जकरिया 6:9-15

जकरिया 6:9-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभुको यो वचन मकहाँ आयो: “बेबिलोनको निर्वासनबाट आएका हेल्‍दै, तोबियाह र यदायाहबाट भेटी ली। त्‍यही दिन सपन्‍याहको छोरो योशियाहको घरमा जा। सुन र चाँदी लिएर एउटा मुकुट बना, र त्‍यो यहोसादाकको छोरो प्रधान पूजाहारी यहोशूको शिरमा लगाइदे। त्‍यसलाई भन्, ‘सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “हेर, यो मानिस जसको नाउँ हाँगो हो, त्‍यो आफ्‍नो ठाउँमा बढ्‌नेछ, र परमप्रभुको मन्‍दिर बनाउनेछ। त्‍यसले नै परमप्रभुको मन्‍दिर बनाउनेछ, र त्‍यो महामहिमाले पहिर्‍याइनेछ, र आफ्‍नो सिंहासनमा विराजमान भएर राज्‍य गर्नेछ, र त्‍यो सिंहासनमा एक जना पूजाहारी हुनेछ। अनि दुवैको बीचमा मिलाप हुनेछ’।” हेल्‍दै, तोबियाह, यदायाह र सपन्‍याहको छोरो हेनलाई परमप्रभुको मन्‍दिरमा सम्‍झनाको निम्‍ति त्‍यो मुकुट दिइनेछ। जो टाढ़ा-टाढ़ामा छन्, ती आएर परमप्रभुको मन्‍दिर बनाउन सघाउनेछन्, र सर्वशक्तिमान्‌ परमप्रभुले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरूले जान्‍नेछौ। तिमीहरूले मन लगाएर परमप्रभु आफ्‍ना परमेश्‍वरको आज्ञा मान्‍यौ भनेदेखि सो हुनेछ।”

शेयर गर्नुहोस्
जकरिया 6 पढ्नुहोस्

जकरिया 6:9-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याहवेहको वचन मकहाँ आयो: “बेबिलोनबाट आइपुगेका निर्वासितहरू हेल्दै, तोबियाह र यदायाहबाट सुनचाँदी लिएर त्यही दिन सपन्याहका छोरा योशियाहको घरमा जा। त्यो सुनचाँदी लगेर एउटा मुकुट बना, र यहोसादाकका छोरा प्रधान पुजारी यहोशूको टाउकोमा त्यो लगाइदे। अनि त्यसलाई यसो भन्, सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘त्यो मानिस यहाँ छ, जसको नाम हाँगा हो; अनि त्यो आफ्नो ठाउँबाट फैलिएर निस्कनेछ र त्यसले याहवेहको मन्दिर बनाउनेछ। यो त्यही व्यक्ति हो, जसले याहवेहको मन्दिर बनाउनेछ; अनि त्यसले राजकीय पोशाक पहिरिनेछ, र त्यो आफ्नो सिंहासनमा बसेर शासन गर्नेछ। अनि त्यो आफ्नो सिंहासनको एक पुजारी हुनेछ। अनि तिनका दुवै कार्यको बीचमा राम्रो समन्वय हुनेछ।’ मुकुटचाहिँ याहवेहको मन्दिरमा सम्झनाको रूपमा हेल्दै, तोबिया, यदायाह र सपन्याहको छोरा हेनलाई दिइनेछ। टाढा-टाढाबाट मानिसहरू आउनेछन्, र याहवेहको मन्दिर बनाउन सहायता गर्नेछन्; अनि सेनाहरूका याहवेहले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरूले जान्‍नेछौ। अनि यदि तिमीहरूले होसियारीसाथ याहवेह आफ्ना परमेश्‍वरको आज्ञापालन गर्‍यौ भने यो पूरा हुनेछ।”

शेयर गर्नुहोस्
जकरिया 6 पढ्नुहोस्

जकरिया 6:9-15 पवित्र बाइबल (NERV)

