शमूएलको पहिलो पुस्तक 15:1-21

शमूएलको पहिलो पुस्तक 15:1-21 NERV

एक दिन शमूएलले शाऊललाई भने, “परमप्रभुले मलाई उहाँका इस्राएली मानिसहरूको राजाको रूपमा तिमीलाई अभिषेक गर्न पठाउनु भएको थियो। अब परमप्रभुको भनाइ सुन। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, ‘जब इस्राएलीहरू मिश्रबाट बाहिर आए तब अमालेकीहरूले तिनीहरूलाई कनान जानलाग्दा रोक्ने चेष्टा गरे। अमालेकीहरूले जे गरे मैले देखे। अब गएर अमालेकीहरूसित युद्ध गर। अमालेकीहरूसित जे जति छ सम्पूर्ण रूपले नष्ट गर। कसैलाई जिउँदो नछाड। तिमीहरूले ती सबलाई मार्नु पर्छ, लोग्ने मानिसहरू होस् कि स्त्रीहरू केटा-केटीहरू होस् कि काखका नानी। सबलाई मार गाई-गोरू, भेंडा ऊँट गधा केही बाँकी नराख।’” शाऊलले सबै सेनाहरूलाई तेलैममा भेला गराए। त्यहाँ 2,00,000 पैदल सेना र 10,000 अन्य मानिसहरू थिए। यसमा यहूदाका मानिसहरू पनि थिए। त्यसपछि शाऊल अमालेक शहरतिर लागे र बेंसीमा पर्खेर बसे। शाऊलले केनीहरूलाई भने, “तिमीहरू सबैले अमालेकीहरूलाई छोडी देऊ। म तिमीहरूलाई अमालेकीहरूसित मार्दिन। कारण तिमीहरूले मिश्रबाट आउँदा इस्राएलीहरूलाई दया गरेका थियौ।” यसपछि केनीहरूले अमालेकीहरूलाई छोडे। शाऊलले अमालेकीहरूलाई हराए, तिनले हवीलाबाट शूरतक मिश्रको सीमानासम्म अमालेकीहरूलाई खद्‌दै गए। शाऊलले अमालेकीहरूका राजा अगागलाई जिउँदै पक्रे र अगागका सबै सैनिकलाई मारे। शाऊल र इस्राएली सैनिकहरूले सम्पूर्ण कुराहरू नष्ट गर्दा नराम्रो मन गरे। यसर्थ तिनीहरूले अगागलाई मारेनन् र बलिया गाईहरू राम्रा जातका भेंडा र पाठाहरू पनि बचाएर राखे। राख्न योग्यका सामानहरू राखेर काम नलाग्ने जति नष्ट गरे। शमूएलले परमप्रभुबाट खबर पाए। परमप्रभुले भन्नुभयो, “शाऊलले मलाई पछ्याउन छोडीदियो। यसर्थ म शाऊललाई राजा बनाएर आफैं दुःखी छु। म जे भन्छु त्यसले त्यो गर्दैन।” शमूएल धेरै रिसाए र रातभरी परमप्रभुसित प्रार्थना गरे। शमूएल भोलिपल्ट बिहान चाँडै नै उठे र शाऊललाई भेट्न गए। तर मानिसलहरूले शमूएललाई भने, “शाऊल यहूदाको कर्मेल भन्ने ठाउँमा गएका छन्। शाऊल त्यहाँ उसको सम्मानमा एउटा स्मारक स्थापित गर्न गएका छन्। त्यसपछि धेरै ठाउँ भ्रमण गरेर तिनी अन्त्यमा गिलगाल जानेछन्।” त्यसपछि शमूएल शाऊल भएको ठाउँमा गए। अमालेकीहरूबाट लिएका चीजबिजको पहिलो अंश शाऊलले भेंटीको रूपमा चढाए, शाऊलले तिनीहरूलाई परमप्रभुको अघि एउटा होमबलि जस्तै चढाए। शमूएल शाऊलको नजिक गए। शाऊलले स्वागत जनाएर भने, “परमप्रभुको आशीर्वाद तपाईंमा रहोस्। मैले परमप्रभुको आज्ञा पालन गरें।” शमूएलले भने, “त्यसो हो भने म यो के सुन्दैछु। किन मैले भेंडा र पशुहरूको आवाज सुनेको?” शाऊलले भन्यो, “सैनिकहरूले अमालेकीहरूबाट पशुहरू लिए। सैनिकहरूले राम्रा भेंडा र पशुहरू परमप्रभु तपाईंको परमेश्वरमा बलिचढाउन भनेर बचाए। तर हामीले अरू सबै चीज नष्ट पार्यौ।” शमूएलले शाऊललाई भने, “चुप लाग! हिजो राती परमप्रभुले मलाई के भन्नुभयो त्यो म तपाईंलाई बताउनेछु।” शाऊलले भने, “ठीक छ, के भन्नु भयो भन्नुहोस्।” शमूएलले भने, “विगतमा, तपाईंले आफैंलाई तुच्छ सम्झनु हुन्थ्यो। तर त्यसपछि तपाईं इस्राएलका कुलहरूका अगुवा हुनुभयो। इस्राएलको राजाको रूपमा परमप्रभुले तपाईंलाई चुन्नुभयो। परमप्रभुले तपाईंलाई एउटा विशेष सेवाकार्यको निम्ति पठाउनु भयो। परमप्रभुले भन्नुभयो, ‘अमालेकीहरूकहाँ जाऊ, अनि तिनीहरूलाई नष्ट पार किनभने तिनीहरू खराब मानिस हुन्।’ तपाईंले परमप्रभुको कुरा सुन्नु भएन। किन तपाईंले ती चीजहरू राख्न चाहनुहुन्छ। तपाईंको यो कार्य परमप्रभुको इच्छा विरूद्धको कार्य भयो।” शऊलले भने, “तर मैले त परमप्रभुको सबै कुरा मानें मलाई जहाँ पठाउँनु भयो त्यहीं गएँ। मैले अमालेकीहरू सबैलाई नष्ट गरे। मैले खाली साथमा एकजना मानिस ल्याएँ तिनीहरूका राजा अगाग। गिलगालमा परमप्रभु तपाईंका परमेश्वरलाई बलि चढाउन भनेर। सैनिकहरूले राम्रा-राम्रा भेंडा र पशुहरू लिए।”