जकरिया 6:9-15

जकरिया 6:9-15 सरल नेपाली

परमप्रभुले मलाई यो सन्‍देश दिनुभयो। उहाँले भन्‍नुभयो, “कैदबाट फर्की आएका हेल्‍दै, तोबियाह र यदायाहले दिएका सुन र चाँदी लिई झट्टै सपन्‍याहको छोरो योशियाहको घर जा। यी सबै मानिसहरू बेबिलोनका कैदबाट फर्की आएका छन्। तिनीहरूले दिएका सुन र चाँदीले एउटा मुकुट बना र यहोसादाकको छोरो महापूजाहारी यहोशूको शिरमा मुकुट लगाइदे। त्‍यसलाई म सर्वशक्तिमान् परमप्रभुका यी वचन सुनाइदे, ‘हाँगो कहलाउने व्‍यक्ति जहाँ छ, त्‍यहीँ त्‍यसको बढिबढाउ हुनेछ र त्‍यसले परमप्रभुको मन्‍दिर फेरि नयाँ गरी बनाउनेछ। त्‍यसैले त्‍यो बनाइसिद्ध्याउनेछ र राजाले पाउने मान पाउनेछ र त्‍यसले आफ्‍ना प्रजामाथि राज्‍य गर्नेछ। त्‍यसका सिंहासनछेउ एक पूजाहारी खडा रहनेछ र ती दुईले शान्‍ति र मेल-मिलापका साथ काम गर्नेछन्।’ मुकुटचाहिँ हेल्‍दै, तोबियाह, यदायाह र योशियाहका सम्‍झनाको लागि परमप्रभुको मन्‍दिरमा राखिनेछ।” टाढाका मानिसहरू आएर परमप्रभुको मन्‍दिर फेरि बनाउने काममा मद्दत गर्नेछन्। मन्‍दिर बनिसकेपछि मलाई सर्वशक्तिमान् परमप्रभुले तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरूले बुझ्‍नेछौ। तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको आज्ञाहरू सम्‍पूर्णरूपले पालन गर्‍यौ भने यो कुरो पूरा हुनेछ।

जकरिया 6 पढ्नुहोस्