१ शमूएल 15:1-21
१ शमूएल 15:1-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
शमूएलले शाऊललाई भने, “परमप्रभुले तपाईंलाई इस्राएलमाथि राजा अभिषेक गर्न भनी मलाई पठाउनुभयो। अब परमप्रभुको वचन ध्यान दिएर सुन्नुहोस्। सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ: ‘मिश्रदेशबाट इस्राएल उक्लेर आउँदा अमालेकीहरूले इस्राएललाई आक्रमण गरे। यसकारण त्यसको निम्ति अमालेकीहरूलाई दण्ड दिने निश्चय मैले गरेको छु’। अब अमालेकीहरूमाथि जाइलागेर उनीहरूलाई नाश गर्, र उनीहरूका सबै धन-सम्पत्ति नाश गर्, एउटै थोक पनि नछोड्, र सबैलाई खतम पार्। उनीहरूका पुरुष, स्त्री, केटाकेटीहरू, दूध खाने बालकहरू, गाई-गोरु, भेड़ाबाख्रा, ऊँट र गधा सबैलाई नाश गर्।” यसकारण शाऊलले सेनालाई बोलाएर तेलैममा भेला गरे। त्यहाँ दुई लाख पैदल-सिपाही र यहूदाका दश हजार मानिसहरू थिए। शाऊल अमालेकको सहरमा गए, र त्यहाँ साँघुरो खोँचमा केही समयसम्म बसे। तब उनले केनीहरूलाई भने, “तिमीहरू अमालेकीहरूलाई छोड़ेर जाओ, कि तिमीहरू पनि उनीहरूसँगै नष्ट नहोओ। किनभने इस्राएल मिश्रदेशबाट उक्लेर आउँदा तिमीहरूले मित्रताको व्यवहार देखाएका थियौ।” यसैकारण केनीहरूले अमालेकीहरूलाई छोड़े। तब हवीलादेखि मिश्रको पूर्व सिमानामा भएको शूरसम्मै अमालेकीहरूलाई शाऊलले आक्रमण गरे। उनले अमालेकीहरूका राजा अगागलाई जिउँदै पक्रे, र अगागका सबै मानिसहरूलाई तरवारले मारे। तर शाऊल र उनका सेनाले अगाग र असल-असल भेड़ा र गाई-गोरु, मोटा-मोटा बाछा र पाठा, र राख्ने योग्यका सबै चीजहरू बचाइराखे। तिनीहरूले तिनलाई नाश गर्ने इच्छा गरेनन्। तर बेकामका र केही मोल नभएकाहरूलाई चाहिँ तिनीहरूले नाश गरे। तब परमप्रभुले शमूएललाई यसो भन्नुभयो, “शाऊललाई राजा तुल्याएकोमा मलाई पछितो लागेको छ, किनभने त्यसले आफ्नो मुख मदेखि मोड़ेको छ, र मेरो आज्ञा त्यसले पालन गरेको छैन।” शमूएल विचलित भए, र तिनले रातभरि परमप्रभुलाई पुकारा गर्दैरहे। भोलिपल्ट बिहान सबेरै तिनी शाऊललाई भेट गर्न हिँड़े। तर “शाऊल त कर्मेलमा गएर त्यहाँ आफ्नो सम्झनाको निम्ति एउटा स्मारक खड़ा गरेका छन्, र त्यसपछि फर्केर गिलगालमा झरिसकेका छन्” भनी तिनलाई सुनाइयो। त्यहीँ नै तिनले शाऊललाई भेट्टाए, र शाऊलले तिनलाई यसो भनेर अभिवादन गरे, “परमप्रभुको आशिष् तपाईंमा रहोस्। मैले परमप्रभुको आज्ञा पालन गरें।” तर शमूएलले भने, “मेरो कानमा परेका भेड़ाको आवाजचाहिँ के हो? गाई-गोरुका आवाज म किन सुन्दैछु?” शाऊलले जवाफ दिए, “सिपाहीहरूले