भने, “तपाईंले मसँगै रहन भनी दिनुभएको स्त्रीले त्यस रूखबाट मलाई केही फल दिई, र मैले खाएँ।” तब याहवेह परमेश्‍वरले स्त्रीलाई भन्‍नुभयो, “तैँले यो के गरिस्?” त्यस स्त्रीले जवाफ दिई, “सर्पले मलाई छल गर्‍यो, र मैले खाएँ।” यसकारण याहवेह परमेश्‍वरले सर्पलाई भन्‍नुभयो, “तैँले यसो गरेको कारण, “तँ सबै घरपालुवा जनावरहरू र सबै जङ्गली जनावरहरूमध्ये तैँले मात्र श्राप पाउनेछस्! तँ पेटको बलले घस्रनेछस्, तेरो सारा जीवनभरि, तैँले धुलो खानेछस्। अनि तेरो र स्त्रीको बीचमा, अनि तेरा र स्त्रीका सन्तानको बीचमा दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्‍च्याउनेछ, अनि तैँले त्यसको कुर्कुच्‍चा डस्‍नेछस्।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 3 पढ्नुहोस्

उत्‍पत्ति 3:6-15 पवित्र बाइबल (NERV)

तब त्यो स्त्रीले त्यस रुखको फल हेर्नमा राम्रो र खानमा पनि असल बुझिन् कारण त्यस रुखको फलले ज्ञान दिन्थ्यो त्यस रुखबाट केही फलहरू टिपेर खाई अनि आफूसँग भएको मानिसलाई पनि खान दिई र उसले पनि खायो। तब तिनीहरूले केही अनौंठो अनुभव गरे। तिनीहरूले देखे तिनीहरू नाङ्गै थिए। यसर्थ तिनीहरूले नेभाराको पात गाँसे अनि आफ्ना निम्ति लुगाहरू बनाए। जब साँझको हावा बहिरहेको थियो परमप्रभु परमेश्वर बगैंचामा घुमिरहनु हुँदा ती पुरुष र स्त्रीले परमप्रभु परमेश्वरको आवाज चाल पाएर तिनीहरू बगैंचाको रुखहरू माझ लुके। परमप्रभु परमेश्वरले त्यस पुरुष मानिसलाई बोलाउनु भयो अनि सोध्नु भयो, “तिमी कहाँ छौ?” तब त्यस पुरुष मानिसले उत्तर दियो, “तपाईको आवाज मैले बगैंचा भित्र चाल पाएँ र म नाङ्गैं रहेको हुँदा डराएँ र म लुकें।” तब परमप्रभु परमेश्वरले भन्नुभयो, “तिमी नाङ्गैं छौ भनी कसले भन्यो? के तिमीले मैले जुन रुखबाट फल नखानु भनी आज्ञा दिएको थिएँ त्यसैको फल त खाएनौ?” त्यस मानिसले भने, “स्त्री जो तपाईंले मसित बस्न दिनु भयो, उसैले मलाई रुखको फल दिईन् अनि मैले खाएँ।” तब परमप्रभु परमेश्वरले त्यस स्त्री मानिसलाई भन्नुभयो, “तिमीले किन यस्तो काम गर्यौ?” तब त्यस स्त्रीले भनी, “सर्पले मलाई धोका दियो र मैले त्यो फल खाएँ।” तब परमप्रभु परमेश्वरले सर्पलाई भन्नुभयो, “तैंले यस्तो काम गरेको हुनाले, तँलाई अन्य पशुहरू गाई-वस्तु र अरू सबै जङ्गली पशुहरूलाईभन्दा अझै ज्यादा श्राप दिनेछु। तैंले तेरो जीवन भरी आफ्नो पेटले घस्रनु र माटो खाएर बस्नु परोस्। म तँ र त्यस स्त्रीमाझ शत्रुता सृष्टि गर्नेछु। तेरो सन्तान र त्यस स्त्रीका सन्तानमाझ पनि शत्रुता सृष्टि गर्नेछु जसले गर्दा त्यसका सन्तानहरूले तेरो टाउको किच्याउने छन् अनि तेरा सन्तानहरूले पनि तिनीहरूको कुर्कुच्चामा डस्ने छन्।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 3 पढ्नुहोस्

उत्‍पत्ति 3:6-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यो रूख हेर्नमा कति सुन्‍दर अनि त्‍यसका फल खानलाई कति रहरलाग्‍दा थिए, त्‍यो स्‍त्रीले देखिन्‌। ज्ञानी हुन पाए कति असल हुनेथियो, उनले सोचिन्‌। उनले केही फल टिपेर खाइन्‌, केही आफ्‍ना लोग्‍नेलाई दिइन्‌ र उनले पनि त्‍यो खाए। त्‍यो खाने बित्तिकै तिनीहरूले समझशक्ति पाए र आफू नाङ्गै रहेछौं भनी चाल पाए। यसकारण तिनीहरूले नेभाराको पात गाँसेर त्‍यसले आफ्‍ना शरीर ढाके। त्‍यही बेलुका तिनीहरूले परमप्रभु परमेश्‍वर बगैँचामा डुलिरहनुभएको सुने र रूखका बीचमा उहाँका सामुदेखि लुके। तर परमप्रभु परमेश्‍वरले “तँ कहाँ छस्?” भनी मानिसलाई बोलाउनुभयो। उनले जवाफ दिए, “मैले तपाईंको सोर बगैँचामा सुनें। म नाङ्गै थिएँ, यसैले म डराएँ र तपाईंदेखि लुकें।” “तँ नाङ्गै छस् भनेर कसले तँलाई भन्‍यो? मैले नखानू भनेको फल तैँले खाइस् कि कसो?” परमेश्‍वरले सोध्‍नुभयो। मानिसले उत्तर दिई भने, “यहाँ मसँग रहन तपाईंले दिनुभएको स्‍त्रीले मलाई त्‍यो फल दिई र मैले खाएँ।” परमप्रभु परमेश्‍वरले स्‍त्रीलाई सोध्‍नुभयो, “किन तैँले त्‍यसो गरिस्?” उनले भनिन्‌, “साँपले पो मलाई छल गरेर त्‍यो खान लायो।” तब परमप्रभु परमेश्‍वरले साँपलाई भन्‍नुभयो, “यसको लागि तैँले दण्‍ड पाउनेछस् र सबै पशुहरूमध्‍ये तैँले मात्र यो सराप पाउनेछस्। अबदेखि उसो पेटको बलले घस्रेर तँ हिँड्‍नेछस् र जीवनभरि माटो खानेछस्। म तँलाई र स्‍त्रीलाई आपसमा घृणा गर्न लाउनेछु, तेरो सन्‍तान र स्‍त्रीको सन्‍तानको बिचमा म दुश्मनी हालिदिनेछु र त्‍यसको सन्‍तानले तेरो टाउको कुच्‍च्‍याउनेछ र तैँले त्‍यसको सन्‍तानको कुर्कुच्‍चा ठुँग्‍नेछस्।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 3 पढ्नुहोस्