तब मैले परमप्रभुबाट अझै अर्को वचन प्राप्त गरें। उहाँले भन्नुभयो, “निर्वासित हेल्दै, तोबियाह, अनि यदायाह बाबेलको कैदबाट आएका छन्। तिनीहरूलाई आजै लैजाऊ अनि सपन्याहको छोरा योशियाहाको घरमा जाऊ। त्यो सुन र चाँदी मुकुट बनाउँन प्रयोग गर। मुकुट यहोशूको शिरमाथि लगाईदेऊ। यहोशादाको छोरा यहोशू प्रधान पूजाहारी हुन्। तब यहोशूलाई यसो भन, सर्वशक्तिमान परमप्रभुले भन्नुभएको छ: ‘त्यहाँ एकजना मानिस छ जसलाई “हाँगो” भनिन्छ। त्यो “हाँगो” जहाँछ त्यहाँबाट निकालिने छ र त्यसले परमप्रभुको मन्दिर निर्माण गर्नेछ। हो, उसले परमप्रभुको मन्दिर निर्माण गर्नेछ अनि सम्मान गरिनेछ। यो आफ्नो सिंहासनमा बस्नेछ ऊ शासन गर्नेछ। ऊ उसको सिंहासनमा पूजाहारी हुनेछ र उसले तिनीहरूको बिचमा शान्तिको कार्य गर्नेछ।’ त्यो मुकुट मन्दिरमा राखिनेछ जसले मानिसलाई यादराख्न सहायता गर्नेछ। त्यो मुकुटले हेल्दै, तोबियाह, यदायाह अनि सपन्याहको छोरा योशियाहलाई सम्मान दिनेछ।” टाढा-टाढाका मानिसहरू आएर परमप्रभुको मन्दिर बनाउँनेछन्। तब मानिसहरूले जान्नेछन् कि सर्वशक्तिमान परमप्रभुले मलाई तिमीहरूकहाँ पठाउनु भएको हो। अनि परमप्रभु परमेश्वरले तिमीहरूलाई जे अह्राउनु हुन्छ त्यो गर्यौ भने यी सबै कुराहरू हुनेछ।

शेयर गर्नुहोस्
जकरिया 6 पढ्नुहोस्

जकरिया 6:9-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभुले मलाई यो सन्‍देश दिनुभयो। उहाँले भन्‍नुभयो, “कैदबाट फर्की आएका हेल्‍दै, तोबियाह र यदायाहले दिएका सुन र चाँदी लिई झट्टै सपन्‍याहको छोरो योशियाहको घर जा। यी सबै मानिसहरू बेबिलोनका कैदबाट फर्की आएका छन्। तिनीहरूले दिएका सुन र चाँदीले एउटा मुकुट बना र यहोसादाकको छोरो महापूजाहारी यहोशूको शिरमा मुकुट लगाइदे। त्‍यसलाई म सर्वशक्तिमान् परमप्रभुका यी वचन सुनाइदे, ‘हाँगो कहलाउने व्‍यक्ति जहाँ छ, त्‍यहीँ त्‍यसको बढिबढाउ हुनेछ र त्‍यसले परमप्रभुको मन्‍दिर फेरि नयाँ गरी बनाउनेछ। त्‍यसैले त्‍यो बनाइसिद्ध्याउनेछ र राजाले पाउने मान पाउनेछ र त्‍यसले आफ्‍ना प्रजामाथि राज्‍य गर्नेछ। त्‍यसका सिंहासनछेउ एक पूजाहारी खडा रहनेछ र ती दुईले शान्‍ति र मेल-मिलापका साथ काम गर्नेछन्।’ मुकुटचाहिँ हेल्‍दै, तोबियाह, यदायाह र योशियाहका सम्‍झनाको लागि परमप्रभुको मन्‍दिरमा राखिनेछ।” टाढाका मानिसहरू आएर परमप्रभुको मन्‍दिर फेरि बनाउने काममा मद्दत गर्नेछन्। मन्‍दिर बनिसकेपछि मलाई सर्वशक्तिमान् परमप्रभुले तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरूले बुझ्‍नेछौ। तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको आज्ञाहरू सम्‍पूर्णरूपले पालन गर्‍यौ भने यो कुरो पूरा हुनेछ।

शेयर गर्नुहोस्
जकरिया 6 पढ्नुहोस्