ती अमालेकीहरूबाट लिएका हुन्। तिनीहरूले असल-असल भेड़ा र गाई-गोरु परमप्रभु तपाईंका परमेश्वरको निम्ति बलिदान चढ़ाउनलाई जोगाइराखेका हुन्। बाँकीलाई त हामीले बिलकुलै नाश गर्यौं।” शमूएलले शाऊललाई भने, “बस, भयो! गत रात परमप्रभुले मलाई के भन्नुभयो सो म तपाईंलाई बताउनेछु।” शाऊलले भने, “भन्नुहोस्।” शमूएलले भने, “यस्तो समय थियो जब तपाईं आफूले आफैलाई तुच्छ सम्झनुहुन्थ्यो, तर अब तपाईं इस्राएलका कुलहरूका शिर हुनुहुन्छ। परमप्रभुले तपाईंलाई इस्राएलमाथि राजा अभिषेक गर्नुभयो। अनि उहाँले तपाईंलाई ‘त्यस दुष्ट जाति, ती अमालेकीहरूलाई बिलकुलै नाश गर्नू’ भनी कड़ा आज्ञा दिएर पठाउनुभएको थियो। उनीहरूलाई निमिट्यान्न नपारुञ्जेल तपाईंले उनीहरूका विरुद्धमा लड़ाइँ गरिरहनुपर्नेथियो। तपाईंले किन परमप्रभुको आज्ञापालन गर्नुभएन? तपाईंले किन लूटका माल लिनुभयो, र परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गर्नुभयो?” शाऊलले शमूएललाई उत्तर दिए, “तर मैले त परमप्रभुको आज्ञापालन गरें। परमप्रभुले पठाउनुभएको ठाउँमा म गएँ, र अमालेकीहरूका राजा अगागलाई समातेर ल्याएँ। उनीहरूमध्येका बाँकीलाई चाहिँ मैले नष्ट पारिदिएँ। लूटका मालबाट सिपाहीहरूले भेड़ा र गाई-गोरु, अनि सबभन्दा असल-असल चीजचाहिँ गिलगालमा परमप्रभु तपाईंका परमेश्वरको निम्ति बलिदान चढ़ाउनलाई राखेका छन्।”
१ शमूएल 15:1-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
शमूएलले शाऊललाई भने, “तिमीलाई याहवेहको जाति इस्राएलमाथि राजा अभिषेक गर्न भनी उहाँले मलाई नै पठाउनुभयो। यसकारण अब याहवेहबाट आएको सन्देश ध्यानपूर्वक सुन! सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘इस्राएलीहरू इजिप्टबाट आउँदा बाटोमा तिनीहरूलाई ढुकेर आक्रमण गर्ने अमालेकीहरूलाई म दण्ड दिनेछु। अब गएर अमालेकीहरूलाई आक्रमण गर्, र तिनीहरूका सबै कुराहरूलाई सम्पूर्ण रूपमा नाश गर्। तिनीहरूलाई बाँकी नराख्। तिनीहरूका पुरुष, स्त्री, छोराछोरी र शिशुहरू, गाईबस्तु र भेडाबाख्रा, ऊँट र गधा सबैलाई नष्ट गर्।’ ” यसकारण शाऊलले मानिसहरूलाई तेलैममा भेला गराए। तिनीहरू दुई लाख पैदल सेनाहरू र यहूदाबाट दश हजार मानिसहरू थिए। शाऊल अमालेकको सहरमा गएर घाटीमा ढुकेर बसे। तब तिनले केनीहरूलाई भने, “तिमीहरू अमालेकीहरूलाई छोडेर भागिहाल, ताकि म तिमीहरूलाई तिनीहरूसँगै नाश नपारूँ; किनकि तिमीहरूले इस्राएलीहरू इजिप्टबाट निस्केर आउँदा तिनीहरूलाई दया देखाएका थियौ।” यसकारण केनीहरू अमालेकीहरूलाई छोडेर भागे। तब शाऊलले हवीलादेखि इजिप्टको पूर्वमा पर्ने सिमाना नजिक शूरसम्मै अमालेकीहरूलाई आक्रमण गरे। तिनले अमालेकीहरूका राजा अगागलाई चाहिँ जिउँदै पक्रे, र तिनका सबै मानिसहरूलाई पूर्ण रूपमा तरवारले नष्ट गरे। तर शाऊल र तिनका सेनाहरूले अगागलाई, साथै त्यसका असल भेडाबाख्रा र गाईबस्तुहरू, बलिया साँढेहरू र थुमाहरू, र हरेक असल कुराहरूलाई चाहिँ जोगाए। इस्राएलीहरूले यिनीहरूलाई सम्पूर्ण रूपमा नष्ट गर्नलाई राजी भएनन्। तर हरेक बेकामका र केही मोल नभएकाहरूलाई चाहिँ तिनीहरूले पूर्ण रूपमा नष्ट गरे। त्यसपछि याहवेहको वचन शमूएलकहाँ आयो: “मैले शाऊललाई राजा तुल्याएकोमा म दुःखित भएको छु। किनकि त्यो मदेखि तर्किगएको छ; अनि मेरो वचनलाई त्यसले पालन गरेको छैन।” शमूएल अति दुःखित भए, र याहवेहसँग रातभरि बिन्ती गरिरहे। शमूएल बिहानै उठेर शाऊललाई भेट्न गए, तर तिनलाई यसो भनियो, “शाऊल कर्मेलमा गएका छन्। त्यहाँ तिनले आफ्नो सम्मानका निम्ति एउटा स्मारक खडा गरे। अनि तिनी फर्केर गिलगालतिर झरेका छन्।” जब शमूएल शाऊलकहाँ पुगे, तब तिनले भने, “याहवेहले तपाईंलाई आशिष् देऊन्! मैले याहवेहका आदेशको पालन गरेको छु।” तर शमूएलले भने, “त्यसो भए मेरो कानमा भेडाहरू कराएको आवाजचाहिँ के हो? अनि मैले गाईगोरुहरू कराएको आवाज सुनेको चाहिँ के हो?” शाऊलले भने, “सेनाहरूले अमालेकीहरूबाट ल्याएका हुन्। तिनीहरूले भेडाबाख्रा र गाईबस्तुहरूबाट असल-असलचाहिँ याहवेह तपाईंका परमेश्वरका निम्ति बलि चढाउन जोगाइराखेका छन्। तर बाँकी सबैलाई हामीले पूर्ण रूपमा नष्ट गर्यौँ।” तब शमूएलले शाऊललाई भने, “चुप लाग! याहवेहले मलाई हिजो राति के भन्नुभयो, त्यो तिमीलाई बताउनेछु।” शाऊलले भने, “भन्नुहोस्!” शमूएलले भने, “यद्यपि एक समयमा तिमीले आफूलाई आफ्नै दृष्टिमा सानो ठानेका थियौ; तापनि के तिमी इस्राएलका कुलहरूका अगुवा भएनौ र? याहवेहले तिमीलाई इस्राएलमाथि राजा अभिषेक गर्नुभयो। अनि उहाँले तिमीलाई जिम्मेवारी दिएर पठाउनुहुँदा यसो भन्नुभयो, ‘जाऊ, र यी दुष्ट मानिसहरू, अर्थात् अमालेकीहरूलाई सम्पूर्ण रूपमा नष्ट गर्नू। तिनीहरूका नामनिशानै नमेटुन्जेल तिनीहरूसँग युद्ध गर्नू।’ तिमीले किन याहवेहको आज्ञापालन गरेनौ? तिमी किन लुटको मालसामानमाथि झम्ट्यौ, र याहवेहको दृष्टिमा किन दुष्ट काम गर्यौ?” शाऊलले भने, “तर मैले याहवेहको आज्ञापालन गरेँ। याहवेहले मलाई दिनुभएको जिम्मेवारी पूरा गर्न म गएँ। मैले अमालेकीहरूलाई सम्पूर्ण रूपमा नष्ट गरे। अनि तिनीहरूका राजा अगागलाई समातेर ल्याएँ। सेनाहरूले लुटका मालबाट भेडा र गाईबस्तु लिए। अनि त्यसबाट असलहरूचाहिँ याहवेह तपाईंका परमेश्वरका निम्ति गिलगालमा बलिदानका निम्ति समर्पित गरिएका छन्।”
१ शमूएल 15:1-21 पवित्र बाइबल (NERV)
एक दिन शमूएलले शाऊललाई भने, “परमप्रभुले मलाई उहाँका इस्राएली मानिसहरूको राजाको रूपमा तिमीलाई अभिषेक गर्न पठाउनु भएको थियो। अब परमप्रभुको भनाइ सुन। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, ‘जब इस्राएलीहरू मिश्रबाट बाहिर आए तब अमालेकीहरूले तिनीहरूलाई कनान जानलाग्दा रोक्ने चेष्टा गरे। अमालेकीहरूले जे गरे मैले देखे। अब गएर अमालेकीहरूसित युद्ध गर। अमालेकीहरूसित जे जति छ सम्पूर्ण रूपले नष्ट गर। कसैलाई जिउँदो नछाड। तिमीहरूले ती सबलाई मार्नु पर्छ, लोग्ने मानिसहरू होस् कि स्त्रीहरू केटा-केटीहरू होस् कि काखका नानी। सबलाई मार गाई-गोरू, भेंडा ऊँट गधा केही बाँकी नराख।’” शाऊलले सबै सेनाहरूलाई तेलैममा भेला गराए। त्यहाँ 2,00,000 पैदल सेना र 10,000 अन्य मानिसहरू थिए। यसमा यहूदाका मानिसहरू पनि थिए। त्यसपछि शाऊल अमालेक शहरतिर लागे र बेंसीमा पर्खेर बसे। शाऊलले केनीहरूलाई भने, “तिमीहरू सबैले अमालेकीहरूलाई छोडी देऊ। म तिमीहरूलाई अमालेकीहरूसित मार्दिन। कारण तिमीहरूले मिश्रबाट आउँदा इस्राएलीहरूलाई दया गरेका थियौ।” यसपछि केनीहरूले अमालेकीहरूलाई छोडे। शाऊलले अमालेकीहरूलाई हराए, तिनले हवीलाबाट शूरतक मिश्रको सीमानासम्म अमालेकीहरूलाई खद्दै गए। शाऊलले अमालेकीहरूका राजा अगागलाई जिउँदै पक्रे र अगागका सबै सैनिकलाई मारे। शाऊल र इस्राएली सैनिकहरूले सम्पूर्ण कुराहरू नष्ट गर्दा नराम्रो मन गरे। यसर्थ तिनीहरूले अगागलाई मारेनन् र बलिया गाईहरू राम्रा जातका भेंडा र पाठाहरू पनि बचाएर राखे। राख्न योग्यका सामानहरू राखेर काम नलाग्ने जति नष्ट गरे। शमूएलले परमप्रभुबाट खबर पाए। परमप्रभुले भन्नुभयो, “शाऊलले मलाई पछ्याउन छोडीदियो। यसर्थ म शाऊललाई राजा बनाएर आफैं दुःखी छु। म जे भन्छु त्यसले त्यो गर्दैन।” शमूएल धेरै रिसाए र रातभरी परमप्रभुसित प्रार्थना गरे। शमूएल भोलिपल्ट बिहान चाँडै नै उठे र शाऊललाई भेट्न गए। तर मानिसलहरूले शमूएललाई भने, “शाऊल यहूदाको कर्मेल भन्ने ठाउँमा गएका छन्। शाऊल त्यहाँ उसको सम्मानमा एउटा स्मारक स्थापित गर्न गएका छन्। त्यसपछि धेरै ठाउँ भ्रमण गरेर तिनी अन्त्यमा गिलगाल जानेछन्।” त्यसपछि शमूएल शाऊल भएको ठाउँमा गए। अमालेकीहरूबाट लिएका चीजबिजको पहिलो अंश शाऊलले भेंटीको रूपमा चढाए, शाऊलले तिनीहरूलाई परमप्रभुको अघि एउटा होमबलि जस्तै चढाए। शमूएल शाऊलको नजिक गए। शाऊलले स्वागत जनाएर भने, “परमप्रभुको आशीर्वाद तपाईंमा रहोस्। मैले परमप्रभुको आज्ञा पालन गरें।” शमूएलले भने, “त्यसो हो भने म यो के सुन्दैछु। किन मैले भेंडा र पशुहरूको आवाज सुनेको?” शाऊलले भन्यो, “सैनिकहरूले अमालेकीहरूबाट पशुहरू लिए। सैनिकहरूले राम्रा भेंडा र पशुहरू परमप्रभु तपाईंको परमेश्वरमा बलिचढाउन भनेर बचाए। तर हामीले अरू सबै चीज नष्ट पार्यौ।” शमूएलले शाऊललाई भने, “चुप लाग! हिजो राती परमप्रभुले मलाई के भन्नुभयो त्यो म तपाईंलाई बताउनेछु।” शाऊलले भने, “ठीक छ, के भन्नु भयो भन्नुहोस्।” शमूएलले भने, “विगतमा, तपाईंले आफैंलाई तुच्छ सम्झनु हुन्थ्यो। तर त्यसपछि तपाईं इस्राएलका कुलहरूका अगुवा हुनुभयो। इस्राएलको राजाको रूपमा परमप्रभुले तपाईंलाई चुन्नुभयो। परमप्रभुले तपाईंलाई एउटा विशेष सेवाकार्यको निम्ति पठाउनु भयो। परमप्रभुले भन्नुभयो, ‘अमालेकीहरूकहाँ जाऊ, अनि तिनीहरूलाई नष्ट पार किनभने तिनीहरू खराब मानिस हुन्।’ तपाईंले परमप्रभुको कुरा सुन्नु भएन। किन तपाईंले ती चीजहरू राख्न चाहनुहुन्छ। तपाईंको यो कार्य परमप्रभुको इच्छा विरूद्धको कार्य भयो।” शऊलले भने, “तर मैले त परमप्रभुको सबै कुरा मानें मलाई जहाँ पठाउँनु भयो त्यहीं गएँ। मैले अमालेकीहरू सबैलाई नष्ट गरे। मैले खाली साथमा एकजना मानिस ल्याएँ तिनीहरूका राजा अगाग। गिलगालमा परमप्रभु तपाईंका परमेश्वरलाई बलि चढाउन भनेर। सैनिकहरूले राम्रा-राम्रा भेंडा र पशुहरू लिए।”
१ शमूएल 15:1-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
शमूएलले शाऊललाई भने, “तिमीलाई इस्राएलका राजा अभिषेक गर्न परमप्रभुले पठाउनुभएको व्यक्ति म नै हुँ। सर्वशक्तिमान् परमप्रभुले के भन्नुहुन्छ, सो सुन। उहाँले अमालेकका मानिसहरूलाई दण्ड दिनुहुनेछ किनभने तिनका पुर्खाहरूले इस्राएलीहरू मिश्रबाट आइरहेका बेलामा तिनीहरूले विरोध गरेका थिए। गएर अमालेकीहरूमाथि आक्रमण गर् र तिनीहरूसँग भएका सबै कुरा नाश गर्। एउटै कुरा पनि नछोड्। सबै पुरुष, स्त्री, केटाकेटी, बालबच्चा, गाई-गोरु, भेडा, ऊँट र गधाहरू मारिदे। शाऊलले आफ्ना सैन्य दलहरूलाई तेलैममा एकसाथ भेला गरेर जाँच गरे। त्यहाँ इस्राएलबाट दुई लाख र यहूदाबाट दश हजार सैनिकहरू भेला गरे। त्यसपछि तिनी आफ्ना सेनासित अमालेक सहरमा गए र सुक्खा नदीको छेउमा ढुकेर बसे। तिनले केनीहरूलाई, जसका पुर्खाहरूले इस्राएलीहरू मिश्रबाट आएका बेलामा तीप्रति दयालु भएका थिए, यसो भनी एउटा चेतावनी पठाए– “अमालेकीलाई छोडेर गइहाल र तिनीहरूसाथसाथै मैले तिमीहरूलाई मार्नुनपरोस्।” यसकारण केनीहरू हिंडिहाले। हवीलादेखि मिश्रको पूर्वमा भएको शूरसम्म लड्दै गएर शाऊलले अमालेकीहरूलाई हराए। तिनले अमालेकको राजा अगागलाई जिउँदै पक्रे र सबै मानिसहरूलाई मारे। तर शाऊल र तिनका मानिसहरूले अगागको प्राण बचाइदिए र सबैभन्दा असल-असल भेडा र गाई-वस्तु, बाछा र थुमाहरू र अरू कति वटा असल कुराहरू नाश गरेनन्। जे कुरा बेकामका र केही मोल नभएका थिए, ती मात्र तिनीहरूले नाश गरे। परमप्रभुले शमूएललाई भन्नुभयो, “मैले शाऊललाई राजा बनाएकोमा मलाई पछुतो छ। त्यो मदेखि तर्किगएको छ र मेरा आज्ञा उल्लङ्घन गरेको छ।” शमूएल रिसाए र रातभरि परमप्रभुसित बिन्ती गरिरहे। भोलिपल्ट बिहानै तिनी शाऊललाई खोज्न निस्के। तिनले सुने कि शाऊल कर्मेल सहरमा गएका थिए र त्यहाँ आफ्नो नाममा एउटा स्मारक बनाएपछि गिलगालतिर लागेका थिए। शमूएल शाऊलकहाँ गए र शाऊलले यसो भन्दै तिनलाई स्वागत गरे, “परमप्रभुले तपाईंलाई आशिष् देऊन्, शमूएल! मैले परमप्रभुको आज्ञापालन गरें।” शमूएलले सोधे, “त्यसो भए किन मैले गाई-गोरु, भेडाहरू कराएका सुन्दछु?” शाऊलले जवाफ दिए, “ती मेरा मानिसहरूले अमालेकीहरूदेखि लिएका हुन्। तिनीहरूले सबैभन्दा असल भेडा र गाई-गोरुहरू परमप्रभु तपाईंको परमेश्वरलाई चढाउन जोगाएका छन्, बाँकी अरू जम्मै हामीले नाश पार्यौं।” “चूप लाग,” शमूएलले हुकुम गरे, “र हिजो राती परमप्रभुले मलाई के भन्नुभयो, सो म तिमीलाई सुनाउनेछु।” “भन्नुहोस्,” शाऊलले भने। शमूएलले जवाफ दिए, “तिमीले आफैंलाई केही महत्त्व नभएको मानिस हुँ भनी ठान्छौ भने पनि तिमी इस्राएलका कुलहरूका अगुवा हौ। परमप्रभुले तिमीलाई राजा अभिषेक गर्नुभयो र अमालेकका दुष्ट मानिसहरूलाई नाश पार्ने आज्ञा दिएर पठाउनुभयो। उहाँले तिमीलाई भन्नुभयो कि तिमीले तिनीहरू सबैलाई मारी नसकेसम्म लडाइँ गर्नू। तर किन तिमीले उहाँको आज्ञा मानेनौ? किन लुटका माल लिन हतारले गयौ र त्यसरी परमप्रभुलाई असन्तुष्ट पार्ने काम गर्यौ?” “मैले परमप्रभुको आज्ञा साँच्चै पालन गरें,” शाऊलले जवाफ दिए, “उहाँले भनेअनुसार म गएँ, अगाग राजालाई ल्याएँ र सबै अमालेकीहरूलाई मारें। तर मेरा मानिसहरूले पो कब्जा गरेकामध्ये सबैभन्दा असल भेडा र गाई-गोरु मारेनन्। त्यसका सट्टामा तिनीहरूले ती पशुहरू परमप्रभु तपाईंको परमेश्वरलाई बलि चढाउन यहाँ गिलगालमा ल्याए।”